आज बुद्ध जयन्ती तथा उभौली पर्व, देशभर श्रद्धाभक्तिपूर्वक मनाइँदै

१८ वैशाख, काठमाडौँ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको त्रिसंयोग परेको पवित्र दिन २५७०औँ बुद्ध जयन्ती आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । यसैगरी, प्रकृति र पुर्खाप्रति सम्मान व्यक्त गर्ने किरात समुदायको महत्त्वपूर्ण पर्व ‘उभौली’ पनि आज देशभर उत्साहका साथ मनाइँदै छ ।

वैशाख शुक्ल पूर्णिमाका दिन पर्ने बुद्ध जयन्तीले मानव जीवनमा शान्ति, करुणा, सहिष्णुता र सदाचारको सन्देश फैलाउने विश्वास गरिन्छ । धार्मिक मान्यताअनुसार आजकै दिन राजा शुद्धोदन र रानी मायादेवीका सुपुत्रका रूपमा सिद्धार्थ गौतमको जन्म कपिलवस्तु नजिकैको लुम्बिनीमा भएको थियो । २९ वर्षको उमेरमा सम्पूर्ण सुखसयल त्यागेर ज्ञानको खोजीमा निस्काएका सिद्धार्थले भारतको बोधगयामा ज्ञान प्राप्त गरेका थिए भने कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरेका थिए । जन्म, ज्ञान र निर्वाणजस्ता तीन वटै महत्त्वपूर्ण घटना एउटै दिन परेकाले यस दिनलाई बौद्ध धर्मावलम्बीहरूले अत्यन्त पवित्र दिनका रूपमा लिने गर्दछन् ।

बुद्धले प्रतिपादन गरेका दुःख, दुःखको कारण, दुःख निरोध र निरोधको उपायसम्बन्धी चार आर्यसत्य तथा त्यसको निवारणका लागि अष्टाङ्गिक मार्ग (सम्यक दृष्टि, संकल्प, वाणी, कर्म, आजीविका, प्रयास, स्मृति र समाधि) का उपदेशहरू आज पनि उत्तिकै सान्दर्भिक मानिन्छन् ।

यस अवसरमा नेवार तथा बौद्ध समुदायले बुद्धका मूर्तिहरूलाई सजाएर नगर परिक्रमा गराउने, धूप, दीप, फूल तथा प्रसाद चढाउने र भजन–कीर्तन गर्ने गर्दछन् । वुद्ध जन्मस्थल लुम्बिनी सहित देशका विभिन्न गुठी तथा सांस्कृतिक संस्थाहरूले बुद्धका जीवन र शिक्षासँग सम्बन्धित झाँकी तथा नृत्य प्रदर्शन गरी सांस्कृतिक संरक्षणमा योगदान पुर्‍याउँदै आएका छन् ।

प्रकृति र पुर्खाको सम्मानमा उभौली पर्व

यसैगरी, किरात समुदायले आज प्रकृतिप्रति आस्था र पुर्खाप्रति सम्मान व्यक्त गर्ने महत्त्वपूर्ण पर्व ‘उभौली’ श्रद्धा र उत्साहका साथ मनाइँदै छ । जाडो सकिएर गर्मी सुरु भएसँगै मानिस तथा जीवजन्तुहरू उकालो क्षेत्रतर्फ सर्ने परम्परासँग यो पर्व जोडिएको छ । यसै समयदेखि खेतीपातीको सुरुवात हुने भएकाले उभौलीलाई कृषि चक्रसँग पनि जोडेर हेरिन्छ ।

पर्वको मुख्य आकर्षणका रूपमा रहेको ‘साकेला नाच (सिली)’ ले प्रकृति, ऋतु परिवर्तन र सामाजिक जीवनलाई जीवन्त रूपमा झल्काउँछ । यस अवसरमा किरात समुदायले भूमिपूजा, पुर्खापूजा तथा प्रकृतिको आराधना गर्दै वातावरण संरक्षणको सन्देश दिन्छन् । विशेषगरी सिलिचुङ, हलेसी महादेव लगायतका क्षेत्रमा विशेष कार्यक्रमहरू आयोजना गरिन्छन् भने काठमाडौँ उपत्यकामा पनि विभिन्न स्थानमा साकेला सिली प्रस्तुत गर्ने प्रचलन छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours