१३ बैशाख, काठमाडौँ । काठमाडौँको आकाशमुनि, बागमती र मनोहराका किनारहरूमा वर्षौँदेखि एउटा छुट्टै संसार बाँचिरहेको थियो । त्यो संसार, जो सहरका ठुला महलहरूको चमकधमकभन्दा टाढा, पसिना र साना सपनाहरूले बुनिएको थियो । तर एकै निमेषमा त्यो संसार खण्डहरमा परिणत भएको छ । बालेन सरकारको ‘सहर सुधार्ने’ अभियानले वर्षौँदेखि जरो गाडेका बस्तीहरू त उखेलेको छ । यीसँगै हजारौँका सपना र ओत लाग्ने भरोसा पनि भत्काइदिएको छ, तर सरकारसँग उनीहरूले आशा छोडेका छैनन् ।
गैह्रीगाउँकी सुकुमबासी सरिता शर्माको आँखामा हिजैबाट आँसु रोकिएको छैन । उनी भत्किएको आफ्नो कटेरोको भग्नावशेषमा बसेर टोलाइरहेकी छन् । हातमा एउटा च्यातिएको सिरक र केही थान पुराना भाँडाकुँडा छन् । उनको गला अवरुद्ध छ, तर उनका आँसुले धेरै कुरा बोलिरहेका छन् । ‘मेरो संसार त यही ढुंगा–माटोमा थियो,’ उनले सुक्सुकाउँदै सोधिन्, ‘हामी मान्छे होइनौँ र सरकार ? हामीले कसैको महल मागेका थिएनौँ, कसैको भाग खोसेका थिएनौँ । दिनभरि अर्काको घरमा भाँडा माझेर, भारी बोकेर यो सानो घर बनाएको थिएँ । आज डोजरले मेरो घर मात्रै होइन, मेरो बाँच्ने आधार नै धुलोमा मिसाइदियो ।’
सरिता प्रश्न गर्छिन्– उठीबास लगाएपछि ती नानीहरू कहाँ सुत्छन्, भोलि के खान्छन् भनेर एक पटक पनि सोधेन ।
सुकुमबासी हुनु अपराधीजस्तै भएको उनलाई लागेको छ ।
हजारौँका सपना र ओत लाग्ने भरोसा पनि भत्काइदिएको छ, ‘आज हामी बर्बाद भयौँ, भोलि छोराछोरीले सुख पाऊन्’
उनले आफ्ना छोरीहरूको कक्षा १२ को परीक्षा आइसकेको तर पढ्न नपाएको चिन्ता गरिन् । ‘मेरी कान्छी छोरीको परीक्षा छ तर अब कसरी दिन्छ उसले ? कहाँ अर्पाटमेन्टमा लगेर राख्ने भनेको छ । त्यहाँबाट कहाँ पढ्न जाने ? हामीले कहाँ काम गर्न जाने ? तर हेरम सरकारले गर्छु त भनेको छ ।’
यस्तै पीडा ६० वर्षीय रामबहादुर दमाईको पनि छ । विगत २० वर्षदेखि यहीँ बसेर सिलाइको काम गर्दै आएका उनले आफ्नो पुरानो सिलाइ मेसिन देखाउँदै भने, ‘मेरो ग्राहक यहीँका थिए, मेरो रोजीरोटी यहीँ थियो । सरकारले इचङ्गुनारायण लैजान्छ रे भन्ने सुनेको छु, तर त्यहाँ गएर मैले कसको लुगा सिलाउने ? त्यहाँ मलाई कसले चिन्छ ? रोजगारीको ठेगान नभई हामीलाई सार्नु भनेको जिउँदै मार्नुजस्तै हो ।’
सुकुमबासीहरूका लागि सहरको केन्द्रमा रहनु भनेको केवल ओत लाग्नु थिएन, त्यो उनीहरूको श्रम बिक्ने बजार पनि थियो ।

बालबालिकाको भविष्यबारे चिन्ता
थापाथली, गैह्रीगाउँ, शान्तिनगर र सिनामंगलका सुकुमबासी बस्तीमा डोजर चल्दा सबैभन्दा बढी मारमा बालबालिका परेका छन् । उनीहरूका स्कुलका झोला, ड्रेस र किताबहरू कतिपय भग्नावशेषमै पुरिए भने कतिपय यताउता छरिएका छन् । सिनामंगलकी माया तामाङको छोरा कक्षा ८ मा पढ्छन्, तर आज उनको किताब कता छ, मायालाई थाहा छैन । उनलाई यहाँबाट उठाएर टाढा पठाइयो भने छोराको पढाइ के होला भन्ने चिन्ताले रातभरि निद्रा लाग्दैन । नजिकैको स्कुलमा भर्ना गरेका बालबालिकालाई नयाँ र अपरिचित ठाउँमा कसरी पढाउने भन्ने प्रश्नले सबै अभिभावकलाई पिरोलेको छ ।
बस्ती हटेसँगै धेरैको साना व्यवसाय र पेट पाल्ने आधार पनि खोसिएको छ ।
सिनामंगलका गणेश थारू बेलुका चटपटे बेचेर दिनको ५००–७०० कमाउँथे, जसले उनको परिवार पालिएको थियो । अब सरकारले लैजाने नयाँ ठाउँमा मान्छे आउँछन् कि आउँदैनन् र उनलाई ठेला चलाउन दिइन्छ कि दिइँदैन भन्नेमा उनी चिन्तित छन् । सहरको भिडभाडमा व्यापार हुन्थ्यो, तर सुनसान ठाउँमा जीवन कसरी धान्ने भन्ने चिन्ता उनलाई छ । त्यस्तै, साना नानीहरूलाई काखमा च्यापेकी सावित्री खड्काले सरकारले आफूहरूलाई जनावर जस्तै व्यवहार गरेको बिचल्ली पारेको गुनासो गरिन् ।
आशा पनि छ
बस्ती उजाडिएको र मनहरू छियाछिया भएको अवस्थामा पनि सुकुमबासीहरूको मनमा एउटा मधुरो आशा अझै बाँकी छ । उनीहरूलाई लाग्छ– सरकार आखिर नागरिकको अभिभावक हो ।
सरिता शर्मा भन्छिन्, ‘आज हामीलाई रुवाए पनि भोलि सरकारले हाम्रा नानीहरूलाई ओत दिनेछ भन्ने आश छ । जहाँ लगे पनि हामीलाई काम गरेर खाने वातावरण मिलाइदेओस् । हाम्रो आशालाई निराशामा नबदलोस् ।’ उनीहरूको माग भनेको केवल टाउको लुकाउने छानो होइन, हातमुख जोर्ने रोजगारी र बालबालिकाको शिक्षाको ग्यारेन्टी पनि चाहिन्छ ।

महानगरले संरचना नबनाउने, हरियाली पार्क बन्ने
काठमाडौँ महानगरपालिकाले सुकुमबासी बस्ती हटाइएका क्षेत्रहरूमा हरियाली पार्क र मनोरञ्जनस्थल निर्माण गर्ने योजना अघि सारेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार थापाथली, गैह्रीगाउँ र शान्तिनगरका क्षेत्रमा व्यवस्थित पार्कहरू बनाइनेछ । नदी किनारको मापदण्डअनुसार खोलाबाट २० मिटरको क्षेत्रभित्र कुनै भौतिक संरचना निर्माण गर्न नपाइने भएकाले ती ठाउँलाई ग्रिनरीका रूपमा विकास गर्न लागिएको हो । त्यहाँ ज्येष्ठ नागरिकका लागि आराम गर्ने ठाउँ, बालबालिकाका लागि खेलकुद क्षेत्र, र व्यायाम गर्ने ट्रयाकहरू निर्माण गरिनेछ । महानगरले त्यहाँ कुनै पक्की भवन नबनाई केवल सार्वजनिक प्रयोगका लागि पार्क बनाउने प्रष्ट पारेको छ ।
‘भूमि आयोगले काम गर्नुपर्छ’
सुकुमबासीहरूको व्यवस्थापनका सन्दर्भमा प्रवक्ता मानन्धरले वास्तविक सुकुमबासी पहिचान गरी प्रमाणीकरण गर्ने मुख्य काम भूमि आयोगको रहेको बताएका छन् । महानगरले अस्थायी रूपमा खानपान र बसोबासको व्यवस्थापनमा सहयोग गरे पनि स्थायी बसोबासको निर्णय गर्ने अधिकार महानगरसँग नभएको उनले स्पष्ट पारे । ‘सहरी विकास मन्त्रालयले नागार्जुनको इचंगुनारायणमा बनाएका भवनहरूमा प्रमाणीकरण भएका वास्तविक सुकुमबासीहरूलाई स्थानान्तरण गर्ने विषयमा पनि छलफल भइरहेको छ । यो अभियान क्रमशः बागमती र विष्णुमती नदी किनारका बालाजु, गोंगबु र बानेश्वर क्षेत्रमा पनि सञ्चालन हुनेछ,’ मानन्धरले भने ।
साँझ सवा ६ बजेसम्मको तथ्यांकअनुसार काठमाडौँ उपत्यका विकास प्राधिकरणका इन्जिनियर डोरकाजी श्रेष्ठका अनुसार ५२९ सुकुमबासी परिवार सम्पर्कमा आएका छन् । तीमध्ये ६३ परिवारलाई कीर्तिपुर र ६२ परिवारलाई गेस्ट हाउसमा राखिएको छ ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी निरीक्षक शिवप्रसाद दाहालका अनुसार दशरथ रंगशालामा सुकुमबासीहरूको नाम र विवरण संकलन गर्ने काम भइरहेको छ, जसले वास्तविक सुकुमबासी पहिचान गर्न मद्दत गर्नेछ । दर्ता भएका व्यक्तिहरूलाई महानगरले सामाखुसीस्थित राधा स्वामी र बालाजुस्थित गेस्ट हाउसहरूमा अस्थायी बसोबासको व्यवस्था मिलाएको छ ।
अस्थायी बासस्थान लैजानु अगाडि बस्तीबाट ल्याइएका लत्ताकपडाजस्ता अत्यावश्यक सामान उनीहरूले साथमै लैजान पाएका छन् भने ठुला सामानहरू दशरथ रंगशालामै सुरक्षित साथ राखिएको छ । ‘राज्यले वास्तविक पहिचान गरेपछि मात्र स्थायी व्यवस्था हुने भएकाले अहिलेलाई यो ट्रान्जिट प्वाइन्ट मात्र हो,’ दाहालले भने ।


+ There are no comments
Add yours