०७ बैशाख, काठमाडौँ । चीनको तीव्र गतिमा बढिरहेको प्रविधि विकास झल्काउने घटनामा बेइजिङमा आयोजित हाफ म्याराथनमा एक मानवाकृति रोबोटले मानव विश्व कीर्तिमानी उछिन्दै ऐतिहासिक सफलता हासिल गरेको छ । यस उपलब्धिले खेलकुद र कृत्रिम बौद्धिकताको सङ्गममा नयाँ युग सुरु भएको सङ्केत दिएको छ ।
बेइजिङ इकोनोमिक टेक्नोलोजिकल डेभलपमेन्ट एरिया (बेइजिङ ई–टाउन) बाट सुरु भएको २१ किलोमिटरको दौड चिनियाँ स्मार्ट फोन निर्माता अनरद्वारा विकसित रोबोटले ५० मिनेट २६ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गर्न सफल भयो । यो समय मानव हाफ म्याराथन विश्व कीर्तिमानधारी युगान्डाका धावक ज्याकोब किप्लिमोले मार्चमा बनाएको करिब ५७ मिनेटको समयभन्दा उल्लेखनीय रूपमा छिटो भएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।
गत वर्ष पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा विजेता रोबोटले दुई घण्टा ४० मिनेट ४२ सेकेन्डमा दुरी पार गरेको थियो । त्यसको तुलनामा यस वर्षको प्रदर्शनले रोबोट प्रविधिमा भएको तीव्र प्रगति प्रस्ट पारेको छ । प्रतियोगिताको आकार पनि यस पटक उल्लेखनीय रूपमा बढ्दै १०० भन्दा बढी टोलीको सहभागिता रहेको थियो, जसमा पाँच विदेशी टोलीसमेत समावेश थिए ।
दौड पूर्ण रूपमा सहज भने रहेन । केही रोबोट प्रारम्भमै लड्न पुगे भने केही अवरोधमा ठोक्किएका थिए । यद्यपि आयोजकका अनुसार करिब ४० प्रतिशत रोबोटले कुनै मानवीय हस्तक्षेपबिना स्वायत्त रूपमा पूरा मार्ग तय गर्न सफल भए, बाँकी भने रिमोट कन्ट्रोलमार्फत सञ्चालन गरिएका थिए । प्रतियोगितामा एउटा रोबोटले ट्राफिक प्रहरीको भूमिका निर्वाह गर्दै सहभागीलाई हातको सङ्केत र आवाजमार्फत निर्देशन दिएको दृश्यले दर्शकको ध्यान आकर्षित गरेको थियो ।


+ There are no comments
Add yours