ऐश्वर्यासँग तुलना हुने दीया मिर्जालाई जब उद्योगले ‘पनौती’ भन्यो

काम माग्दै राजु हिरानीलाई गुहारेपछि फर्कियो भाग्य

१६ चैत, मुम्बई । बलिउड अभिनेत्री दीया मिर्जाको पहिलो फिल्म ‘रहना है तेरे दिल मे’ आज कल्ट क्लासिक मानिन्छ। तर यो फिल्म रिलिजको समयमा फ्लप हुँदा दीयाले ठूलो मूल्य चुकाउनुपरेको थियो।

एउटा भर्खरैको अन्तर्वार्तामा दीयाले करियरको एउटा यस्तो कठिन मोडबारे खुलासा गरिन्, जहाँ उनलाई उद्योगले ‘पनौती’ र ‘अनलक्की’ को ट्याग भिराएको थियो। उनले आफ्नो करियरमा भोगेको अपमान र संघर्षका पाटाहरू अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन्।

करियरको सुरुवातमा दीयाको सुन्दरतालाई लिएर उनलाई विश्वसुन्दरी ऐश्वर्या रायसँग तुलना गरिन्थ्यो। इन्डियन एक्सप्रेससँगको कुराकानीमा दीयाले भनिन्, ‘मलाई याद छ जब मेरो एउटा ठूलो फिल्म फ्लप भयो, अचानक सबै कुरा बदलियो। जो मानिसहरू मलाई फिल्ममा लिन लाइन लाग्थे, उनीहरूले नै मलाई पनौती सम्झन थाले।’

मानिसहरूले उनलाई अभागी ठान्न थालेपछि उनले काम पाउनै छोडिन्। फिल्म उद्योगको यो क्रूर व्यवहारका कारण उनले लामो समयसम्म गुमनाम हुनुपरेको थियो।

लामो समयसम्म काम नपाएपछि दीयाले आफैँ पहल गर्ने निर्णय गरिन्। जब निर्देशक राजकुमार हिरानी फिल्म ‘सञ्जु’ को कास्टिङ गर्दै थिए, दीयाले आफैँ उनलाई फोन गरेर काम मागिन्।

उनले हिरानीलाई भनिन्, ‘प्लीज मलाई काम दिनुहोस्, मसँग कुनै प्रोजेक्ट छैन। म स्क्रिन टेस्ट दिन तयार छु, तपाईँ मात्र मलाई एउटा मौका दिनुहोस्।’ हिरानीले उनको प्रस्ताव स्वीकार गरे र रणबीर कपूरको अपोजिटमा मान्यता दत्तको भूमिका दिए। यो फिल्म दीयाका लागि करियरको नयाँ मोड सावित भयो र उनलाई फेरि उद्योगमा स्थापित गरायो।

सन् २००१ मा रिलिज भएको ‘रहना है तेरे दिल मे’ को बजेट करिब ५-६ करोड रुपैयाँ थियो। यो फिल्मले भारतमा मात्र ५.३६ करोडको नेट कलेक्सन गरेर बक्स अफिसमा फ्लपको सूचीमा परेको थियो। यद्यपि पछि टेलिभिजन र डिभिडीको माध्यमबाट यो फिल्म यति धेरै लोकप्रिय भयो कि आज यसलाई रोमान्टिक जनराको उत्कृष्ट फिल्ममध्ये एक मानिन्छ। फिल्मका गीत र कलाकारको अभिनयलाई अहिले पनि दर्शकले निकै रुचाउने गर्छन्।

हाल दीयाको हातमा कैयौँ ठूला प्रोजेक्टहरू छन्। सन् २०२६ मा उनी चारवटा ठूला काममा व्यस्त हुनेछिन्। फिल्म ‘इक्का’ मा उनी सन्नी देओल र अक्षय खन्नासँग देखिनेछिन्।

त्यस्तै नवाजुद्दीन सिद्दीकी र जिम्मी शेरगिलसँग उनका दुईवटा वेब सिरिजहरू पाइपलाइनमा छन्। फिल्म बाहेक दीया अब लेखकको रूपमा पनि नयाँ अवतारमा देखिँदैछिन्। उनी छिट्टै बालबालिकाका लागि पुस्तक लेखेर लेखिकाको रूपमा डेब्यु गर्दैछिन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours