इजरायली दबाबमा युद्ध सुरु गरिएको जो केन्टको दाबी
काठमाडौँ । ट्रम्प प्रशासनका प्रभावशाली अधिकारी एवं राष्ट्रिय आतङ्कवादविरोधी केन्द्रका निर्देशक जो केन्टले इरानसँग जारी युद्धको विषय र प्रक्रियाप्रति तीव्र असहमति जनाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो सैन्य अडान परिवर्तन गर्न समेत आग्रह गरेको समाचारमा उल्लेख गरिएको छ।
४५ वर्षीय केन्ट अमेरिकी विशेष बल र सीआईएका अनुभवी अधिकारी हुन्। उनले आफ्नो ‘एक्स’ (ट्विटर) अकाउन्टमा पोस्ट गरेको पत्रमा इरान अमेरिकाका लागि तत्काल कुनै खतरा नभएको दाबी गरेका छन्।
ट्रम्प प्रशासनले इजरायल र अमेरिकाभित्रको शक्तिशाली इजरायली लबीको दबाबमा परेर यो युद्ध सुरु गरेको उनले आरोप लगाएका छन्।
जो केन्टका लागि युद्धको पीडा व्यक्तिगत पनि छ। उनकी पत्नी शैनन केन्ट अमेरिकी नौसेनामा ‘क्रिप्टोलोजिक टेक्निसियन’ थिइन्, जसको सन् २०१९ मा सिरियामा भएको आत्मघाती आक्रमणमा मृत्यु भएको थियो। केन्टले आफ्नो पत्रमा सैन्य सेवा र पत्नीको बलिदानलाई स्मरण गर्दै भनेका छन्, “म अर्को पुस्तालाई त्यस्तो युद्धमा लड्न र मर्न पठाउने कार्यलाई समर्थन गर्न सक्दिनँ, जसले अमेरिकी जनताको हित गर्दैन र अमेरिकी जीवनको मूल्यलाई न्यायोचित ठहर्याउँदैन।”
केन्टले आफ्नो पत्रमा सन् २०२५ को जुनसम्ममा राष्ट्रपति ट्रम्पले मध्यपूर्वको युद्धले अमेरिकी देशभक्तहरूको अमूल्य जीवन र राष्ट्रको सम्पत्तिमा ठुलो क्षति पुर्याएको कुरा बुझ्ने आशा व्यक्त गरेका छन्। उनले उच्च पदस्थ इजरायली अधिकारी र प्रभावशाली अमेरिकी पत्रकारहरूले ‘गलत सूचना’ फैलाएर ट्रम्पलाई भ्रममा पारेको र यसले ‘अमेरिका फस्ट’को नीतिलाई कमजोर बनाएको दाबी गरेको कार्यालयले जनाएको छ। उनले इरानलाई ठुलो खतराको रूपमा चित्रण गर्नुलाई ‘झुट’ को संज्ञा दिएका छन्।
लामो समयदेखि ट्रम्पका समर्थक रहेका केन्ट गत वर्ष जुलाईमा केन्द्रको निर्देशक नियुक्त भएका थिए। उनले ११ पटकसम्म इराक लगायतका देशहरूमा अमेरिकी सैन्य विशेष बलको रूपमा सेवा गरिसकेका छन्।
ट्रम्पको दोस्रो कार्यकालमा केन्टसँगै सेक्युरिटिज र एक्सचेन्ज कमिसनकी प्रवर्तन निर्देशक मार्गरेट रायन र केनेडी सेन्टरका अध्यक्ष रिक ग्रेनेल जस्ता वरिष्ठ अधिकारीहरूले पनि राजीनामा दिइसकेका छन्। यद्यपि, पहिलो कार्यकाल (२०१७–२०२१) को तुलनामा अहिले अधिकारीहरूको हेरफेरको दर कम रहेको ह्वाइट हाउसले जनाएको छ।


+ There are no comments
Add yours