२३ माघ, हाभाना । संयुक्त राज्य अमेरिकाले इन्धन आपूर्तिमा अवरोध गरेपछि क्युबाले देशव्यापी ऊर्जा संकट टार्न नयाँ आपतकालीन योजना घोषणा गरेको छ। क्युबाली राष्ट्रपति मिगुएल डियाज–कानेलले बिहीबार एक विशेष पत्रकार सम्मेलन गर्दै अर्को सातादेखि लागू हुने गरी इन्धन अभाव टार्ने रणनीति सार्वजनिक गरेका हुन्।
अमेरिकाले क्युबालाई तेल पठाउने देशहरूमाथि भारी कर लगाउने धम्की दिएपछि टापु राष्ट्रमा खाद्यान्न र यातायातको मूल्य आकाशिएको छ भने देशभर अन्धकार छाएको छ। राष्ट्रपति डियाज–कानेलले अमेरिकी कदमलाई ‘आक्रामक र आपराधिक’ भन्दै यसले अस्पताल, विद्यालय र पर्यटन क्षेत्रमा गम्भीर असर पारेको बताएका छन्।
संकट टार्न क्युबाले अब सौर्य ऊर्जा उत्पादनमा जोड दिने भएको छ। चीनको सहयोगमा जडान गरिएका सोलार प्यानलबाट हाल क्युबाले दिउँसोको समयमा ३८ प्रतिशत अर्थात् १००० मेगावाट बिजुली उत्पादन गरिरहेको छ।
राष्ट्रपतिले अबको केही समय कडा बचत र उपभोगमा कटौती गर्नुपर्ने भन्दै कतिपय गैर–अत्यावश्यक सेवाहरू स्थगित वा ढिलाइ गरिने बताएका छन्। बुधबार राति मात्रै इन्धन अभाव र जीर्ण पूर्वाधारका कारण क्युबाका पाँचवटा प्रान्तमा पूर्ण रूपमा ब्ल्याकआउट भएको थियो।
अमेरिकाले भेनेजुएला र मेक्सिकोबाट हुने तेल आपूर्ति रोक्न दबाब दिएपछि क्युबाले रुससँग पनि कुटनीतिक संवाद अघि बढाएको छ। इन्धनको अधिकारका लागि लड्ने बताउँदै राष्ट्रपति डियाज–कानेलले अमेरिकासँग वार्ता गर्न तयार रहेको तर आन्तरिक मामिलामा हस्तक्षेप र सार्वभौमसत्तामा आँच पुग्ने सर्त स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
क्युबाले आफ्नै कच्चा तेल उत्खनन र भण्डारण क्षमता बढाउने काम पनि सुरु गरेको छ। हाल क्युबाका उच्च कुटनीतिज्ञहरूले अमेरिकी सरकारसँग प्रारम्भिक सम्पर्क सुरु गरे पनि औपचारिक द्विपक्षीय वार्ता भने सुरु भइसकेको छैन।
अलजजिरा


+ There are no comments
Add yours