बजार पुग्नुअघि नै चाँदी ‘सुकाउने’ रणनीतिमा चीन
चीन, भारत र रूसले ठूलो परिमाणमा चाँदी भण्डारण गर्न थालेपछि विश्व बजारमा माग असाध्यै बढ्दै मूल्य लगातार नयाँ उचाइतिर धकेलिएको हो।
२६ मंसिर, काठमाडौँ । चीन, भारत र रूसले अभूतपूर्व रूपमा चाँदी संकलन गर्न थालेपछि विश्व बजारमा चाँदीको मूल्य हरेक दिन नयाँ रेकर्ड बनाउँदै उकालो लागिरहेको छ। विश्व शक्ति सन्तुलन बदलिँदै गएको छ।
डलरप्रतिको भरोसा घट्दै गएको र ऊर्जा-प्रविधि उद्योगमा चाँदीको प्रयोग उच्च रूपमा बढेपछि यी मुलुकहरूलाई रणनीतिक भण्डारणतर्फ दौडिन बाध्य पारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
चाँदी अहिले केवल बहुमूल्य धातु होइन आधुनिक अर्थतन्त्रको मेरुदण्ड बन्ने औद्योगिक कच्चा पदार्थका रूपमा उभिएको छ। सौर्य प्यानल, विद्युतीय सवारी, एआई हार्डवेयर, सेमीकन्डक्टर, चिकित्सा उपकरण, पानी शुद्धीकरण, सैन्य प्रविधि सबै क्षेत्रमा चाँदीको प्रयोग तीव्र गतिमा बढिरहेको छ। सुनभन्दा फरक, उद्योगमा प्रयोग भएको चाँदी प्रायः पुनः प्राप्त नहुने भएकाले आपूर्ति वर्षैपिच्छे संकुचन हुँदै गएको छ।
चीनको व्यवहार विशेष रूपमा संकेतपूर्ण मानिएको छ। चीन आफै ठूलो उत्पादक भए पनि अहिले बजारमा आउनुअघि नै पेरूजस्ता देशबाट दोबर मूल्य तिरेर ठूलो मात्रामा चाँदी उठाइरहेको छ। यसले चीन अब पश्चिमी बजार, डलरमा आधारित व्यापार प्रणाली र अन्तर्राष्ट्रिय भण्डारण प्रविधिप्रति पूर्ण भरोसा राख्न छाडेको देखिन्छ। विशेषज्ञहरूका अनुसार चीन आपूर्ति संकट वा मौद्रिक अस्थिरताको सम्भावित जोखिमलाई ध्यानमा राखेर चाँदीलाई घरेलु भण्डारणमा सुरक्षित राख्न चाहन्छ।
भारतको चाँदी संकलन पनि दीर्घकालीन रणनीतिसँग जोडिएको छ। पछिल्ला पाँच वर्षमै भारतले ९०० मिलियन औँसभन्दा बढी चाँदी भित्र्याएको छ।
ऊर्जा संक्रमण, इलेक्ट्रोनिक्स र सेमीकन्डक्टर उद्योग विस्तार तथा रक्षा उपकरण आधुनिकीकरण, यी तीन आधारमा भारतले चाँदीको स्थिर आपूर्ति सुनिश्चित गर्न आक्रामक आयात गरिरहेको भारतीय विश्लेषकहरूको तर्क छ।
रूसले त चाँदीलाई ‘रणनीतिक भण्डार’ को सूचीमै राखिसकेको छ। जसले भविष्यमा आपूर्ति-अस्थिरता, मूल्य-उकालो र विदेशी मुद्रा संरचनामा सम्भावित रूपान्तरणको संकेत देखाएको मानिन्छ। जब कुनै मुलुकले चाँदीलाई रणनीतिक वस्तुको रूपमा दर्ज गर्छ। त्यसको अर्थ त्यो धातु मूल्यभन्दा बढी राष्ट्रिय सुरक्षा र उद्योगको भविष्यसँग जोडिन पुगेको हुन्छ।
डलर कमजोर हुँदै गएको, मुद्रास्फीति स्थिर नरहेको र भूराजनीतिक तनाव चर्कंदै गएको वर्तमान परिदृश्यले पनि चाँदीलाई सुरक्षित विकल्प बनाइदिएको छ।
इतिहासमै मुद्रा अस्थिर हुँदा धातुको मूल्य उकालो लाग्ने क्रम दोहोरिँदै आएको छ। यही पृष्ठभूमिमा चीन, भारत र रूसले ठूलो परिमाणमा चाँदी भण्डारण गर्न थालेपछि विश्व बजारमा माग असाध्यै बढ्दै मूल्य लगातार नयाँ उचाइतिर धकेलिएको हो।
नेपाली बजारमा पनि चाँदीको मूल्यले हरेक दिन कीर्तिमान बनाइरहेको छ। बिहीबार एक तोला चाँदी ३ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो। जुन मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो।


+ There are no comments
Add yours