२६ मंसिर. काठमाडौँ । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले सन् २०२६ मा विश्वका १३३ देशका सात करोड ३० लाख बालबालिकालाई सहयोग पुऱ्याउन सात अर्ब ६६ करोड डलर आवश्यक पर्ने जनाएको छ।
संयुक्त राष्ट्र महासचिवका उपप्रवक्ता फरहान हकका अनुसार, विश्वभरमा बजेट कटौती बढ्दै जाँदा आधारभूत सेवाहरू कमजोर बनेका छन्, जसले बालबालिकाको आवश्यकता झन् बढाएको छ। दातृ मुलुकहरूबाट कम हुँदै गएको सहयोगले युनिसेफका कार्यक्रमहरू प्रभावित बनेका छन्, र सन् २०२४ तथा २०२५ मा देखिएको स्रोत अभावले संस्थालाई कठिन निर्णय लिन बाध्य पारेको छ। पोषण कार्यक्रममै सन् २०२५ का लागि देखिएको ७२ प्रतिशत स्रोत कमीका कारण २० प्राथमिक देशमा कटौती गर्नुपरेको छ। त्यस्तै, शिक्षाका क्षेत्रमा ७ करोड ४५ लाख डलर बराबरको कमीले धेरै बालबालिका सिकाइ, संरक्षण र स्थिरताको जोखिममा परेका छन्।
युनिसेफका अनुसार सहयोग आवश्यक परेकामध्ये तीन करोड ७० लाख बालिका र ९ लाखभन्दा बढी अपाङ्गता भएका बालबालिका रहेका छन्। युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रस्सेलले द्वन्द्व, विपत्ति, विस्थापन र आर्थिक अस्थिरताले बालबालिका असाधारण कठिनाइमा परेको बताउँदै, हिंसा, भोकमरी, जलवायु संकट तथा अत्यावश्यक सेवाको पतनले उनीहरूको जीवन गम्भीर असरमा परेको उल्लेख गरेकी छन्। उनले हाल देखिएको विश्वव्यापी वित्तीय अभावले मानवीय आवश्यकता घटेको नभई, पीडा र उपलब्ध स्रोतबीचको अन्तर अझै बढ्दै गएको सङ्केत गरेको बताएकी छन्। युनिसेफका अनुसार सन् २०२६ मा २० करोडभन्दा बढी बालबालिकालाई सहायता आवश्यक पर्नेछ।
फरहान हकले सरकार र दातृ संस्थाहरूलाई दीर्घकालीन र लचिलो आर्थिक सहयोग उपलब्ध गराउन, स्थानीय निकायसँग सहकार्य विस्तार गर्न तथा मानवीय सिद्धान्तलाई प्राथमिकतामा राख्न अनुरोध गरेका छन्।


+ There are no comments
Add yours