काठमाडौं महानगरले शंखमूल क्षेत्रको अनधिकृत घरटहरा भत्काउने

२६ मंसिर. काठमाडौँ । काठमाडौं महानगरपालिकाले शंखमूल क्षेत्रको पुलदेखि पूर्वतर्फ भीएस निकेतनसम्मको अनधिकृत घरटहरा भत्काउने भएको छ । महानगरले सार्वजनिक सूचना जारी गरी ३ दिनभित्र घर टहरा भत्काउन आग्रह गरेको छ ।

महानगरका अनुसार सात दिनको म्याद सकिएलगत्तै तीन दिनको पत्र पठाएको हो । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आउँदो हप्ताबाट संरचना हटाउन सुरु गर्ने जानकारी दिएका छन् ।

महानगरले आँकलन गरेअनुसार सो क्षेत्रमा करिब ५ सय बढी अस्थायी र स्थायी संरचना छन् ।

खोला किनाराको जग्गा अधिक्रमण गरी संरचना निर्माण गरेको पाएपछि महानगरले ती संरचना हटाउन लागेको हो । यस क्षेत्रमा करिब एक हजार रोपनी सार्वजनिक जग्गा हुनसक्ने अनुमान गरिएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण र महानगरको टोलीले अनुगमन गर्दा करिब एक हजार रोपनी जग्गा अतिक्रमण गरी घर टहरा निर्माण गरेको पाइएको महानगरले जनाएको छ ।

महानगरका अनुसार आज शुक्रबारबाट जग्गा हडपेर संरचना बनेको हो वा होइन भन्ने नापजाँच गरिनेछ । घरधनीसँग भएका कागजात अध्ययन गरी कानुनविपरीत देखिए तत्काल खाली गर्ने योजना रहेको छ ।

महानगर प्रहरी बल प्रमुख पाण्डेले शंखमूल पुलदेखि पूर्वतर्फ मापदण्डविपरीत बनेका सबै संरचना भत्काइने बताउँछन् । उनका अनुसार ३ दिनको समय सीमामा यदि आफैंले खाली नगरे सबै खर्च घरधनीले बेहोर्ने गरी महानगरले संरचना हटाउनेछ ।मापदण्डविपरीत जग्गा मिचेर संरचना निर्माण गरेका सबै धरधनीलाई पत्र पठाइसकेको र अब अन्तिम चरणमा जग्गा खाली गर्ने प्रक्रिया सुरु गर्न लागेका जनाइएको छ ।

यो क्षेत्रका अधिकांश घरधनीले लालपुर्जामा उल्लिखित क्षेत्रफलमा पक्की घर बनाए पनि मिचेको क्षेत्रमा टहरा बनाएर भाडामा दिने गरेको पत्ता लागेको जनाइएको छ ।

प्रहरी बल प्रमुख पाण्डेले मिचेका सबै जग्गा तत्काल खाली गरेर खुला क्षेत्रको रूपमा विकास गर्ने तयारी भइरहेको बताउँछन् ।

महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी ३ दिनभित्र अनधिकृत रूपमा निर्माण गरेका घरटहरालगायत संरचना हटाउन आग्रह गरेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours