१६ साउन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) द्वारा हालै जारी ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका २०८२’ मा प्रस्तावित नयाँ व्यवस्थालाई अव्यवहारिक, लगानी प्रतिकूल र सेयर बजारमै अनिश्चितता पैदा गराउने ठहर गरेको छ ।
सीडीएससीले अभौतिकीकृत धितोपत्रहरूलाई संस्थापक र सर्वसाधारणलाई फरक आईएसआईएन (आइजिन) नम्बर प्रदान गर्ने तथा लकिङ पिरियडपछि संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत नहुने व्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको चेम्बरले उल्लेख गरेको छ ।
सीडीएससीको निर्देशिका लागु भए नेपालको सेयर बजारमा दीर्घकालीन असर पर्ने, लगानीकर्ताको भरोसा कमजोर हुने र विशेषतः ऊर्जा क्षेत्र, सिमेन्ट, होटल, उत्पादनमूलक उद्योग, मिडिया लगायत क्षेत्रमा नकारात्मक प्रभाव पर्ने चेम्बरको ठहर छ ।
प्रस्तावित व्यवस्था अन्तर्राष्ट्रिय मान्यता र स्थापित अभ्यास विपरीत हुने पनि चेम्बरको ठहर छ । चेम्बरद्वारा जारी प्रेस विज्ञप्तिमा छ, ‘यो निर्देशिका लगानीकर्ताको हितविरुद्ध जान्छ र नेपालको परिपक्व नबनेको पूँजीबजारमा यस्ता व्यवस्थाले लगानीको वातावरणमा अन्योलता र असुरक्षा थप्ने छ ।’
केही वर्षदेखि सीडीएससीले सेयरको अभौतिकीकरण प्रक्रिया रोकेको अवस्थामै अहिले निर्देशिका ल्याएर संस्थापक सेयरमा स्वतः रूपान्तरण रोकिने तथा वर्गीकरणमा अलग–अलग आइजिन नम्बरको व्यवस्था गर्ने निर्णयले बजारमा विश्वासको संकट सिर्जना गरेको चेम्बरले जनाएको छ ।
नेपालमा सेयर बजार अझै पनि लगानीमैत्री बन्न सकेको अवस्था छैन । यस्तोमा सीडीएससी जस्तो संस्था आफैंले बनाएका पुराना मापदण्ड उल्ट्याउँदै नयाँ व्यवस्था ल्याउँदा बजारमा नकारात्मक मनोविज्ञान उत्पन्न भएको चेम्बरको भनाइ छ ।
चेम्बरले यो निर्देशिका तत्काल संशोधन गरी व्यावहारिक र लगानीमैत्री खालको व्यवस्था बनाउन सरकार तथा नियामक निकायहरूको गम्भीर ध्यानाकर्षण गराएको छ ।
अन्यथा, लगानीकर्ताको भरोसा घट्दै जाने, संस्थापक सेयर निष्क्रिय हुने र बजारमा तरलता संकट बढ्दै जाने गम्भीर जोखिम रहेको चेम्बरले जनाएको छ ।
नेपालको समग्र पूँजीबजारको विकास, लगानी सुरक्षा प्रत्याभूति र निजी क्षेत्रको विश्वास कायम राख्न सीडीएससीले ल्याएको निर्देशिकालाई पुनर्विचार गर्नसमेत चेम्बरले धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ ।


+ There are no comments
Add yours