सरकारले कोदो दिवस मनाइरहँदा कोदोमा परनिर्भरता बढ्दो : ३ वर्षमा २ अर्ब बढीको आयात

१६ साउन, काठमाडौँ । सरकारले कोदो दिवस मनाइरहँदा कोदोमा परनिर्भरता भने बढ्दो छ । पछिल्लो समय नेपालको उच्च र मध्यपहाडी क्षेत्रमा कोदो उत्पादन घट्दै गएपछि आयातमा निर्भरता बढ्दै गएको हो ।

भन्सार विभागका अनुसार पछिल्लो ३ वर्षमा ४ करोड ८६ लाख ४४ हजार ८५ केजी कोदो आयात भएको छ । सो परिमाणमा कोदो आयात हुँदा २ अर्ब २३ करोड ९५ लाख १८ हजार रुपैयाँ बाहिरीएको हो ।

गत आर्थिक वर्ष २०८१/०८२ मा ७६ करोड ५९ लाख रुपैयाँको १ करोड ५३ लाख ७ हजार २११ केजी कोदो आयात भएको थियो । सो परिमाणमा कोदो आयात हुँदा आयातकर्ताले ५७ हजार ५३४ रुपैयाँ राजस्व बुझाएको छ । सो अवधिमा नेपालबाट ६ लाख १४ हजार रुपैयाँको ८ हजार ९१० केजी मात्र कोदो निर्यात भएको थियो । सरकारले परम्परागत बालीको व्यवसायीकरणमा ध्यान नदिँदा हरेक वर्ष स्वदेशी उत्पादन घट्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा कोदो आयात हुने गरेको जानकारहरुको दाबी छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ७५ करोड ४१ लाख ९५ हजार रुपैयाँमा १ करोड ५२ लाख ९२ हजार ८२० केजी कोदो आयात हुँदा मात्र ५ हजार ३०४ केजी कोदो निर्यात भएको थियो । उक्त कोदो निर्यातबाट ५ लाख ६७ हजार रुपैयाँ आम्दानी भएको विभागको तथ्यांकमा उल्लेख भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा ७१ करोड ९४ लाख २३ हजार रुपैयाँको १ करोड ८० लाख ४४ हजार ५४ केजी कोदो आयात हुँदा निर्यात भने शून्य रहेको थियो । नेपालमा धेरै मात्रामा भारतबाट कोदो आयात हुँदा चीनबाट केही मात्रामा आयात थियो।

पछिल्लो समय कोदोबाट बिस्कुट, ढिँडो लगायतका परिकार बनाइने गरिन्छ । खपत बढ्दै गएपछि पसलहरुमा समेत कोदोको परिकार राखिन्छ । होटेल रेस्टुरेन्टमा कोदोका परिकार बनाएर बिक्रीका लागि राखिने जानकारहरु बताउँछन् ।

कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक मानिन्छ । कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिनबी, टिप्टोफेन, फाइबरलगायतका पोषक तत्व पाइन्छ । पोटासियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउने बताइएको छ । कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पु¥याउने विज्ञहरुको भनाई छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours