इरान-इजरायल युद्ध: मध्यपूर्वमा बढ्दो तनाव– के इरान युद्धमा प्रत्यक्ष सहभागी हुँदैछ अमेरिका ?

०४ असार, काठमाडौँ । इजरायल र इरानबीच विगत ६ दिनदेखि जारी युद्धमा अमेरिका पनि सामेल हुने सम्भावना रहेको पश्चिमा सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इजरायलले ‘अपरेसन राइजिङ लायन’अन्तर्गत इरानका आणविक केन्द्र र सैन्य नेतृत्वमाथि आक्रमण गरेपछि इरानले ‘अपरेसन ट्रु प्रमिस’ नाम दिँदै जवाफी कारबाही शुरू गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पछिल्ला गतिविधिहरूले अमेरिका पनि उक्त युद्धमा सामेल हुने संकेत गरेका छन् ।

ट्रम्पको मिश्रित संकेत

वाल स्ट्रीट जर्नलका अनुसार ट्रम्पले ह्वाइट हाउसको ‘सिचुएसन रूम’मा शीर्ष सल्लाहकारहरूसँग बैठक गर्दै इरानविरुद्ध सम्भावित सैन्य कारबाहीको विकल्पमाथि छलफल गरेका छन् ।

मंगलबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका थिए, ‘इरानको आकाशमा हाम्रो पूर्ण नियन्त्रण छ ।’

उनले इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनी लुकेको स्थान पत्ता लागेको तर हाललाई निशाना नबनाउने संकेत पनि सोही पोस्टमार्फत गरेका थिए ।

त्यसको केही मिनेटमै उनले अर्को पोस्टमा इरानले नि:शर्त आत्मसमर्पण गर्नुपर्ने बताएका थिए ।

मंगलबार नै ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग टेलिफोन वार्ता पनि गरेका थिए । वार्ताको थप विवरण सार्वजनिक गरिएको छैन, तर पनि यसले रणनीतिक समन्वयको अनुमान बढाएको छ ।

ह्वाइट हाउसको अस्वीकृति,तर पेन्टागनको सक्रियता

अमेरिकी प्रशासनले भने इरान युद्धमा संलग्नता अस्वीकार गर्दै इजरायलको आक्रमण ‘एकतर्फी’ भएको दाबी गरेको छ ।

तर, अमेरिकी रक्षामन्त्रालय पेन्टागनले पछिल्ला केही दिनमा मध्यपूर्वमा उल्लेखनीय सैन्य उपस्थिति विस्तार गरेको छ । पेन्टागनले नौसैनिक जहाज ‘डिस्ट्रोयर’ पूर्वी भूमध्यसागरमा र ‘क्यारियर स्ट्राइक’ अरब सागरतर्फ प्रस्थान गराएको विषय उल्लेखनीय छ ।

पेन्टागनले यस्ता सैन्य गतिविधिलाई अमेरिकाको ‘रक्षात्मक कदम’ भनेपनि विश्लेषकहरूले यसलाई सम्भावित हस्तक्षेपको तयारीका रूपमा लिएका छन् ।

विशेषतः इजरायलले इरानको फोर्डो आणविक सुविधा नष्ट गर्न अमेरिकाको ‘GBU-57 म्यासिभ अर्डनन्स पेनेट्रेटर’ बम माग गरेको कुराले अमेरिकालाई आक्रमणमा प्रत्यक्ष तान्ने सम्भावना बढाएको हो ।

युद्धको प्रभाव : मानवीय क्षति र आक्रमणको स्तर यस युद्धमा दुवै देशले भीषण क्षति बेहोरेका छन् ।

मानवअधिकारवादी संस्थाहरूले इजरायली आक्रमणमा परेर इरानमा ४५० भन्दा बढीको ज्यान गएको बताएका छन् भने इरानी आक्रमणबाट इजरायलमा २४ जनाभन्दा बढीको ज्यान गएको छ ।

इजरायलले इरानको नातान्ज र कराजस्थित संवेदनशील ‘सेन्ट्रीफ्यूज केन्द्र’हरूमा आक्रमण गरी इरानको आणविक कार्यक्रममा ठूलो क्षति पुर्‍याएको दाबी गरेको छ ।

जवाफमा इरानले करिब ४०० ब्यालिस्टिक मिसाइल र सयौं ड्रोन प्रहार गरेको र इजरायलका आधा दर्जनभन्दा बढी ठाउँलाई निसाना बनाएको बताएको छ ।

इरानको रिभोलुसनरी गार्डले इजरायलको सैन्य गुप्तचर मुख्यालय र मोसादको अपरेसनल सेन्टरमा पनि हमला गरेको दाबी गरेको छ । यद्यपि, इजरायलले यसको पुष्टि गरेको छैन।

कूटनीतिकर राजनीतिक ध्रुवीकरण

एकातर्फ कूटनीतिक वार्ताको प्रस्ताव गर्ने र अर्कातर्फ कठोर सैन्य दबाब दिने ट्रम्पको रणनीति छ ।

उनले केही दिनअघि इरानसँग पुनः आणविक वार्ता शुरू गर्ने इच्छा देखाएका थिए । यसअघि नै तय भएको उक्त वार्ता अहिले रद्द भएको थियो ।

तर, पछिल्लो समय ट्रम्प थप आक्रामक हुँदै गइरहेका छन् ।

फोर्डो हमला गर्न इजरायललाई बी-२ स्टेल्थ बमवर्षक र ३० हजार पाउन्डको बम आवश्यक परेको बताइएको छ । यो बम अमेरिकासँग मात्र छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युद्धमा अमेरिका संलग्न हुने निर्णय नगरेको दाबी गरेका छन् । पछिल्लो समय अमेरिकन कंग्रेसमा पनि यस विषयलाई लिएर चर्चा हुन थालेको छ ।

अमेरिकी संसदमा तीव्र बहस

सिनेटर टीम केन र प्रतिनिधि थोमस म्यासीले इरानविरुद्ध सैन्य कारबाही गर्न कंग्रेसको अनुमति चाहिने बताएका छन् । उनीहरूले ट्रम्पलाई एकल निर्णयबाट रोक्न चाहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सिनेटर लिन्डसे ग्राहमले भने इजरायललाई पूर्ण सैन्य सहयोग दिनुपर्ने पक्षमा आफ्नो राय राखेका छन् ।

इकोनोमिस्ट-यूगोभको ताजा सर्वेक्षण अनुसार ६० प्रतिशत अमेरिकी नागरिकले इजरायल-इरान द्वन्द्वमा अमेरिकी सैनिक संलग्नता नचाहेको देखिएको छ ।

तर, इरानले भने अमेरिका युद्धमा संलग्न भएको दाबी गर्दै ‘इजरायलको अपराधको भागीदार’ भनेर कडा प्रतिशोधको चेतावनी दिएको छ ।​

सम्भावित परिणाम

संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूत अली बाह्रेनीले युद्धमा अमेरिका संलग्न भए त्यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘यदि युद्धमा अमेरिका पूर्णस्तरमा संलग्न भयो भने गम्भीर परिणाम आउँछ ।’

उनको भनाइ बाहिर आएलगत्तै राष्ट्रपति ट्रम्पले लेखे, ‘इरानले अमेरिकी अड्डा वा नागरिकलाई आक्रमण गरे त्यसको अभूतपूर्व जवाफ दिइनेछ ।’

यसैबीच, रुस र चीनले मध्यस्थताको प्रस्ताव अघि सारेका छन् । तर, इरानले भने इजरायली आक्रमण जारी रहेको अवस्थामा वार्ता नगर्ने अडान लिएको छ ।

यस युद्धका कारण कच्चा तेलको मूल्य ५ प्रतिशतसम्म वृद्धि भइसकेको छ । स्ट्रेट अफ होर्मुजमा रहेका तेल बोक्ने जहाज अहिले जोखिममा छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours