काठमाडौंंका सुकुम्बासी बस्तीमा पानी अभाव, संघद्वारा आन्दोलनको चेतावनी

२५ जेठ, काठमाडौं । काठमाडौंंको सुकुम्बासी तथा अव्यवस्थित बस्तीहरूमा खानेपानी आपूर्ति माग गर्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको ध्यानाकर्षण गरिएको छ ।

आम सुकुम्बासी तथा अब्यवस्थित बसोबासी संघले आइतबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका श्रीमान महाप्रबन्धकलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

हाल काठमाडौं उपत्यकाको अधिकांश क्षेत्रमा मेलम्ची खानेपानी योजना अन्तर्गत पाइपलाइन विस्तार भई पानी आपूर्ति समेत भइसकेको तर, सुकुम्बासी तथा अव्यवस्थित रूपमा बसोबास गरिरहेका टोल बस्तीहरूमा अहिलेसम्म खानेपानीको आपूर्ति नगरिएको ज्ञापनपत्रमा उल्लेख छ ।

तत्काल समस्या समाधान नगरे आन्दोलनमा उत्रिने संघको चेतावनी छ । मेलम्ची खानेपानी वितरण पाइपलाइन विस्तार सम्पन्न भए पनि सुकुम्बासी क्षेत्रलाई उपेक्षा गर्दै आपूर्ति रोकिएको संघको आरोप छ ।

‘२१औँ शताब्दीमा समेत सुकुम्बासी बस्तीमा पानी नपुग्नु अत्यन्त लाजमर्दो अवस्था हो । राज्यको यसप्रकारको विभेदी व्यवहार सह्य छैन’ ज्ञापनपत्रमा भनिएको छ।

संघले तीन चरणको आन्दोलनको तयारी गरेको समेत ज्ञानपत्रमा छ । जेठ २६ गते केयूकेएललाई ज्ञापनपत्र बुझाउने, असार २ गते गाग्रीसहित कार्यालय घेराउ गर्ने र असार १० गतेसम्म पनि सुनुवाइ नभए काठमाडौँमा पानीको वितरणमा अवरुद्ध गर्ने चेतावनी दिइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours