२९ वैशाख, काठमाडौँ। विविध कार्यक्रम गरि शान्तिका अग्रदूत गौतम बुद्धको २५६९औँ जन्म जयन्ती आज मनाइएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ ।
२५६९ औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलहरूमा बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लागेको छ । काठमाडौं उपत्यकासहित देशभरका प्रमुख बौद्ध स्थलहरूमा श्रद्धालुहरूले पूजा, आराधना र शान्तिको कामना गरेका छन् ।
काठमाडौँको स्वयम्भूनाथ, बौद्धनाथ लगायतका बौद्ध गुम्बाहरूमा बिहानैदेखि भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ। त्यस्तै, लुम्बिनी, कपिलवस्तु, रामग्राम लगायतका ऐतिहासिक बौद्ध स्थलहरूमा पनि देशभर तथा विदेशबाट आएका श्रद्धालुहरूको भीड देखिएको छ।

बुद्ध जयन्तीको दिन भगवान सिद्धार्थ गौतमको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको विशेष त्रियोग दिवसका रूपमा मनाउने परम्परा छ । आजको दिन भगवान बुद्धलाई विष्णुको नवौँ अवतारका रूपमा पूजा गरिँदै विश्व शान्तिको सन्देश प्रवाह गरिन्छ ।
सिद्धार्थ गौतमको जन्म इसापूर्व ५६३ मा हालको रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा भएको मानिन्छ ।
उनले पश्चात शाक्यमुनि बुद्धको रूपमा विश्व शान्ति, करुणा र अहिंसाको सन्देश फैलाएका थिए। यही योगदानको सम्मानस्वरूप नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीहरूले आज विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइरहेका छन्।
बुद्ध जयन्तीको अवसरमा बौद्ध स्थलहरूमा प्रार्थना, ध्यान, दीप प्रज्वलन तथा शान्तिसन्देशमूलक कार्यक्रमहरू आयोजना गरिएका छन्। सरकारले आज सार्वजनिक बिदा दिएको छ भने विभिन्न धर्म, संस्कार र सम्प्रदायका मानिसहरू पनि बौद्ध स्थलहरूमा पुगेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । आजको दिन काठमाडौंको बौद्ध स्तुपा, स्वयम्भूनाथ, लुम्बिनी लगायत बुद्धस्थलमा बिहानै देखि श्रद्धालुहरूको भीड लागेको छ ।








+ There are no comments
Add yours