चारधाम यात्रा : आस्थाको तीर्थमा लाखौं भक्तजन !

२२ बैशाख, काठमाडौं । भारतको उत्तराखण्डस्थित हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल चारधाम यात्रा औपचारिक रूपमा शुरु भएको छ। यस वर्षको चारधाम यात्रामा नेपालसहित भारतका विभिन्‍न राज्यहरूबाट लाखौं श्रद्धालु सहभागी हुन थालेका छन्।

बद्रीनाथ, केदारनाथ, गंगोत्री र यमुनोत्रीको दर्शनका लागि तीर्थयात्रा शुरु भएको हो। चारधाम यात्रा बर्सेनि वैशाखदेखि असोजसम्म सञ्‍चालन हुने धार्मिक तीर्थाटन हो। हिन्दू धर्मशास्त्रहरू वेद र पुराणहरूमा यो यात्रालाई पापमोचन, पुण्य प्राप्ति र मोक्षदायक मानिएको छ। विशेष गरी, जीवनको शुद्धि, आत्मज्ञान र कर्मफलको मुक्ति प्राप्त गर्न यो यात्रा अत्यन्त फलदायी हुने विश्‍वास हिन्दू धर्मावलम्बीहरूमा छ।

नेपालबाट गड्डाचौकी हुँदै यात्रा

चारधाम यात्रामा नेपालबाट कञ्‍चनपुरको गड्डचौकी नाका हुँदै अगाडि बढ्ने गरिएको छ। गड्डचौकी नाकाबाट भारतको हरिद्वारसम्मको सडक दूरी करिब २९३ किलोमिटर छ। यो दूरी बस, रेललगायत विभिन्‍न सवारी साधन प्रयोग गरी तय गर्न सकिन्छ। गंगास्‍नान, हरकी पौडीमा आरती अवलोकन गरेपछि आधिकारिक रूपमा यमुनोत्रीबाट तीर्थयात्राको प्रारम्भ हुन्छ।

यमुनोत्री जाने यात्रामा जानकी चट्टीसम्म सवारी साधनको सुविधा उपलब्ध छ। त्यसपछि करिब ६.५ किलोमिटरको पैदल उकालो यात्रा गर्नुपर्छ। यहाँस्थित तातोपानी कुण्ड र उम्लँदो पानीमा भात पकाउने परम्परा अद्यापि कायम छ, जसले यात्रुलाई सांस्कृतिक र धार्मिक अनुभूति प्रदान गर्छ।

अमरसिंह थापाले बनाएको मन्दिर

यमुनोत्रीपछि यात्रा गंगोत्रीतर्फ अघि बढ्छ। गंगोत्री मन्दिरमा सवारी साधन सीधै मन्दिर नजिकसम्म पुग्छ। ऐतिहासिक रूपमा यो मन्दिर १८औं शताब्दीमा नेपालका तत्कालीन सेनापति अमरसिंह थापाले निर्माण गराएको मानिन्छ। गंगोत्रीलाई गंगा नदीको उदगमस्थलको रूपमा पूजा गरिन्छ, जहाँ श्रद्धालुहरूले गंगातटमा श्राद्ध तथा तर्पण गरी गंगामाताको आराधना गर्छन्।

केदारनाथ यात्रा : सबैभन्दा चुनौतीपूर्ण

चारधाम यात्राको सबैभन्दा कठिन र चुनौतीपूर्ण गन्तव्य हो, केदारनाथ। सोनप्रयागदेखि गौरीकुण्डसम्म सवारी साधन पुग्छन्। त्यसपछि करिब २२ किलोमिटर लामो उकालो यात्रा घोडा, डोली, पाल्की वा पैदल तय गर्नुपर्छ। चिसो मौसम, हिलाम्य बाटो, भिडको दबाब र लगातार वर्षाका कारण यो यात्रा थप कठिन हुने गर्छ। केही भक्तजनले लामो प्रतीक्षा र दर्शनका लागि मिल्ने छोटो समयप्रति असन्तुष्‍टि व्यक्त गर्छन्।

अन्तिम गन्तव्य बद्रीनाथ

यात्राको अन्तिम गन्तव्य बद्रीनाथ हो, जसलाई भगवान विष्‍णुको आठौं वैकुण्ठ मानिन्छ। धार्मिक मान्यताअनुसार केदारनाथको दर्शनपछि मात्र बद्रीनाथ जानु पुण्यदायक मानिन्छ। यहाँ पनि अत्यधिक भिडका कारण दर्शन व्यवस्थापनमा कठिनाइ महशुस गर्छन्, भक्तजनले।

बद्रीनाथमा भगवान विष्‍णु विश्रामको मुद्रा (शेष शय्या) मा विराजमान छन् भन्‍ने जनविश्‍वास रहिआएको छ। त्यहीं रहेको अलकनन्दा नदीको तट, तपोवन क्षेत्र र विष्‍णु गुफा यात्राको प्रमुख आकर्षण हुन्।

रजिस्ट्रेसन अनिवार्य, हेलिकप्‍टर सेवा उपलब्ध

उत्तराखण्ड राज्य सरकारले यात्रालाई व्यवस्थित बनाउन अनलाइन रजिस्ट्रेसन अनिवार्य गरेको छ। त्यसका लागि तीर्थयात्रीहरूले वैध परिचयपत्र र स्वास्थ्य विवरण पेश गर्नुपर्छ। साथै, मोबाइल सम्पर्कका लागि भारतीय सिमकार्ड अनिवार्य गरिएकाले नेपाली तीर्थयात्रीहरूलाई केही झण्झट हुन्छ।

उत्तराखण्ड पर्यटन बोर्डले चारधाम यात्रा वैशाखदेखि असोजसम्म खुला हुने जानकारी दिँदै मौसम र स्वास्थ्यको अवस्थाअनुसार मात्रै यात्रा गर्न आग्रह गरेको छ। यात्राका लागि हेलिकप्‍टर सेवा पनि उपलब्ध छ, जसको बुकिङ भारतको IRCTC को HeliYatra पोर्टलमार्फत ७ मेदेखि शुरु हुनेछ। उच्च हिमाली भूभागमा कठिन यात्रा गर्न नसक्ने यात्रुहरूका लागि हेलिकप्‍टर सेवा उपलब्ध गराइएको उत्तराखण्ड पर्यटन बोर्डले जनाएको छ।

धार्मिक र सांस्कृतिक महत्त्व

चारधाम तीर्थस्थलहरू यमुनोत्री (यमुना नदीको उद्‍गम), गंगोत्री (गंगा नदीको उद्‍गम), केदारनाथ (भगवान शिवको ज्योतिर्लिंग) र बद्रीनाथ (भगवान विष्‍णुको विश्रामस्थल)लाई मिलाएर तयार गरिएको धार्मिक मार्ग हो। यस यात्राले न केवल धार्मिक र आध्यात्मिक तृप्ति प्रदान गर्छ, भारतका विभिन्‍न भौगोलिक र सांस्कृतिक विविधता अनुभव गर्न पनि मद्दत पुर्‍याउँछ।

धार्मिक ग्रन्थ ‘शिव पुराण’ मा भनिएको छ- ‘जसले केदारनाथमा पूजा गरी गंगाजल ग्रहण गर्छ, उसले पुनर्जन्म लिनुपर्दैन।’ सोही आधारमा चारधाम यात्रालाई आत्ममोक्ष प्राप्त गर्ने मार्गका रूपमा लिइन्छ।

स्वास्थ्य र सुरक्षा चेतावनी

उत्तराखण्ड पर्यटन बोर्डले मौसमको अवस्था, स्वास्थ्यसम्बन्धी सतर्कता र सुरक्षा संयन्त्रको पालना गर्न तीर्थयात्रीहरूलाई आग्रह गरेको छ। यात्राका क्रममा निम्‍न कुराहरूमा विशेष ध्यान दिन सल्लाह दिइएको छ।

 अनलाइन वा अफलाइन अनिवार्य रजिस्ट्रेसन

 वैध परिचयपत्र, स्वास्थ्यसम्बन्धी औषधि र न्यानो कपडा साथमा राख्‍नुपर्ने

 छाता वा रेनकोट अनिवार्य साथमा बोक्नुपर्ने

 उच्च हिमाली क्षेत्रमा शारीरिक तयारी गरी यात्रा गर्नुपर्ने

 भूकम्प र पहिरोको सम्भावना भएका क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्ने

चारधाम यात्रा केवल एक धार्मिक अनुष्‍ठान होइन, यसले सांस्कृतिक एकता, भौगोलिक सहिष्‍णुता र आध्यात्मिक उन्‍नतिमा पनि योगदान पुर्‍याउने विश्‍वास रहिआएकोछ। नेपालबाट समेत हरेक वर्ष हजारौं श्रद्धालु सहभागी हुने यो यात्रा यस वर्ष पनि उत्तिकै उत्साह र आस्थाका साथ शुरु भएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours