२२ चैत, काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८०/८१ मा आर्जन गरेको कूल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिव ५ अर्ब ३४ करोड मुनाफा वितरण गरेको छ । जसअनुसार, कोषका सञ्चयकर्ताहरूको खातामा करिव ५ अर्ब २७ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताहरूको खातामा करिव ६ करोड ४३ लाख मुनाफा जम्मा गरिएको छ ।
कोष सञ्चालक समितिको यही चैत १७ गते बसेको बैठकले कोषको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको शुरू मौज्दात रकममा १.१० प्रतिशतका दरले हुने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरेको हो ।
कोषले प्रत्येक आर्थिक वर्षमा आर्जन गरेको कूल मुनाफाकोे ९२ प्रतिशत रकम सञ्चयकर्ताका लागि मुनाफा र कल्याणकारी प्रयोजनका लागि छुट्याई वितरण गर्ने गरेको छ भने बाँकी रकम विभिन्न जगेडा कोषमा राख्ने गरिएको छ ।
कोषले कर्ताहरूलाई चालू आर्थिक वर्षमा सञ्चित रकममा ५.५० प्रतिशतका दरले व्याज प्रदान गरेको छ भने सञ्चित रकमको सुंरक्षणमा कर्ताहरूले कोषबाट ६.६० प्रतिशत ब्याजमा सञ्चित रकमको ९० प्रतिशतसम्म विशेष सापटी पाउने गरेको कोषले जनाएको छ ।
यस परिप्रेक्ष्यमा कोषबाट कर्ताहरूले पाउने ५.५० प्रतिशत ब्याजदरमा मुनाफा १.१० प्रतिशत समेत जोड्दा जम्मा ६.६० प्रतिशत हुने र विशेष सापटीको ब्याजदर ६.६० प्रतिशत मात्र भएकाले कर्ताहरूले प्राप्त गर्ने प्रतिफल र तिर्नुपर्ने ब्याज समान रहन गएको छ ।
यसैगरी, हाल अर्थतन्त्रमा देखिएको शिथिलताको अवस्थामा समेत कर्ताहरूलाई सञ्चित रकममा ब्याज र मुनाफा समेत गरी वार्षिक ६.६० प्रतिशतका दरले प्रतिफल प्रदान गर्न सकिएको छ ।
कोषले कर्ताहरूको सेवाकालको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विगतदेखि नै विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी र जग्गा खरिद सापटी समेत उपलब्ध गराउँदै आएको छ ।
साथै, सञ्चयकर्ताले छुट्टै योगदान गर्नु नपर्ने गरी कोषले आफ्नै स्रोतबाट सञ्चयकर्ता दम्पत्तीलाई स्वास्थ्य उपचार सोधभर्ना सुविधा उपलब्ध गराउँदै आएको छ भने काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदान लगायतका सामाजिक सुविधाहरू समेत प्रदान गर्दै आएको छ ।
यस अन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ मा सुत्केरी तथा शिशु स्याहार सुविधा वापत १९ हजार ५२५ जना सञ्चयकर्तालाई करिव १४ करोड ६५ लाख, काजकिरिया अनुदान वापत ७०६ जनालाई करिव २ करोड ८२ लाख, दुर्घटना क्षतिपूर्ति वापत १०७ जनालाई करिव २ करोड १४ लाख, स्वास्थ्य उपचार सोधभर्ना वापत ५ हजार ७३६ जनालाई ३४ करोड ६५ लाख र विशेष आर्थिक सुविधा वापत निजामतीतर्फका ४७ जना सञ्चयकर्तालाई करिव ७० लाख प्रदान गरिएको छ ।
हाल कर्मचारी सञ्चय कोषमा ५ लाख ७५ हजारको संख्यामा सञ्चयकर्ता र ८० हजार ४०० को संख्यामा निवृत्तभरण कोषका योगदानकर्ता रहेका छन् ।


+ There are no comments
Add yours