ट्रम्पले सत्ता सम्हालेपछि अमेरिकाबाट २० नेपाली डिपोर्ट

३० माघ, काठमाडौं । पछिल्लो २३ दिनको अवधिमा अमेरिकाले २० नेपालीलाई फर्काइदिएको छ ।

डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेको दिन २० जनवरी (माघ ७ गते) देखि फेब्रुअरी ११ (माघ २९ गते)को बीचमा २० जना नेपालीहरु डिपोर्ट भएको अध्यागमन कार्यालयको तथ्यांक छ ।

ट्रम्पले सत्ता सम्हालेकै दिन अवैध आप्रवासीहरुलाई स्वदेश फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा १ हजार ३६५ जना नेपालीहरु अवैध रुपमा अमेरिकामा बस्दै आएको विवरण सार्वजनिक भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकी प्रवक्ता सिता परियारका अनुसार २० जनवरीदेखि ११ फेब्रुअरीको बीचमा १ महिला र १९ पुरुष गरी जम्मा २० जना नेपालीहरुलाई अमेरिकाले स्वदेश फर्काइसकेको छ ।

उनका अनुसार अमेरिकाको अध्यागमन कार्यालयले पठाएको पत्रमा ‘विना भिसा’ यात्रा गरेको र ‘गलत नियत’का साथ बसोबास गरेकाले उनीहरुलाई फर्काइएको व्यहोरा उल्लेख छ ।

ट्रम्पले आप्रवासीहरुमाथि कडाइ गर्ने नीति लिएका छन् । सोही नीति अनुसार अमेरिकाले १४ लाख आप्रवासीलाई देश निकाला गर्ने छ । अहिले विभिन्न देशका नागरिकहरुलाई विमान नै चढाएर फर्काइरहेको छ । भारत, मेक्सिको लगायत देशका नागरिकहरुलाई हत्कडीसमेत लगाएर फर्काइएका समाचार सार्वजनिक भएका थिए ।

तर अहिलेसम्म नेपालीहरुलाई फर्काउने क्रममा अमानवीय व्यवहार भएको जानकारी नभएको अध्यागमन कार्यालयका अधिकारीहरु बताउँछन् । ‘अहिलेसम्म २० जना नेपालीहरुलाई अमेरिकाले फर्काएको छ र उनीहरु सामान्य तरिकाले, नियमित उडानका एयरलाइन्समार्फत् आएका छन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकी प्रवक्ता परियारले भनिन् ।

उनका अनुसार अहिले अमेरिकाबाट नेपालीहरु फर्किने क्रम विगतको तुलनामा बढेको छ । तर त्यसको कारण भने स्पष्ट नभइसकेको उनी बताउँछिन् ।

अध्यागमन कार्यालयको रेकर्डमा डिपोर्ट भएका सबैभन्दा धेरै ६ जना नेपाली फेब्रुअरी ८ अर्थात् माघ २६ गते काठमाडौं ओर्लिएका छन् । यसैगरी फेब्रुअरी ६ मा २ जना तथा फेब्रुअरी ५ र १ मा ३/३ जना नेपाली स्वदेश फर्किएका छन् ।

संगठित मानव तस्करको आडमा नेपालीहरु अवैध बाटोबाट अमेरिका जाने गरेका छन् । तर अवैध रुपमा अमेरिका पुग्ने नेपालीहरुको नेपालमा रेकर्ड छैन ।

अमेरिकाबाट डिपोर्ट हुने नेपालीको रेकर्ड भने अध्यागमन कार्यालयले राख्ने गरेको छ । ठगीमा परेकाहरुमध्येबाट उजुरी परेमा त्यस्ता उजुरीको आधारमा मानव बेचबेखिन अनुसन्धान ब्युरोले पनि रेकर्ड राख्ने गरेको छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरुका अनुसार पछिल्लो केही दिनयता अमेरिकाबाट फर्किने नेपालीहरुको संख्या बढेको छ । तर आप्रवासीविरुद्ध ट्रम्प प्रशासनको कडा नीतिकै कारण नेपालीहरु फर्किने क्रम बढेको हो या त्यसमा अन्य कुनै कारण छ भन्ने नखुलेको उनीहरु बताउँछन् ।

अध्यागमन कार्यालयका एक कर्मचारीले भने, ‘अवैध रुपमा अमेरिका पुगेका नेपालीहरु पहिले पनि फर्काइने गरेका हुन् तर अहिले भने त्यो क्रम बढेको देखिन्छ तर ठ्याक्कै कारण थाहा हुन सकेको छैन ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours