Advertisement

फर्किएन मालबाहक रेल, विराटनगरका उद्योगीहरु निराश

0 19

Advertisement

२३ फागुन, काठमाडौं । भारतको बथनाहादेखि विराटनगर–१८ बुधनगरसम्म मालवाहक रेल सेवाले निरन्तरता पाउन नसकेपछि स्थानीय व्यापारीहरु निराश भएका छन्।

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि गत जेठ १८ मा एक पटक विराटनगर आइपुगेको कार्गो’ रेल सेवा पुनः फर्किएन।

गत जेठ १८ गते बथनाहादेखि विराटनगरस्थित एकीकृत भन्सार जाँच बिन्दु (आइसिपी) मा निर्माण भएको रेल्वे कस्टम यार्डसम्म आठ किलोमिटर दूरीको रेल चलेपछि धेरैमा उत्साह छाएको थियो।

भारतबाट औद्योगिक कच्चा पदार्थ बोकेको मालवाहक रेल विराटनगर आएपछि उत्साहित बनेका नेपाली उद्योगीहरू अहिले निराश छन्। त्यसबेला आरती स्ट्रिप्सको औद्योगिक कच्चा पदार्थ झारेर जेठ १९ गते भारत फर्किएको मालवाहक रेल फेरि फर्किएर नआएपछि उद्योगीमा निराशा छाएको हो।

‘आयातको लागत न्युनिकरण हुने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको नेपाल–भारत कार्गो रेल अहिले अलपत्र बनेको छ। नेपालले भारतसँग गरेको रुट सम्झौता बमोजिम सिमित मालसामान मात्र आयात गर्न पाएपछि रेल सञ्चालन अनिश्चित बनेको विराटनगरका उद्योगीहरूले बताएका छन्,’ उद्योगी पवन सारडाले भने।

सरकारले सबै प्रकारका तयारी मालसामान तथा औद्योगिक कच्चा पदार्थ आयातको अनुमति नदिएपछि कार्गोरेल पुनः सञ्चालनको सम्भावना घट्दै गएको छ। रेल सञ्चालनमा आउनुअघि दुवै देशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले सन्धि सम्झौतामा हस्ताक्षर गरेका थिए।

सन्धिमा कोलकत्ता बन्दरगाहबाट विराटनगर भन्सारसम्म रासायनिक मल, पत्थर तथा कोइला, क्लिंकर र सिमेन्ट मात्र आयात गर्न पाउने विषय उल्लेख छ। नजिकको बन्दरगाहबाट सीमित मालवस्तु मात्र आयात गर्न दिने सरकारको त्रुटिपूर्ण सम्झौताकै कारण ‘मालवाहक रेल पुनः सञ्चालनमा आउन नसकेको उद्योगीहरू बताउँछन्।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले कार्गोरेल पुनः सञ्चालनका लागि कोलकत्ताबाट सबै प्रकारका मालवस्तु आयातको अनुमति दिनुपर्ने बताए।

कार्गो रेल सञ्चालनमा नआउनुको अर्को मुख्य कारण लोडिङ–अनलोडिङको लागत हो। विराटनगर भन्सारमा कार्गो व्यवस्थापनको जिम्मा पाएको ट्रान्स नेपालको लोडिङ–अनलोडिङ चार्ज भारतको तुलनामा निकै महँगो रहेको उद्योगीको गुनासो छ। अहिले उद्योगीहरूले भारतबाट आयातित सामान भारतीय भन्सारमै अनलोड गरेर स्थलमार्गबाट आयात गर्दै आएका छन्।

त्यसरी गरिएको आयात २०० रुपैयाँ प्रतिमेट्रिक टनले सस्तो परिरहेको उनीहरूको तर्क छ। यता बथनाहा–विराटनगर कार्गोरेल पुनः सञ्चालनको विषयमा भने आवश्यक पहल भइरहेको विराटनगर भन्सार कार्यालय जनाएको छ।

कोलकत्ता बन्दरगाहबाट सबै प्रकारका मालसामान आयात गर्न पाउने व्यवस्था मिलाउन सरोकारवाला मन्त्रालयले भारतीय पक्षसँग समन्वय गरिरहेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले बताए।

भारतले पछिल्लो समय बिशाखापटनम बन्दरगाहलाई विशेष महत्त्व दिएर कार्गोरेल सञ्चालन गरिरहेको छ। नेपालले पनि विशाखापटनम बन्दरगाह नै प्रयोग गरोस् भन्ने भारतको चाहना छ। तर विशाखापटनमबाट गरिने आयात कोलकत्ताको तुलनामा लागतको दृष्टिकोणले निकै खर्चिलो पर्ने भएकाले उद्योगीहरू त्यसका लागि तयार नदेखिएका हुन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.