चिया पिउनुको फाइदा, सेतो कि कालो चिया ?
१२ फागुन, काठमाडाैं । वैज्ञानिक भाषा अनुसार क्यामेलिया साइनेन्सिस प्रजातिको बोटका प्रशोधित पातहरू दूध वा तातोपानीमा मिसाइ बनाइने पेय पदार्थ नै चिया हो । चिया विश्वमा पानीपछि दोस्रो धेरै पिइने तरल पदार्थ हो । प्रायजसो नेपालीले हरेक मौसममा चिया पिउने गर्दछन् । नेपालीहरूका लागि चिया दैनिक जीवनशैली जत्तिकै बनेको छ ।
चिया पिउनुको फाइदा
चियाले शरीरको आलस्यता भगाई मानिसलाई स्फूर्त राख्दछ ।
नियमित ग्रिन टी पिउनाले मोटोपना कम भई क्यान्सरसँग लड्ने शरीरको क्षमतामा वृद्धि हुन्छ ।
अत्यधिक निन्द्रा लाग्ने मानिसले चिया पिउँदा निन्द्रा भगाउन मद्दत गर्छ ।
क्याफिन नभएको हर्बल चिया पिउनाले शरीरको प्रतिरक्षा शक्ति बढाउँछ ।
तलतल लाग्ने तथा भोक लागेमा समेत चिया उपयोगी हुन्छ ।
दूधको चिया पिउनाले मानसिक तनाव कम गरी मानिसलाई थकान कम गर्छ ।
क्याफिनेटेड तातो चियाले शरीरमा ग्लुकोमाको जोखिम कम गर्न मद्दत गर्छ ।
कालो रंगको चियाले उच्च रक्तचाप कम गरी सामान्य अवस्थामा फर्काउँछ ।
चिया सेतो पिउने कि कालो
यदि तपाईँलाई मधुमेह रोग छ, रगतमा ट्राइग्लाइसेराइडको मात्रा धेरै बढेको ९४०० भन्दा बढी नै० छ, शरीर मोटो छ भने चियामा चिनी नहालीकन पिउनुहोस् । तपाईँले हरियो चिया पिएको राम्रो ।
पेटको समस्या छ, पेट फुल्छ, पोल्छ, ग्यास्ट्रिक बढ्ने समस्या छ, डकार धेरै आउँछ, अमिल्युकी आउँछ भने चियामा दूध नहालेको राम्रो । यस्तो समस्या भएकाहरूले दूधविनाको कालो या हरियो चिया पिउँदा राम्रो हुन्छ ।
तौल घटाउने इच्छा छ भने दूध–चिनी नहालेको हरियो चिया दैनिक ४ कपसम्म पिउनुहोस् । यो भन्दा धेरै पिउँदा हानि पुग्न सक्छ, विचार पुर्याउनुहोला ।
तपाईँ स्वस्थ हुनुहुन्छ भने दैनिक २ कपसम्म दूध–चिनी हालेर भकभकी पकाएको नेपाली चिया आनन्दपूर्वक पिउन सक्नुहुन्छ । चियामा रहेको पौष्टिक तत्त्व नष्ट भयो भनी चिन्ता नगर्नुहोस्, चियाको स्वादमा रमाउनुहोस् ।