Advertisement

आज सोनाम ल्होछार, तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ ल्होछार मनाउँदै

0 22

Advertisement

अनुजा तामाङ

२७ माघ, काठमाडौं । आउनुहोस् सोनाम ल्होछारमा, यस वर्ष डुकको नयाँ वर्षका उपलक्ष्यमा हर्ष अनि शुभकामना साटासाट गरौँ ।

ल्होछार शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ । यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ ल्होछार मनाउँदछन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मूलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्दछन् ।

तामाङ समुदायको पृष्ठभूमि
तामाङ समुदायबारे लेखिएका विभिन्न पुस्तकहरू अनि शोधहरू अध्ययन गर्दा ‘ता’ भन्नाले घोडा अनि ‘माङ’ भन्नाले लडाकुहरू भन्ने बुझिन्छ । यस अर्थमा साहसीहरूको समुदाय तामाङहरू वास्तवमै आफ्नो साहस, वीरता अनि रण कौशलताका लागि नेपालमा मात्र नभई संसारभरि प्रचलित छन् ।

तामाङहरूलाई प्रकृति प्रेमी समूदायकारुपमा चिनिन्छ, विशेष गरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूल पूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समुदायमा आज छोरी चेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ सोनाम ल्होछार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरूले समेत शुभकामना सन्देश दिने चलन छ । ल्होछार मनाउने समुदायमा ‘ल्हो’ अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गोरु, बाघ, खरायो, डुक, सर्प, घोडा, बाख्रा/भेडा, बाँदर, भाले, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट सुरु हुने यी वर्षहरू जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ । वर्ष २०२४ चाहिँ डुक को वर्ष हो । बाह्र वर्गका वर्षहरूलाई बाह्र राशिका रूपमा पनि लिने गरिन्छ ।

नेपालमा ल्होछार मनाउने प्रचलन
नेपालमा ल्होछार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ, किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई विभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समुदायले चिनियाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्दछन् जसलाई ‘चन्द्र पात्रो’ भनिन्छ । बौद्ध धर्म अनुसार तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङहरूका अलावा ल्होछार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् ।

३ प्रकारका ल्होछारहरू
गुरुङले मनाउने ल्होछारलाई तोला ल्होछार ,तामाङ लगायतका जातिले मनाउनेलाई सोनाम ल्होछार ,शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ ।

विश्वव्यापी मनाइने सोनाम ग्याल्पो ल्होछार

सोनाम ल्होछार पर्व तामाङ जातीहरू पुगेका नेपाल सहितका अन्य मुलुकहरू सिङ्घापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइँदै आएको छ । आजको दिन यी देशहरूका अधिकांश वौद्धविहारहरु रङ्गिन र उल्लासमय हुन्छन्, रङ्गिन सजावटका ध्वजा पताका अनि पुष्पद्वारलगायत अन्य मनमोहक सजावटले आज वौद्धविहार बडो गज्जब देखिन्छ । मुख्यतया डाँडाकाँडामा भएका नेपाली वाैद्धविहारहरुमा गरिएको यस्तो सजावटले परैबाट आँखा तान्दछ, असीम आनन्दको अनुभूति हुन्छ ।

आज माघ शुक्ल प्रतिपदा भएकाले यस संवत् अनुरूप भने सोनाम ल्होछार  हो, संवतले जेसुकै भनोस् शुभकामना अनि रौनकको यस ल्होछार महिनाभरि नै सबैलाई स्वागत छ ।

सोनाम ल्होछारका अवसरमा घर बस्तीहरू सफा गरी बुद्धका चित्रहरू अङ्कित ध्वजापताकाहरू टाँगेर बुद्धको पूजा अर्चना गरिन्छ । कतिपय ठाउँमा जात अनुसारका गाउँका लामा र मुखियाको उपस्थितमा सबै जना एकै ठाउँमा भेला भई नाचगान रमाइलो पनि गरिन्छ । यसरी गाइने अनि नाचिने गीतहरूलाई ‘तामाङ सेलो’ भनिन्छ, सुस्तरी तर बडो मधुर रूपमा गाइने यस्ता सेलोहरूमा डाँडा पाखा, कन्दरा अनि दैनिक जीवन भोगाई लगायत माया प्रेमका भावनाहरू पनि समावेश हुन्छ । डम्फु चाहिँ यस समुदायको हस्ताक्षर बाजा हो । डम्फु अनि सेलोको सुमधुर मिश्रण मनमोहक हुन्छ । धेरैजसो यस्ता सामुदायिक कार्यक्रमहरू खुला आकाशमुनि गरिन्छ, परम्परागत पहिरनमा सजिएका तामाङ समुदायका व्यक्तिहरू लगायत अन्य सबै समुदाय अनि सबै धर्मका व्यक्तिहरूलाई यस समुदायले खुल्ला हृदयले स्वागत गर्दछन् ।

नकारात्मक तत्त्वहरूलाई हटाउन कालागि, आशा जगाउने सकारात्मक तत्त्वहरू अनि शक्तिहरूलाई डाँक्न कालागि आज विभिन्न तान्त्रिक विधि अनि मुखौटा लगाएर नृत्य पनि गरिन्छ ।

लामाहरूसँग आशिष् लिएर आजको दिन वर्षभरिकालागि शुभ साइतको अपेक्षा राखिन्छ, काठमाण्डौमा भने आजको दिन टुँडिखेलबाट र्‍याली निकालिन्छ । यसरी विभिन्न कार्यक्रम लगायत मेलाहरू आयोजना गरिँदै अनि शुभकामनाहरू आदान प्रदान गर्दै तामाङ समुदायले सैयौं वर्ष पुरानो आफ्नो संस्कार अनि पहिचानलाई पुस्तौँ पुस्तासम्म सफलतापूर्वक कायम राख्दै आएका छन् । सुँगुर, हाँस, कुखुरा, खसी लगायतका विभिन्न परिकारका मासुहरू तैयार पारिने यस विशेष उत्सवमा विभिन्न गुलिया मिठाईहरू बनाएर आजको दिन घरघरमा भोज गर्ने अनि आफन्त भेट्ने चलन रहेको छ । सामुदायिक रूपमा पनि समुदायका सबै जना एकैठाँउमा भेला भएर चाडबाड मनाउने अनि सरल अनि सभ्य रूपमा मिलनसार प्रवृत्तिको संस्कार अनि सन्देश दिने तामाङ समुदायहरू वास्तवमै एउटा अनुकरणीय समुदाय हो ।

सोनाम ल्होछारको शुभकामना ! असल कामनाहरू अनि आशाहरूले सबैलाई पछ्याओस्, चन्द्रमा दाहिने हुन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.