Advertisement

आधाले घट्यो खाद्यान्न आयात

0 89

Advertisement

२४ कात्तिक, काठमाडौँ । प्रत्येक वर्ष आयात बढिरहेका बेला चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भने खाद्यान्न (चामल, धान, मकै, गहुँ, कोदो, जौ) आयात झन्डै ५० प्रतिशतले कमी आएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न आयात ४७ दशमलव ७ प्रतिशतले घटेको हो ।

चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा नौ अर्ब २६ करोड १७ लाख ८३ हजार रुपियाँको १९ करोड ८१ लाख १० हजार केजी खाद्यान्न आयात भएको विभागको तथ्याङ्क छ । गत वर्ष सो अवधिमा १७ अर्ब ७० करोड ८४ लाख ५२ हजार रुपियाँको ४६ करोड ४९ लाख छ हजार केजी खाद्यान्न आयात गरेको थियो ।

चालू आर्थिक वर्षको सो अवधिमा कुल वस्तु आयातमा १६ दशमलव २० प्रतिशतले कमी आएको छ । समग्र वस्तुको आयात घट्दा खाद्यान्न आयातमा उल्लेख कमी आएको हो । चालू खाता घाटा, शोधानान्तर घाटा र विदेशी मुद्रा सञ्चितिमा परेको दबाबका कारण सरकारले केही वस्तु आयातमा कडाइ गरेकाले समग्र आयातमा कमी आएको हो ।

अघिल्लो वर्षको सो अवधिको तुलनामा यस वर्षको साउनदेखि असोजसम्ममा चामल, मकै, गहुँ र धानको आयातमा कमी आएको विभागको तथ्याङ्क छ । गत वर्षको तुलनामा यो वर्ष गहुँ आयात ९६ प्रतिशतले कमी आएको छ भने मकै ४० प्रतिशत, धान ८७ प्रतिशत र चामल ३२ प्रतिशतले आयात घटेको छ । विभागका अनुसार सो तीन महिनाको अवधिमा चार अर्ब ९३ करोड ३२ लाख ५२ हजार रुपियाँ बराबरको चामल आयात भएको छ । अघिल्लो वर्ष सोही अवधिमा सात अर्ब २१ करोड ९८ लाख रुपियाँको चामल आयात भएको थियो ।

यस्तै तीन महिनामा चार करोड ८५ लाख २१ हजार रुपियाँको गहुँ आयात भएको छ । गत वर्ष सोही अवधिमा गत एक अर्ब ३१ करोड १६ लाख रुपियाँको गहुँ आयात भएको थियो ।

अघिल्लो वर्षको साउनदेखि असोजसम्ममा पाँच अर्ब ६४ करोड २५ लाख रुपियाँको मकै र ३८ करोड ७५ लाख ७२ हजार रुपियाँ बराबरको धान आयात भएको थियो । यस वर्षको सोही अवधिमा मकै तीन अर्ब ४० करोड ११ लाख ५१ हजार रुपियाँ र दुई अर्ब ८८ करोड ९३ लाख रुपियाँको धान आयात भएको छ ।

यसैगरी चालू आर्थिक वर्षको पहिलो तीन महिनामा एक करोड १३ लाख ५३ हजार रुपियाँको तीन लाख ३८ हजार केजी कोदो र १८ करोड ८७ लाख २२ हजार रुपियाँको ५५ लाख २८ हजार केजी अन्य खाद्यान्न आयात भएको छ । सो अवधिमा ६५ लाख रुपियाँको जौ आयात भएको विभागको तथ्याङ्क छ । पोल्ट्री फार्मको दानाका लागि मकै बढी आयात हुने गर्छ ।

भारतले निर्यातमा प्रतिबन्ध गरेसँगै गहुँको आयातमा कमी भएको हो । रुस र युक्रेन युद्धका कारण देखाउँदै भारतले गहुुँको निर्यातमा कडाइ गरेसँगै आयातमा उल्लेख्य कमी भएको हो । भारत सरकारले गत जेठ महिनादेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.