Advertisement

काठमाडौं उपत्यकामा कांग्रेसको अग्रताः चार नगरपालिकामा कांग्रेस,दुईमा एमाले र एकमा राप्रपा

0 159

Advertisement

०५ जेठ, काठमाडाैं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौंको चार वटा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। बुधबार सकिएको मतगणनासम्म राजधानीको गोकर्णेश्वर, तार्केश्वर, किर्तीपुर र दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरू नगर प्रमुखमा निर्वाचित भएका हुन्।

नेकपा एमालेले काठमाडौंको बूढानीलकण्ठ र टोखा नगरपालिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले शंखरापुर नगरपालिका नगर प्रमुखमा विजयी भएका छन्। यसपटक बूढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकामा फेरि नेकपा एमालेका उम्मेदवारहरू नगर प्रमुखमा विजयी भएका छन्।

बूढानीलकण्ठ नगरपालिका नगर प्रमुखमा नेकपा एमालेका मिठाराम अधिकारी र उप–प्रमुखमा अनिता लामा निर्वाचित भएका हुन्। १४ हजार २५० मतसहित अधिकारी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ मत ल्याएका थिए। त्यस्तै उपप्रमुखमा निर्वाचित नेकपा एमालेकी लामाले १४ हजार ३१४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९७२ मत प्राप्त गरेकी थिइन्।

१३ वटा वडा रहेको बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत वडा नं. १ मा सुरेन्द्र लामा, वडा नं. २ मा राजेन्द्र श्रेष्ठ, वडा नं. ३ मा आकाश धिताल, वडा नं. ४ मा श्रीराम केसी, वडा नं. ५ मा कृष्ण शाह ठकुरी, वडा नं. ६ मा रवी खड्का, वडा नं. ७ मा बसनारायण महर्जन, वडा नं.८ मा सुमन तामाङ, वडा नं. ९ मा सुमित्रा त्रिपाठी पाण्डे, वडा नं.१० मा नवराज भट्टराई, वडा नं.११ मा राजु अधिकारी, वडा नं. १२ शम्भुप्रसाद भट्टराई र वडा नं. १३ मा टीकानारायण श्रेष्ठ वडाध्यक्षमा विजयी भएका थिए।

टोखा नगरपालिका नगर प्रमुखमा १० हजार ३ सय ४० मतसहित नेकपा एमालेका प्रकाश अधिकारी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रजनी थापाले १० हजार १६६ मत प्राप्त गरेकी थिइन्।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका मुरारी तामाङले १० हजार १३२ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी ज्ञानमाया डंगोलले नौ हजार ७१८ मत ल्याएका थिए। ११ वटा वडा रहेको टोखा नगरपालिकाअन्तर्गत वडा नं. १ मा रमेशकुमार लामिछाने, वडा नं. २ मा धमेन्द्र श्रेष्ठ, वडा नं. ३ मा रमेश डंगोल, वडा नं. ४ मा धमेन्द्र श्रेष्ठ, वडा नं.५ मदन गुरुङ, वडा नं. ६ मा शान्ता खनाल, वडा नं. ७ मा नरोतम राना, वडा नं. ८ मा रमेश खत्री, वडा नं. ९ मा रामभक्त घिमिरे, वडा नं.१० मा मचाकाजी महर्जन र वडा नं. ११ मा घनश्याम खड्का वडाध्यक्षमा निर्वाचित भएका थिए।

यसपटक गोकर्णेश्वर नगरपालिकामा फेरि नेपाली कांग्रेस विजयी भएको हो। बुधबार सकिएको मतगणनामा गोकर्णेश्वर नगरपालिका नगर प्रमुखमा नेपाली कांग्रेसका दीपककुमार रिसाल र उपप्रमुखमा नेकपा एमालेकी सान्नानी लामा निर्वाचित भएका हुन्।

९ हजार ६ सय ९२ मत ल्याएर कांग्रेसका रिसाल नगर प्रमुखमा विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्धव बिष्टले ८ हजार ५ सय ४ मत प्राप्त गरेका थिए। त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी सान्नानी लामाले आठ हजार ८०४ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शान्ति नेपालले आठ हजार ६७१ मत प्राप्त गरेकी थिइन्।

नौ वटा वडा रहेको गोकर्णेश्वर नगरपालिकाअन्तर्गत वडा नं. १ मा द्वरिका श्रेष्ठ, वडा नं. २ मा मधु लामा, वडा नं.३ मा मुरारीप्रसाद कुइकेल, वडा नं. ४ मा जयराम महत, वडा नं. ५ मा नारायणबहादुर सुवेदी, वडा नं. ६ मा नवराज लामा, वडा नं. ७ मा केशव गुरुङ, वडा नं.८ मा नन्दलाल श्रेष्ठ र वडा नं. ९ मा राजीव थापा वडाध्यक्षमा निर्वाचित भएका थिए।

यसअघि शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापित, तार्केश्वर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णहरि महर्जन, किर्तीपुर नगरपालिकामा नेपाली कांग्रेसका राजकुमार नकर्मी र दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित भइसकेका छन्। त्यस्तै चन्द्रागिरि नगरपालिकामा नेपाली कांग्रेसका घनश्याम गिरी, नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत र कागेश्वरी– मनोहरा नगरपालिकामा नेपाली कांग्रेसका उपेन्द्र कार्कीले अग्रता लिइरहेका छन्।

१५ वटा वडा रहेको चन्द्रागिरि नगरपालिकामा नेपाली कांग्रेसका घनश्याम गिरीले १३ हजार १०८ मत ल्याइरहँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेको उत्तमबहादुर राउतले १० हजार ९ सय ११ पाएका छन्। चन्द्रागिरि नगरपालिकाअन्तर्गत हाल वडा नं. १२, १३ र १४ को मतगणना भइरहेको छ भने तीन हजार मत खसेको वडा नं. १५ को मतगणना सुरू हुन बाँकी छ। कागेश्वरी– मनोहरा नगरपालिकामा हाल वडा नं. ४ र ६ को मतगणना भइरहेको छ भने २४ सय मत खसेको वडा नं.५ मा मतगणना सुरू हुन बाँकी छ। नौ वटा वडा रहेको नागार्जुन नगरपालिकामा वडा नं.४ र ६ को मतगणना भइरहेको छ भने ३२ सय मत खसेको वडा नं. ५ को मतगणना सुरु हुन बाँकी रहेको छ।

मतगणना सुरू भएको पाँच दिन भइसक्दा काठमाडौं महानगरपालिकामा हालसम्म ३७ हजार मतगणना भएको छ। पछिल्लो विवरणअनुसार काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १३ हजार ७६१, नेकपा एमालेका केशव स्थापितले सात हजार ३७७ र नेपाली कांग्रेसकी सिर्जना सिंहले ६ हजार ५ सय ३५ मत प्राप्त गरेका छन्। काठमाडौं महानगरपालिकाअन्तर्गत हाल वडा नं. ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ।

त्यस्तै ललितपुर महानगरपालिका मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता लिइरहेका छन्। उनले १३ हजार ६ सय ४६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले सात हजार ५१ मत पाएका छन्। पाँच वटा पालिका रहेको ललितपुर महानगरपालिकाअन्तर्गत गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा मतगणना जारी रहेको छ।

गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका गजेन्द्र महर्जनले २५ सय मतले अग्रता लिइरहेका छन्। १४ वटा वडा रहेको गोदावरी नगरपालिकामा हाल वडा नं. १३ को मतगणना भइरहेको छ भने वडा नं. १४ को मतगणना सुरू हुन बाँकी रहेको छ। यसअघि ललितपुर महानगरपालिकाअन्तर्गत महांकाल गाउँपालिका नेपाली कांग्रेसका गणेश केसी, बाग्मती गाउँपालिका कांग्रेसका वीरबहादुर लोप्चन र कोन्ज्योसोम गाउँपालिका नेकपा एमालेका कृष्णमान लामा निर्वाचित भइरहेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.