Advertisement

मुलुक निर्वाचनमय : निर्वाचन आयोग

0 256

Advertisement

०५ चैत, काठमाडौँ । निर्वाचन आयोग र राजनीतिक दलका गतिविधि स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको निर्वाचन आयोगको भनाई छ ।

राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तरक्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन र तालिम प्रशिक्षण करिब पूरा गरेको जनाएको छ । निर्वाचनसम्बन्धी गतिविधि र कार्यक्रम अब केन्द्रबाट प्रदेश हुँदै स्थानीय तहतर्फ उन्मुख भइसकेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

राजनीतिक दलहरू उम्मेदवार सिफारिशको अन्तिम तयारीमा जुटेका छन् । केही दलले केही ठाउँमा उम्मेदवारबारे निर्णय गरिसकेका छन् भने केही दलले उम्मेदवार तय गर्न आन्तरिक छलफलमा व्यस्त छन् । आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचत अधिकृत र जिल्ला निर्वाचन अधिकारीका लागि मुलुकका ८ स्थानमा निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रशिक्षक प्रशिक्षण सम्पन्न गरिसकेको छ ।

आयोगले यसअघि विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा गत चैत ३० गते र जनकपुर, हेटौडा, बुटवल र धनगढीमा वैशाख २ गते प्रशिक्षण सम्पन्न गरिसकेको छ । राजनीतिक दलले पनि यसबीचमा स्थानीय तहमा भेला र प्रशिक्षणका अधिकांश कार्यक्रम पूरा गरिसकेका छन् ।

वैशाख ३० गते शुक्रबार देशका सबै स्थानीय तहमा एकै चरणमा हुने निर्वाचनका लागि निर्वाचन अधिकृतलाई गत चैत २९ गतेदेखि लागू हुनेगरी आयोगले नियुक्ति दिइसकेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । निर्वाचन सम्पन्न गर्न आयोगले आफ्ना सबै संयन्त्र परिचालन गरिसकेको उहाँको भनाई छ ।

निर्वाचन अधिकृतहरु कार्यक्षेत्रतर्फ प्रस्थान गरी पूर्वतयारीको काममा जुट्ने कार्य शुरु भइसकेको छ । दुर्गम जिल्लामा खटिएका कतिपय अधिकृत केन्द्रबाट त्यसतर्फ प्रस्थान गरिसकेको आयोगले जनाएको छ । तालिम प्रशिक्षण लिएका निर्वाचन अधिकृतले मुलुकका सबै स्थानीय तहमा वैशाख ८ गते विधिवतरुपमा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याउने कार्यक्रम रहेको छ ।

स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयमा कम्तिमा नौ जनाका दरले मुलुकभर करिब २ लाखको संख्यामा कर्मचारी खटिएका छन् । आयोग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको समन्वय र सहकार्यमा यसबीचमा सञ्चारकर्मीका लागि निर्वाचन आचारसंहितासम्वन्धी प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न भएका छन् । निर्वाचन सफल बनाउन मिडियाको भूमिका महत्वपूर्ण रहने आयोगको बुझाई छ ।

मतदाता शिक्षा

परम्परागत पद्धति खर्चिलो र प्रभावकारी नभएको निष्कर्षसहित यस पटक आयोगले मतदाता शिक्षाका लागि विद्युतीय सञ्चार माध्यम र सामाजिक सञ्जालको अधिकतम प्रयोगमा जोड दिएको छ । त्यसका लागि आयोगले वेभसाइटलगायतका अन्य सामाजिक सञ्जालको प्रयोग र इ–बुलेटिन प्रकाशन थालेको छ ।

विभिन्न भाषाभाषीमा मतदाता शिक्षासम्बन्धी सूचनामूलक कार्यक्रम सञ्चालन तथा जिल्ला निर्वाचन कार्यालयले स्थानीय एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनबाट पनि निर्वाचन शिक्षाको आवश्यक प्रचार प्रसार गरिरहेको छ ।

आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन तथा बदर मत प्रतिशत घटाउन मतदानस्थलमा यस पटक दुई दिनअघि मतदाता शिक्षा सूचना केन्द्र स्थापना गरी स्वयम्सेविकामार्फत मतदान गर्ने तरिका सिकाउने व्यवस्था मिलाएको जनाएको छ ।

सअघि २०७५ को स्थानीय तह निर्वाचनमा मतदाता शिक्षाका लागि ८० करोड ६० लाख रुपियाँ खर्च व्यवस्थापन गरिएको भएपनि यस वर्ष मतदाता शिक्षाका लागि बजेट सिलिङ घटेको आयोगको भनाई छ । यस वर्ष २४ करोड १७ लाख रुपियाँ मात्र मतदाता शिक्षाका लागि बजेट व्यवस्था गरिएको आयोगका प्रवक्ता पौडेलले बताउनुभयो ।

विगतमा निर्वाचन शिक्षाका लागि गरिएका खर्चको तुलनामा कार्यक्रम प्रभावकारी नभएको ठहरसहित यस पटक आयोगले पर्चा, पम्प्लेट छपाई गरी निर्वाचन शिक्षा नगर्ने नीति लिएको हो । पर्चा, पम्प्लेटका कारण वातावरण दूषित हुनुका साथै शहरको शोभा समेत कुरुप बनेको आयोगको बुझाई छ । आचारसंहिताको परिधिभित्र रही मापदण्डविपरित झण्डा र पर्चा पम्प्लेट प्रयोग नगर्न नगराउन आयोगले दललाई भनेको छ ।

सामाजिक सञ्जाललगायत न्यू मिडिया प्रविधिको प्रयोग गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन आयोगले राजनीतिक दल र उम्मेदवारलगायत सबै सरोकारवाला पक्षलाई अनुरोध गर्दैआएको छ । आयोग स्वयम् पनि निर्वाचनको प्रचार प्रसार पत्रपत्रिका, सामाजिक सञ्जाल र रेडियो, टेलिभिजनका माध्यमद्वारा होस् भनेको छ ।

मनोनयनदर्ता प्रक्रिया

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको छ । विहान १० बजेदेखि ५ बजेसम्म दर्ता समय तय गरेको आयोगका प्रवक्ता पौडेलले बताउनुभयो । सोहीअनुसार दर्ता उम्मेदवारको सूची प्रकाशन वैशाख १२ गते साँझ ५ देखि ६ बजेसम्म हुने आयोगले जनाएको छ ।

त्यस्तै, उम्मेदवारको विरोधमा उजुरी दिने १३ गते विहान १० देखि साँझ ५ बजेसम्म, उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने वैशाख १४ र १५ गते तय भएको आयोगले जनाएको छ । सोहीअनुसार मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन वैशाख १५ गते साँझ ५ देखि ६ बजेसम्म समय निर्धारण भएको आयोगले जनाएको छ ।

सोहीअनुसार वैशाख १६ गते विहान १० देखि ५ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, वैशाख १६ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समयतालिका आयोगले जनाएको छ । आयोगका प्रवक्ता पौडेलकाअनुसार वैशाख १७ गते विहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र वैशाख ३० गते विहान ७ बजेदेखि ५ बजेसम्म मतदानको समय तय गरिएको छ । गोरखापत्रबाट



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.