Advertisement

सम्झौता सकिँदा सडक निर्माण आधा मात्रै

0 472

Advertisement

०६ भदाै,  पाँचथर । दुई वर्षअघिको साउन ३० गते जिल्लाका तीन मुख्य ग्रामीण सडक कालोपत्रको शिलान्यास हुँदा जिल्लावासीमा सडकका कारण भोग्नुपरेको सास्ती चाँडै अन्त्य होला भन्ने लागेको थियो ।

सङ्घीय संरचनाअनुसार पहिलोपटक प्रदेश सरकारले धमाधम आयोजना अगाडि बढाइरहेका कारण पूर्वाधारका अन्य आयोजना निर्माणसमेत सुरुआत हुने धेरैको अपेक्षा थियो । तामझामका साथ गरिएका शिलान्यास कार्यक्रममा बजेटको सुनिश्चितता भएकाले निर्माण व्यवसायीले छिटो काम सम्पन्न गरेर पुरस्कार लिनु भनिएको थियो । यसका लागि समुदायस्तरबाट पनि दबाव दिन सुझाव दिइयो ।

शिलान्यास भएका आयोजना पूरा गर्ने अवधि समाप्त भइसक्दा निर्माण पूरा हुने कुनै छाँटकाँट छैन । बरु सडकमा विगतमा जस्तो दुःख थियो, त्यो अहिलेसम्म हटेको छैन । समयमा गन्तव्यमा पुग्न नसक्दा यात्रुले हैरानी ब्यहोरिरहेका छन् भने बिरामी समयमा अस्पताल पुग्न सकिरहेका छैनन् । कृषि उपजले बजार पाउन सकेका छैनन् । खाद्यान्नको ढुवानी गर्न पनि समस्या परिरहेको छ ।

विसं २०७६ साउन ३० गते तामझामसहित कालोपत्रको शिलान्यास गरिएको जिल्लाको कुम्मायक गाउँपालिका जोड्ने सरखण्डे–यासोक सडकमा ना२ख ९२३६ नंको ट्रक फसेको दुई साता बित्यो । विस्तार गरिएको सडकको हिलो माटो र पानीको आहालमा फसेको ट्रक निकाल्न चालकले दुई दिनसम्म प्रयास गरे पनि सम्भव नभएपछि छाडेको स्थानीयवासी बताउँछन् । निर्माण सम्झौताअनुसार यो सडक गत असार ३० गते नै निर्माण सम्पन्न भइसक्नुपथ्र्यो । पूर्वाधार विकास कार्यालयले लामा÷च्याङमिला जेभी काठमाडौँलाई निर्माणको ठेक्का लगाइएको छ । यो सडक निर्माणको भौतिक प्रगति जम्मा ४५ प्रतिशतमा सीमित छ ।

स्थानीयवासी राजु खतिवडाका अनुसार निर्माण व्यवसायीले नियमित काम नगर्दा आयोजना निर्माणले गति लिन नसकेको हो । “१०÷१५ दिन काम गर्छन्, कहिले कोभिड आयो भन्छन्, कहिले बर्खा”, खतिवडाले भन्नुभयो, “समय घर्किँदा पनि काम नहुँदा हामीलाई दुःख त लागेको छ नै, त्यो भन्दा बढी सास्ती खेप्नुपरेको छ ।” विकासमा धेरै आयोजना एकैसाथ सुरुआत हुँदा उत्साहित बनेका स्थानीयवासीलाई समयमा निर्माण पूरा नहुने र पहिलेजस्तै दुःख भोग्नुपर्ने बाध्यताले सधैँ सताइरहेको छ ।

सरखण्डे–यासोक ११.३१० किलोमिटरको सडकले जिल्लाको कुम्मायक र तुम्बेवा गाउँपालिकालाई सदरमुकाम फिदिमसँग जोड्दछ । मुख्य सडक समयमा निर्माण सम्पन्न नहुँदा यासोक–फिदिम चल्ने सवारी साधन कुम्मायक–४ तिङदेन तथा कुम्मायक–१ फिक्कलबाट जोडिएका शाखा सडक हुँदै गुड्ने गरेका छन् । शाखा सडकसमेत निरन्तरको वर्षा र पर्याप्त मर्मतको अभावमा कठिन र जोखिमपूर्ण बनेका छन् ।

सवारी चालक लक्ष्मण घिमिरेका अनुसार ढुवानीका साधन हिलोमा फसेपछि सडक नसकुञ्जेल पर्खिनुको विकल्प हुँदैन । “गाडी फसेपछि १५ दिनसम्म कुरेर बस्नुपर्ने बाध्यता छ”, घिमिरेले भन्नुभयो, “सडक निर्माणको काम समयमा नभएपछि दुःख पाउने त हामीले हो ।” ग्रामीण सडक बर्खामा हिलाले अवरुद्ध हुने मात्रै होइन, हिउँद वा पानी नपरेको समयमा धुलोले हिँडिनसक्नु हुन्छन् ।

पूर्वाधार विकास कार्यालय पाँचथरका इञ्जीनियर टीकाराम लिम्बूका अनुसार विशेषत कोभिड–१९ सङ्क्रमणको महामारीका कारण निर्माण अवरुद्ध हुँदा आयोजना समयमा पूरा हुन नसेका हुन् । “हाम्रो कार्यालयबाट अगाडि बढाई म्याद सकिएका मुख्य तीन आयोजनाको म्याद छ महिना थप भएको छ”, लिम्बूले भन्नुभयो, “बर्खा भए पनि काम अगाडि बढाउन भनिरहेका छौँ ।” स्रोत सुनिश्चित भएको भनी बहुवर्षीय ठेक्का लागेको भए पनि आयोजनामा समयमा रकम निकासा नहुँदा ठेकेदारले विभिन्न बहाना बनाउन पाएका छन् ।

यता सबै सरकारी निकायले कोभिड–१९ को महामारीविरुद्धका कार्यमा ध्यान केन्द्रित गर्दा ठेकेदारलाई हाइसञ्चो भएको छ । विगतमा जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाको अगुवाइमा धेरै आयोजनामा निर्माणको अवस्थादेखि गुणस्तरसमेतका विषयमा अनुगमन, निरीक्षण तथा निर्देशन हुने गरेको थियो । कोभिड–१९ को महामारीपछि सबै निकाय त्यसतर्फ केन्द्रित हुँदा निर्माणका काम करिब ठप्प भएका छन् । सडक निर्माणले अपेक्षित गति नलिँदा सबैले सास्ती व्यहोर्नुपरेको र आफूहरुले निरन्तर दबाब सिर्जना गरिरहेको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङको भनाइ छ ।

सरखण्डे–यासोकसँगै शिलान्यास भएका सिवादोभान–लुम्फाबुङ सडकको भौतिक प्रगति ६५ प्रतिशत तथा फिदिम–फालोट सडकको फिदिम–सल्लेरी खण्डको भौतिक प्रगति ७० प्रतिशत रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । फिदिम–फालोट सडकको सल्लेरी–विहीदिन खण्ड कालोपत्र भई सहजै सवारी साधन सञ्चालन भइरहेका छन् ।

दुइतर्फ कालोपत्र भए पनि फिदिम–सल्लेरी खण्ड थपिएको म्यादभित्र समेत निर्माण पूरा हुन कठिन छ । यहाँ पहिरो झर्ने समस्याले पटक–पटक सडक अवरुद्ध भइरहेको छ । सवारी तथा मानवीय चाप निकै न्यून हुने सिवादोभान–लुम्फाबुङ सडक निर्माणले समेत अपेक्षित गति नलिएको स्थानीयवासीको भनाइ छ ।

सरखण्डे–यासोक ११.३१० किलोमिटरको सडक रु ५३ करोड ३३ लाख छ हजार ४८१ लागतमा लामा÷च्याङमिला जेभी काठमाडौँले निर्माण गरिरहेको छ । सिवादोभान–लुम्फाबुङ १३.९२१ किलोमिटरको सडक कान्छाराम÷याक्थुङहाङ जेभीले रु ७६ करोड २२ लाख ४५ हजार ५८३ लागत निर्माणको जिम्मा लिएको छ ।

यस्तै १०.११२ किलोमिटरको फिदिम–फालोट सडकको फिदिम–नाङ्गीन खण्ड निर्माणको जिम्मा कन्काइ पिएस जेभीले रु ५२ करोड ६७ लाख ३० हजार ८१३ लागतमा लिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । तीनवटै आयोजना निर्माण लम्बिँदा यी सडक हुँदै यात्रा गर्नुपर्ने सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.