Advertisement

प्रतिरक्षा र मदन भण्डारी विश्वविद्यालयको निर्माण प्रक्रिया तीव्र

0 395

Advertisement

०३ भदाै, काभ्रेपलाञ्चोक । राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको विषयमा नीति निर्माण एवं रणनीति तयार गर्न जनशक्ति उत्पादन गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्माण गरिने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।

त्यस्तै मदन भण्डारी विश्वविद्यालय निर्माणका लागि पनि जिल्लाको पाँचखाल र पनौतीमा आवश्यक प्रक्रिया सुरु गरिएको बताइएको छ । नेपाली सेनाका अनुसार पनौतीमा निर्माण हुन लागेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालन विधेयककको मस्यौदासमेत तयार भइसकेको छ । नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता सन्तोषबल्लभ पौड्यालले विश्विद्यालयको सङ्काय र अध्यापनको विषय छनोट गरी आवश्यक पाठ्यक्रम विकासका लागि प्रक्रियासमेत थालिएको बताउनुभएको छ । उहाँका अनुसार पाठ्यक्रम निर्माणका लागि चार विज्ञलाई छनोट गरिएको र बाँकी सात विज्ञ लिने प्रक्रियासमेत थालिएको छ ।

राष्ट्रिय सुरक्षासम्बद्ध सञ्जालको विकास गर्नुका साथै रणनीतिक संस्कार (स्ट्रयाटे«जी कल्चर) र उच्चस्तरीय नागरिक–सैनिक सम्बन्ध विस्तार गर्न सहयोग पु¥याउने महत्वकांक्षी योजनासहित विश्वविद्यालय स्थापना गर्न लागिएको हो । आर्थिक वर्ष २०८०/८१ भित्र विश्वविद्यालयका संरचना तयार गरी पहिलो चरणको तालिम सञ्चालन गर्ने गरी प्रक्रियागत कार्यलाई तीव्रता दिइएको जनाइएको छ । प्रवक्ता पौड्यालका अनुसार विश्वविद्यालयको आधारभूत साङ्गठनिक संरचना तयार गरी विस्तृत संरचनामा लागिएको छ ।

आव २०७६/७७ को नीति, कार्यक्रम तथा बजेटमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने घोषणा गरी वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए)सहितका प्रक्रिया अघि बढाइएको थियो । चालु आवमा रु ५८ करोड बजेट विनियोजन गरिएकामा यो वर्ष प्रतिष्ठान भवन र पुस्तकालय निर्माण गरिने पौड्यालले जानकारी दिनुभयो । उक्त विश्वविद्यालयको निर्माण सम्पन्न गर्न कूल रु सात अर्ब लाग्ने अनुमान गरिएको छ ।

यस्तै पाँचखालमा निर्माण हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) ‘ग्लोबल टेण्डर’ मार्फत गराइने प्रक्रिया थालिएको छ । ग्लोबल टेण्डरका लागि प्रक्रिया थालिएको विश्वविद्यालय पूर्वाधार निर्माण समितिले जनाएको छ । गत आर्थिक वर्षमा विनियोजित रु एक अर्ब २० करोडबाट पाँचखालमा निर्माण गरिने विश्वविद्यालयको डिपिआर तथा चित्लाङमा निर्माण सुरु गरिएको पूर्वाधार निर्माण भइरहेको छ । विश्वविद्यालयका लागि चालु आर्थिक वर्षमा रु एक अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ । यो बजेटको करिब १० प्रतिशत चित्लाङमा निर्माण हुने विश्वविद्यालयको एउटा इञ्जीनियरिङको शाखासमेतको हो ।

समितिका अनुसार विश्वविद्यालय अन्तर्राष्ट्रियस्तरको भएकाले डिपिआर नै ग्लोबल टेण्डरमार्फत गर्न लागिएको छ भने डिपिआरको लागत ठेकेदार कम्पनी आफैँले समितिसँग प्रस्ताव गर्नुपर्नेछ । काभ्रेपलाञ्चोकका सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले १० हजार रोपनीभन्दा बढी जमिनमा बहुवर्षीय योजनाअनुरुप निर्माण हुन लागेको विश्वविद्यालयको भौतिक संरचनासमेत अन्तर्राष्ट्रियस्तरको हुने बताउनभयो ।

“प्रतिरक्षा विश्वविद्यालय र मदन भण्डारी विश्वविद्यालय राष्ट्रिय गौरवका आयोजना हुन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार विश्वविद्यालयको परियोजना सम्पन्न गर्न रु ४३ अर्ब लाग्ने अनुमान गरिएको छ । विविका लागि शिक्षण, मेडिकल कलेज र अस्पतालका लागि आवश्यकीय भवन, सडक, खानेपानी, शिक्षक–विद्यार्थीका होस्टेल, हेलिप्याड, खेलमैदानलगायत संरचना निर्माण गर्ने योजना बनाइएको छ ।

विश्वविद्यालयका लागि आवश्यक देखिएको करिब १० हजार ३०० रोपनी सार्वजनिक जग्गा अधिग्रहणको काम सकिएको जिल्ला मालपोत कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार पाँचखाल नगरको वडा नं ७, १० र १२ तथा नमोबुद्धको २ र ३ नं वडाको १० हजार ३०० रोपनी सार्वजनिक जमिन हालै विश्वविद्यालयको पूर्वाधार विकास समितिका नाममा दाखिल (हस्तान्तरण)को नामसारी भइसकेको हो ।

तत्कालीन मन्त्रिपरिषद्को २०७५ माघ २१ गतेको बैठकद्वारा गठित विश्वविद्यालय पूर्वाधार तयारी समितिले विश्वविद्यालय निर्माणको सम्पूर्ण प्रशासनिक जिम्मेवारी लिएको छ । सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समिति गठन आदेशानुसार २०७६ असार ९ गते राजपत्रमा प्रकाशित गरेको थियो । सोहीअनुसार २०७६ मङ्सिर २३ गते विकास समितिका नाममा जग्गा पास गरिदिने निर्णय सरकारले गरेको थियो । सोही निर्णयानुसार अन्तर्राष्ट्रिय विश्वविद्यालयका रूपमा स्थापित गर्न पाँचखाल र नमोबुद्ध नपाको सीमामा अवस्थित उक्त परिमाणको जग्गा विश्वविद्यालयको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकमा रहने गरी जिल्ला मालपोत कार्यालयलाई जग्गा व्यवस्थापन प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो ।

मदन भण्डारी विश्वविद्यालय निर्माणार्थ चिनियाँ सरकारले पनि सहयोग गर्न इच्छुक देखाएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा नेपाल सरकारको नीति, कार्यक्रम तथा बजेट अध्ययनपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणार्थ सम्झौतासमेत भएको थियो ।

यस्तै काभ्रेपलाञ्चोककै पनौती नगरपालिका–१ चिसापानीमा मदन भण्डारी प्राद्योगिक विश्वविद्यालय शैक्षिक/प्रशासनिक भवन निर्माणका लागि इआइए तयारीका लागि क्षेत्र निर्धारण गर्न हालै सार्वजनिक सूचना जारी गरिएको छ । चमेना गृह ब्लक, सपिङ कम्प्लेक्स, स्वीमिङ पुल, मनोरञ्जन सुविधा, सीमा पर्खाल, टेवा गारो/नदी प्रशिक्षण संरचना, पानी आपूर्ति/सरसफाइ प्रावधान, सुरक्षाका अवयव, स्टाफ आवास, खेलमैदान, अनुसन्धान केन्द्र र सूचना–सञ्चार प्रविधि केन्द्र निर्माण गर्न एक हजार ६५१ रोपनी जमिनमा सीमाङ्कन गरिएको छ । बाँस्कोटका अनुसार पाँचखाल र पनौतीमा निर्माण हुने विश्वविद्यालयका सङ्काय फरकफरक हुन् ।

सूचनामा स्थानीय तह, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा सरोकारवाला व्यक्तिसँग राय/सुझाव मागिएको छ । विश्वविद्यालय सञ्चालनपछि नेपालमै विज्ञान तथा प्रविधिमा उच्चस्तरको अनुसन्धान गरी विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गरी नेपालबाट यस्तो जनशक्ति पलायन हुने क्रम न्यूनीकरण हँुदै जाने अपेक्षा गरिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.