Advertisement

सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति नहुँदा स्थानीयवासी मर्कामा

0 714

Advertisement

२९ साउन, बलेवा । नेपालको एक मात्र शिकार आरक्ष बागलुङको ढोरपाटनलाई तराईसँग जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक स्तरोन्नतिको काम समयमा नसकिँदा सर्वसाधारणलाई सास्ती भएको छ ।

तराईबाट छोटो दूरीमा बागलुङलाई जोड्न दशकअघि रेखाङ्कन भएको यो सडकको अवस्था अहिले पनि उस्तै छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको सन्धिखर्क हुँदै बागलुङको ढोरपाटन जोड्नेगरी आठ वर्ष पहिले यो सडकको ट्रयाक खुलेको थियो । गत वर्षको बाढीले बगाएको सडक मर्मत गरेर हिउँदका महिना सवारी चले पनि बर्खा लागेपछि बेलाबेलामा रोकिने गरेको छ । आयोजनाको बागलुङ खण्डमा भइरहेको काम सुस्त हुँदा सर्वसाधारणलाई सास्ती भएको हो ।

ठाउँठाउँमा झरेको पहिरो र बाढीले सडक नै बगाउँदा ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ का सर्वसाधारण मर्कामा परेका हुन् । सडक सहज नहुँदा सर्वसाधारणलाई पालिका मुकाम बुर्तिबाङ बजार आउजाउमा समस्या छ । वर्षाको समयमा उर्लिने भुजीखोलाको जोखिम र वर्षासँगै आउने बाढी र पहिराको जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था रहेको स्थानीय राजकुमार बुढामगरले बताउनुभयो । सडकको समस्याका कारण ढोरपाटनमा फलेको आलु र स्याउको बजारीकरणमा समेत समस्या छ ।

ढोरपाटनमा बर्खे आलु फल्छ । बजारमा निकै माग हुने र किसानको बारीमा राम्रो फल्ने ढोरपाटनको आलु सडककै कारण किसानकै भण्डारमा अल्झिने अवस्था आएको अर्का स्थानीय धनबहादुर विश्वकर्मा बताउनुभयो । “गाडी चल्ने बाटो छैन, माथि ढोरमा आलु छ, यता बजारमा माग राम्रो छ”, उहाँले भन्नुभयो, “सडक मर्मतसमेत राम्रोसँग भएको छैन । पानी परे हालत उत्रिने सडक छ ।” उक्त सडकखण्ड आयोजनाको कार्यालय बागलुङमा छैन ।

एक सय ५० किलोमिटर लामो दूरीको सडकको झण्डै ५० किलोमिटर खण्डमात्रै बागलुङमा पर्छ । सडकको स्तरोन्नति र मर्मतको काम रुपन्देहीको सालझण्डीतर्फबाट मात्रै हुने गरेकाले ढोरपाटनले सधैँ सास्ती खेप्नुपरेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली बताउनुभयो ।

अन्य योजनामार्फत काम गर्दा दोहोरोपन हुने भएकाले यो सडकमा कम चासो छ । सडक निर्माणमा ध्यान दिन अर्थ, पूर्वाधार, गृह र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको भए पनि सडकको अवस्था उस्तै रहेको नगरप्रमुख नेपालीले गुनासो गर्नुभयो । ढोरपाटन शिकार आरक्ष छेउमा रहेको देउरालीमा जनै पूर्णिमा मेला लाग्छ । धार्मिक मान्यताअनुसार ढोरपाटन नगरपालिकाका अधिकांश सर्वसाधारणले देउरालीको पूजा गरेपछि मात्रै मुक्ति पाइने मान्यता छ । मेलामा पुग्नेहरुको पनि ठूलो लर्को लाग्थ्यो । तर, सडकका कारण यस वर्षको वर्षायाममा सर्वसाधारणले दुःख भोग्ने निश्चित छ ।

रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै बागलुङको ढोरपाटन जोड्ने सडकको ट्रयाक खुलेको सात वर्ष बिते पनि बागलुङ खण्डको अझै स्तरोन्नति हुन नसक्दा समस्या भएको हो । बागलुङको राजकुत, दर्लिङ र ढोरपाटन क्षेत्रमा पर्ने सडकको दुरवस्थाका कारण स्थानीयवासीले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पर्यटकीयस्थल र मुलुककै एक मात्र शिकार आरक्ष भए पनि ढोरपाटन पुग्न सास्ती खेप्नुपर्छ । बुर्तिबाङदेखि ३६ किमी पश्चिममा ढोरपाटन छ ।

बुर्तिवाङसम्म मध्यपहाडी लोकमार्गको सडकले सहज यात्रा भए पनि त्यसपछि जोखिमको यात्रा गर्नुपर्छ । हरेक वर्षातमा खाल्डाखुल्डी पुर्ने काममा नगरपालिकाले लगानी गरिरहेको नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो ।

“यो वर्ष बागलुङ खण्डलाई दुई खण्डमा बाँडेर मेन्टेनेन्सको लागि ठेक्का भएको हो तर निर्माण कम्पनीले लकडाउनका कारण काम गर्न नसकेको भनेका छन्”, सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाका सबओभरसियर नवीन पाण्डेले भन्नुभयो, “दुई_दुई करोड रुपैयाँका योजना हुन्, काम भए-नभएको हेर्न पुग्न पाइएको छैन, कोरोनाका काराण कार्यालय नै बन्द छ ।” चालु आर्थिक वर्षमा उक्त सडक स्तरोन्नति गरेर ग्राभेल गर्नका लागि रु ६० करोडको बोलपत्र भएको पाण्डेले बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.