Advertisement

जैकी चेन, ब्रुस ली र जेट लीका ३ मार्सल आर्ट फिल्म युट्युबमा

0 982

Advertisement

गुड फ्राइडे सिनेमा

ब्रुस ली, जैकी चेन र जेट ली मार्सल आर्ट सिनेमाका चर्चित र सफल नाम हुन्। मार्सल आर्ट सिनेमालाई एसियादेखि हलिउडसम्म लोकप्रिय बनाउनमा यी अभिनेताका एक्सन शैलीले महत्वपूर्ण भूमिका खेलेका छन्। 

सन् १९७० दशकमा कंग फू सिनेमाको लहर आउनुमा ब्रुस लीको आगमनलाई विशेष श्रेय दिइन्छ। त्यसपछि यो विधालाई जैकी चेन र जेट लीले थप विस्तार गरे। यी र अन्य कलाकारका एसियन मार्सल आर्ट शैली अपनाइएका कयौं फिल्म अहिले पनि दर्शकको रोजाइमा पर्दै आएका छन्।

हेर्नुस्, मार्सल आर्टको दुनियाँमा तहल्का मच्चाएका तीन अभिनेता ब्रुस ली, जैकी चेन र जेट लीका फिल्म:

फिस्ट अफ फ्युरी 

चिनियाँ र जापानी मार्सल आर्ट स्कुलबीच प्रतिस्पर्धा देखाइएको ‘फिस्ट अफ फ्युरी’ ब्रुस लीको चर्चित फिल्म हो।

फिल्ममा ब्रुस ली चेन जेनको भूमिकामा छन्। उनी जिंगुआ मार्सल आर्ट स्कुलका विद्यार्थी हुन्। जेन विवाह गर्न सांघाई आउँदा उनको गुरूको निधन भएको हुन्छ। चेनलाई स्वस्थ गुरुको मृत्यु अस्वाभाविक लाग्छ। उनी गुरुको मृत्यु नभएर हत्या भएको शंका गर्छन्।

यसैबीच गुरूको मृत्यु संस्कार भइरहेको ठाउँमा जापानी मार्सल आर्ट स्कुल दोजोका मान्छे आएर अपमानित गर्छन्। कुकुर र चिनियाँलाई प्रवेश निषेध भनेर लेख्ने सन् १९३० को त्यो समय जापानीहरूले गरेको अपमानको बदला लिन जेन आफ्नो गुरूको दाहसंस्कार सकिएपछि एक्लै जापानी दोजो पुग्छन्।

त्यहाँ उनले एक्लै २० जनाभन्दा बढी जापानीसँग भिडेर आफू र आफ्नो गुरूमाथि भएको अपमानको बदला लिन्छन्। फिल्मको यो पहिलो फाइटलाई आकर्षक कोरियोग्राफीका साथ प्रस्तुत गरिएको छ।

तर चेनको यो बदलाको मूल्य पूरै स्कुलले चुकाउनुपर्छ। जेन आफ्नो स्कुल पुग्नुअघि नै जापानी समूहले त्यहाँ तोडफोड र मारपिट गरिसकेका हुन्छन्।

यो घटनापछि जेनमाथि उक्त ठाउँ छाड्ने जापानी समूह र चिनियाँ प्रहरीको दबाब बढ्छ। जेन त्यसका लागि तयार हुँदैनन्। गुरूको मृत्युको बदला लिने उनको एक मात्र ध्येय हुन्छ। सबैतिरबाट दबाबमा परेका जेनले लिने जोखिमपूर्ण बाटो नै त्यसपछिको कथा हो। 

चीन र जापानी समूहबीचको झगडाको सन्दर्भलाई फिल्ममा चीनमाथि जापानी दमनका रूपमा चित्रण गरिएको छ।

फिल्ममा ब्रुस लीले एकदमै रिसाहा युवा र गुरूप्रति समर्पित विद्यार्थीको भूमिका निर्वाह गरेका छन्। फिल्मको सुरूदेखि अन्तसम्म उनको यो स्वभाव देख्न पाइन्छ।

ब्रुस ली अभिनेता कम फाइटर बढी थिए। त्यसैले अन्य दृश्यमा भन्दा एक्सन दृश्यमा उनी बढी जमेका छन्। अन्य फाइटबाहेक नान्चुक फाइट पनि यो फिल्मको विशेषता हो।

एक्सन दृश्यमा उनका आँखा र शारीरिक हाउभाउले मार्सल आर्ट मन पराउने दर्शकलाई रोमाञ्चित बनाउँछ। ध्यान दिएर हेर्नुभयो भने फिस्ट अफ फ्युरीमा तपाईंले कलिला जैकी चेनलाई पनि छोटो भूमिकामा देख्न सक्नुहुने ।

वान्स अपन अ टाइम इन चाइना

मार्सल आर्ट सिनेमा जगतमा जेट ली अर्का चर्चित अभिनेता हुन्। निरन्तर शृंखलाहरू बन्दै आएको ‘वान्स अपन अ टाइम इन चाइना’ जेट लीलाई अन्तर्राष्ट्रिय ख्याति दिलाउने फिल्म हो। 

यो फिल्म ऐतिहासिक सन्दर्भमा बनेको छ। यसमा १९ औं शताब्दीको अन्ततिर क्विंगवंशी पालाको चीन देखाइएको छ। फिल्मको केन्द्रमा चीनका वोंग फेई हुंग छन्। हुंग चीनका प्रभावकारी लोकनायक हुन्। फिल्ममा जेट ली हुंगको भूमिकामा छन्।

फिल्म परम्परागत चिनियाँ नृत्य भइरहेको दृश्यबाट सुरू हुन्छ। नृत्य समारोहमा पड्काइएको पटाकालाई आफूमाथिको आक्रमण ठानेर विदेशी सैनिकले गोली चलाउँछन्। त्यो बेला चीनमा वैदेशिक हस्तक्षेप बढिरहेकाले यस्ता घटना भइरहन्थे।

‘ब्ल्याक फ्ल्याग आर्मी’ का कमान्डर लिउ यङ फू बढ्दो विदेशी अतिक्रमणले देशको अस्तित्व संकटमा परेकोमा चिन्तित हुन्छन्। उनी हुंगलाई चीन र अन्य देशबीच भएका असमान सन्धिबारे अवगत गराउँदै देशको रक्षा गर्ने जिम्मेवारी सुम्पन्छन्।

त्यस बेला हुंगले विदेशी शक्तिसँग मात्र नभई आन्तरिक आपराधिक समूह साहोसँग पनि लड्नुपर्ने हुन्छ। उत्कृष्ट एक्सन कोरियोग्राफी र लोभलाग्दो सिनेमाटोग्राफीसहितको यो फिल्मले भरपूर मनोरञ्जन दिन्छ।

https://youtube.com/watch?v=8–VDuzJc7w

ह्विल्स अन मिल्स

कमेडीसहित एक्सन र लोभलाग्दा स्टन्ट जैकी चेनको फिल्मका विशेषता हुन्। ह्विल्स अन मिल्स पनि यस्तै एक्सन र कमेडीले भरिएको फिल्म हो। 

सिल्भिया स्पेनको बार्सिलोनाका सडकमा मान्छेको पाकेट मार्दै हिँड्छिन्। सिल्भियालाई डिटेक्टिभ मोबी र केही गुन्डाले पछ्याइरहेका छन्। 

यस्तै भागदौडमा सिल्भियाको भेट थोमस र डेबिडसँग हुन्छ। यी दाजुभाइ बार्सिलोनामा गाडीमा फास्टफुड बेच्ने काम गर्छन्। सिल्भिया खासमा लामो समयदेखि घर छाडेर हिँडेकी धनी परिवारकी छोरी हुन्। सम्पत्तिकै लागि एकदिन उनको अपहरण हुन्छ। 

सिल्भियाको अपहरणपछि थोमस, डेबिड र मोबी सँगै मिलेर सिल्भियालाई बचाउने जोखिम मोल्छन्। फिल्ममा कार र भ्यानको स्टन्ट दृश्यसहितको एक्सन कोरियोग्राफी आकर्षक छ। 

फिल्ममा कंग फू सिनेमाका तीन चर्चित अनुहार जैकी चेन, युअन बायो र साम्मो हंग देखिएका छन्। यी तीन कलाकारले यसअघि ‘प्रोजेक्ट ए’ र ‘माई लकी स्टार्स’ मा सँगै काम गरेका थिए।

https://youtube.com/watch?v=o7M4b3Wrm04



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.