पौषशुक्ल पुत्रदा एकादशीको कस्तो रहेको छ महत्व!
२८ पुष, काठमाडाैं । मिति २०७८ साल पुस २९ गते विहीवार पौषशुक्ल पुत्रदा एकादशी तिथी राती ८ : ३६ बजेसम्म त्यस उप्रान्त द्वादशी तिथी आरम्भ हुने भएकोले यो कथा महात्म्य युधिष्ठिरले सोधे पछि भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो- पौष महिनाको शुक्लपक्षको एकादशीको नाम पुत्रदा एकादशी हो।यसले सबै पापलाई हरण गर्दछ। समस्त कामनाहरू तथा सिद्धिहरूका दाता भगवान लक्ष्मीनारायण यस तिथिका अधिदेवता हुन।यो दिन भगवानको पूजा अर्चना तिल ,तुलसी अर्पणगरी कुन्दको फल र पक्वान्न अपुङ्गोको नैवेद्द चढाएर दारिमको अर्घ भगवानलाई दिइ घ्यु ब्राह्मणलाई दान दिनुपर्दछ।संसार चराचर प्राणिहरू सहित त्रिलोकीमा यस व्रतभन्दा ठूलो अर्को व्रत र तिथि छैन।
पूर्वकालमा भद्रावतीपुरीका राजा सुकेतुमान तथा महारानी चंपा धेरै समयसम्म कुनै पुत्र नभएका कारण चिंतामा डुबेर समययापन गर्दथे।एक दिन राजा घोडामाथि चढेर गहन वनतर्फ प्रस्थान गरे।त्यहाँ उनले एउटा सरोवरको नजीकमा ऋषि-मुनिहरूको आश्रम भेटे।राजा मुनिद्वारा गुन्जायमान वेद-पाठले अत्यन्त प्रभावित भए र उनले ती ऋषिहरूलाई दण्डवत् प्रणाम गरे।राजाले अनुरोध गरेपछि मुनिहरूले आज्ञा गरे- राजन्!
हामी विश्वेदेव हौ। आजबाट ५ दिनपछि माघको स्नान प्रारम्भ हुनेछ। आज पुत्रदा एकादशी हो, जुन व्रतले व्रतकर्तालाई पुत्र-सुख प्रदान गर्ने सामर्थ्य राख्दछ।तिमी यस व्रतलाई विधिपूर्वक पालना गर।भगवान केशवको प्रसादस्वरूप तिमीलाई पुत्र प्राप्त हुनेछ। मुनिहरूको निर्देशानुसार राजाले पुत्रदा-एकादशीका दिन उपवास बसेर द्वादशीका दिन व्रतको पारायण गरे।यस अनुष्ठानको पुण्यफलले उनले सुन्दर र तेजस्वी पुत्र प्राप्त गरे।जो व्यक्तिले पुत्रदा एकादशीको सविधि व्रत लिने गर्दछन, तिनका घरमा पुत्रलाभ हुन्छ। यो कतिपय भक्तको अनुभव हो।
व्रत लिनेले यस जन्ममा पुत्र-सुख भोगेर मृत्युपछि स्वर्ग प्राप्त गर्दछ।पुत्रदा एकादशीको माहात्म्यलाई पढ्नाले र सुन्नाले मात्र पनि अग्निष्टोम यज्ञ वा अष्वमेध अज्ञगरे सरहको फल प्राप्त हुन्छ।पुत्रप्राप्तिको कामना हुने भक्तजनले पुत्रदाएकादशीबाट प्रारम्भ गरी निम्न मन्त्रको प्रतिदिन कम्तीमा पनि ५ माला अर्थात ५०० पटक जप गर्नाले सिद्धि प्राप्त हुने विश्वास छ- ॐ क्लीं देवकीसुतगोविन्द वासुदेव जगत्पते। देहि मे तनयं कृष्ण त्वामहं शरणं गत: क्लीं ॐ॥मन्त्रको जपपछि सन्तानगोपाल स्तोत्रको पाठ गर्नाले अनेक नि:सन्तानले सन्तान-सुख प्राप्त गरेका उदाहरण प्रशस्त भेटिन्छन।
पं बालमुकुन्द देवकोटा