क्लासिक निबन्धः एउटी चरीको चिरबिरी

तिनै पहाडहरूको मोहनीले मलाई घेर्दथे, जसले चरीलाई बिउँझाएका थिए । नेपाली मट्टीबाट बनेको सानी मूर्तिले नेपालानुरागी भावुक हृदय लिएर आएकी थिई, जो मेरो हृदयको हृदय थियो ।

०४ मंसिर, काठमाडाैँ । म घुम्दै रानीवनमा पुगेछु । टोपी फुकालेर शीतल हावाको स्पर्शले आनन्द मानेर बसेँ । नजीकमा खोला कलकल गर्दै चल्दथ्यो !

भ्रमणभन्दा रमाइलो विश्राम हुँदो रहेछ । हिँड्नु त्यस बेलाको तयारी हो जुन बेला हामी ठाउँ रोजेर थकाइ मार्दछौँ । कानका निमित्त इनाम जत्तिको मीठो हुन्छ, हिँडाइपछिको आराम उत्तिकै आनन्ददायी हुन्छ । त्यहाँ ढुङ्गामा बस्नु मलाई कामको दिनपछिको आरामी डस्नामा लेट्नु थियो, जहाँ विपना हावा हुँदै जान्छ र सपना खदिलो हुँदै जान्छ ।

नखलिस्तानको मोहनी त्यहाँ डुकिन्थ्यो । त्यहाँ गाइनेको गीतबाट मोहनी निक्लेर हावामा घुस्तथ्यो । त्यहाँ मैले बुझ्न थालेँ– जल किन कलकलाउँछ ? किन पृथ्वी हरियो हुन्छ ? र मैले त्यहाँ त्यो आनन्द अनुभव गर्न लागेँ– जसलाई भाषा हुँदो रहेनछ ।

दृश्यमा केही विशेषता छैन । वरिपरि पहाडहरू उठका छन्– कतै हरिया, कतै साङ्ग्रा, कतै बाक्ला वनले ढाकिएका । मनेरको रुखमा एउटा चरा मीठोसँग बोल्दछ ।

संसारमा अरू चीज त्यत्तिको मीठो बोल्दैनन्, जत्तिको त्यो भुवादार फुरफुरिलो चीज बोल्दछ, जसलाई हामी चरा भन्दछौँ । बुझिने भाषा मानेदार सीमा नाघ्न सक्तैनन्; नअर्थिने शब्दहरूको माधुर्य प्रकाशन होइनसक्नासाथ भावको देशबाट निक्लन्छ । बुझ्नेलाई आखिरमा निरर्थक केही छैन ।

यो दुनियाँमा ईश्वरको जादूगरी मतलब नलिई बोल्दैन । हामी सधैँ ईश्वरसँग हिँडेका हुँदैनौँ । बराबर हृदयले दिएको ध्वनि पाउँछ र फुल्दछ, भित्र अर्थ जस्ता तर आग्रह्य सूचनाहरू आउँछन्; बुझिएला–बुझिएला भनेजस्तो लाग्दछ तर बुझ्नाको र बुझाउनाको पार भाव बन्दछन्, सूचना बन्दछन्, बिलाउँछन् ।

जब मैले त्यस चराको शब्द सुनेँ मैले बुझेँ– चराहरूलाई किन भाषा दिइएको थियो । मेरो ओठबाट त्यस्तो ध्वनि निक्लन असम्भव थियो, म त्यसको नक्कल गर्न सक्तिनथेँ । म मानेदार बनाएर ध्वनि बिगार्थें, मेरा शब्दहरू साना संकुचित सीमाभित्र निक्लन्थे, तिनमा त्यो प्राकृत जादू हुँदैनथ्यो– यो विशालको टुना, जो त्यसको थर्कंदो पातले चरीजिभ्रोबाट ध्वनि भएर निक्लन्थ्यो, मेरो खस्रो छातीमा भावनासम्म दिइएको थियो ।

Sanima GIC Insurance
म चरो हुन्थेँ बरू ! केही किहीनाउन त पाउँथेँ ! यो विवेक बहसपूर्ण वस्तुभेदी बोलीभन्दा मलाई त्यो मीठो लाग्यो । मानौँ त्यहाँ पहाडहरू जम्मै मिलेर मुटुबाट ध्वनि बन्थे ! मानौँ विशालको अविदित भाषा त्यसको कण्ठ थियो, त्यो बोल्थी त्यस आत्मप्रकाशनको ऐडीले– जो सिर्जनाको आनन्दमा उठ्तछ ।

मलाई कहिले–कहिले यस्तो लाग्दछ कि माटाको पूर्णता फूल हो र फूलको पूर्णता चरा हो ! फूलहरू बोल्न खोज्दछन् । हृदयको उद्गार गर्ने शक्ति चरामा देखिन्छ । मानौँ सिर्जनाको सुख जीवनको केन्द्रबाट माधुर्य लिएर कुर्लिन्छ ।

चरी जीवनको हरियो कुञ्जमय रहस्यरञ्जित अनुभूति सुरिलो बनेर भावुक केन्द्रबाट उद्गारित हुन्छ– वेभाषाको टुनादार माधुर्यमा मानौं स्रष्टाको प्रेम विभिन्न चातुरीमा अनेक बनेर एक जीवनको जीवन–आस्वादनको कृतज्ञता प्रकाशक मधुरध्वनि सुन्न चाहन्छ ।

मलाई यस्तो यस्तो लाग्दछ कि जीवन भनेको विशालको आस्वादन हो; पूर्णको भाव हो, विश्वको समष्टिरूपको केन्द्रीभूत चैतन्य हो । यसैकारण दृश्यजगत् उसको ध्वनिमा कुर्लेर आउँछ, मेरो जीवन सहानुभूतिको भावले अनुस्पन्दन पाएर आफ्ना आभ्यान्तरिक अनुभवहरू खोज्न कान थापेर अघि सर्दछ ।

म त्यस्तै सानो कुञ्जमा बास गर्दथेँ, मेरो हरियो रानीवन रमाइलो थियो, म त्यसैलाई रोजेर प्रकृतिमा गुँड बनाएर बसेको थिएँ । मलाई तिनै आकाशमा उड्न मन लाग्दथ्यो, जहाँ त्यस चरीले उषासँग दिन–दिनका सुनौला रहस्यहरू सोध्न जान्थी । त्यही कलकले जलले मेरो आँत रमाउँथ्यो, जहाँ त्यो चरी चुच्चो डुबाउँथी ।

तिनै पहाडहरूको मोहनीले मलाई घेर्दथे, जसले चरीलाई बिउँझाएका थिए । नेपाली मट्टीबाट बनेको सानी मूर्तिले नेपालानुरागी भावुक हृदय लिएर आएकी थिई, जो मेरो हृदयको हृदय थियो । त्यो उठ्थी, गाउँथी जस्तो म गर्न चाहन्थेँ ।

मेरो भाषा त्यहीँबाट निक्लन्थ्यो, जहाँबाट यसले यो मीठो शब्द टिपेकी थिई । तर मैले जति गाएँ, तिनीहरूमा त्यो माधुर्य थिएन, न त त्यो मोहनी ।

मलाई विवेकले हरेक कदममा छकाइदिन्थ्यो, अविश्वास र भ्रमले बराबर लरबराइदिन्थ्यो । यसमा त्यो स्पष्ट मोहनी थियो, जो विश्वास जस्तो सुरिलो छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours