पृथ्वीले भेट्टायो नयाँ सानो चन्द्रमा, तर धेरै समय सँगै नबस्ने

२३ कात्तिक, काठमाडौं । पृथ्वीले नयाँ सानो चन्द्रमा भेटेको छ। यो क्रिसमससम्म पृथ्वीको वरिपरि रहनेछ।

२०२६ क्यूक्यू८ नाम दिइएको यो अन्तरिक्ष चट्टान पहिलोपटक सन् २०२६ को अगस्टमा देखिएको थियो। यो सन् २०२६ को अप्रिलमा पृथ्वीको कक्षमा प्रवेश गरेको थियो। यसको खोजबारे अन्तर्राष्ट्रिय खगोलीय संघको माइनर प्लानेट सेन्टरले बिहीबार (अक्टोबर २९) जानकारी दिएको हो।

तर क्यूक्यू८ पृथ्वीको वरिपरि अस्थायी रूपमा मात्र रहनेछ। यो सानो चन्द्रमा डिसेम्बरसम्म पृथ्वीको गुरुत्वाकर्षणको प्रभावमा रहनेछ र त्यसपछि सन् २०२७ मा पृथ्वीबाट टाढिनेछ।

वैज्ञानिकहरूले क्यूक्यू८ ले यात्रा गर्ने कक्षाको पुनः अध्ययन गरेका छन्। यसले सूर्यको एक फन्को लगाउन ३५९ दिन अर्थात् पृथ्वीको एक वर्षको करिब ०.९८ भाग समय लगाउँछ। क्यूक्यू८ करिब प्रत्येक १० वर्षमा पृथ्वीको नजिक आउँछ। तर यसपटक यो यति नजिक आयो कि पृथ्वीले आफ्नो गुरुत्वाकर्षण शक्तिका कारण यसलाई आफूतिर तान्न सफल भयो।

माइनर प्लानेट सेन्टरका अनुसार यसपटक क्यूक्यू८ पृथ्वीबाट सबैभन्दा नजिक आउँदा करिब ३ लाख ५३ हजार माइल (५ लाख ६८ हजार किलोमिटर) टाढा हुनेछ। यो पृथ्वी र चन्द्रमाबीचको औसत दूरीभन्दा करिब १ लाख १० हजार माइल (१ लाख ७७ हजार किलोमिटर) बढी हो।

स्पेस डटकमका अनुसार क्यूक्यू८ पृथ्वीसँग ठोक्किने गरी नजिक आए पनि यो पृथ्वीको सतहमा पुग्नुअघि नै वायुमण्डलमा पूर्ण रूपमा नष्ट हुने सम्भावना छ। यसको व्यास करिब ६ फिट (२ मिटर) मात्र छ।

पृथ्वीले पहिलोपटक यस्तो सानो चन्द्रमा समातेको भने होइन। यस्ता वस्तुलाई अझ सही रूपमा अस्थायी उपग्रह भनिन्छ। वास्तवमा, गत वर्ष गरिएको एक अनुसन्धानले पृथ्वीको वरिपरि कुनै पनि समयमा ६ वटासम्म यस्ता साना चन्द्रमा परिक्रमा गरिरहेका हुन सक्ने देखाएको थियो। तीमध्ये धेरैजसो पृथ्वीको स्थायी प्राकृतिक उपग्रह चन्द्रमाका टुक्रा हुन सक्छन्।

क्यूक्यू८ सानो भए पनि औसत सानो चन्द्रमाभन्दा ठूलो छ। यसै वर्ष गरिएको नमुना अध्ययनले अस्थायी उपग्रहको औसत आकार ७५ सेन्टिमिटर (३० इन्च) हुने देखाएको थियो।

सोही अध्ययनले यस्ता वस्तु पृथ्वीको वरिपरि औसतमा करिब नौ महिनासम्म रहने देखाएको थियो।

त्यसैले क्यूक्यू८ सन् २०२६ को अप्रिलमा पृथ्वीको गुरुत्वाकर्षणमा आएको हो भने यो सन् २०२७ को जनवरीमा पृथ्वीबाट टाढिनुपर्ने देखिन्छ।

अनुसन्धानकर्ताहरूका अनुसार पृथ्वीले करिब १० फिट (३ मिटर) चौडाइ भएको कुनै अन्तरिक्ष चट्टानलाई आफ्नो गुरुत्वाकर्षणमा तान्न सकेमा त्यो १० देखि २० वर्षसम्म सानो चन्द्रमाका रूपमा पृथ्वीको वरिपरि रहन सक्छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours