२० कार्तिक, वासिङ्टन । अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले अप्रत्याशित सफलता हासिल गरेपछि एआई क्षेत्रमा लगानी गर्ने कम्पनीका लगानीकर्ता त्रसित भएका छन् । एआई पूर्वाधार निर्माणमा थप सरकारी नियमन हुन सक्ने आशङ्काले बिहीबार अमेरिकी प्रविधि कम्पनीका सेयरमा ठूलो गिरावट आएको छ ।
निर्वाचनमा डेमोक्र्याटहरूले सिनेटमा सात र प्रतिनिधिसभामा कम्तीमा ३९ सिट थपेका छन् । त्यस्तै, पाँच राज्यको गभर्नर पदमा पनि जित हासिल गरेका छन् । यस नतिजाले एआई पूर्वाधार विस्तारमा अवरोध आउन सक्ने चिन्ता लगानीकर्तामा बढाएको हो ।
बिहीबार अमेरिकी प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्डाक कम्पोजिट सूचकाङ्क ५.५६ प्रतिशतले घट्यो । यो पछिल्लो १९ महिनायताकै सबैभन्दा ठूलो एकदिने गिरावट हो ।
विशेषगरी डेमोक्र्याटहरूले डेटा सेन्टर निर्माण र सञ्चालनमा कडा नियमन गर्न सक्ने सम्भावनाले बजार प्रभावित भएको हो । एआई प्रणाली सञ्चालनका लागि आवश्यक डेटा सेन्टरले ठूलो मात्रामा विद्युत् र पानी खपत गर्ने भएकाले स्थानीय समुदायमा पनि यसको विरोध बढिरहेको छ ।
टेक्सासको गभर्नरमा निर्वाचित डेमोक्र्याटिक उम्मेदवार जिना हिनोजोसाले नयाँ डेटा सेन्टर निर्माण रोक्ने प्रतिबद्धता जनाएकी छन् । उनले तीन कार्यकालदेखि गभर्नर रहेका रिपब्लिकन ग्रेग एबटलाई पराजित गरेकी हुन् ।
त्यस्तै, कङ्ग्रेसका डेमोक्र्याट सांसदहरूले डेटा सेन्टरका कारण उपभोक्ताको विद्युत् महसुल बढ्न नदिन नयाँ कानुन ल्याउनुपर्ने र एआई प्रणालीको स्वतन्त्र परीक्षण अनिवार्य गर्नुपर्ने माग गरेका छन् ।
लगानी अनुसन्धानकर्ता मेलिसा ब्राउनका अनुसार एआई पूर्वाधार निर्माणको गति सुस्त भएमा यस क्षेत्रमा आधारित आर्थिक वृद्धिको अपेक्षामा असर पर्न सक्छ । यसैबीच, अलास्का र मिसिसिपीको सिनेट निर्वाचनको अन्तिम परिणाम आउन बाँकी छ । ती दुवै स्थानमा डेमोक्र्याटहरू अगाडि रहेकाले सिनेटमा उनीहरूको सिट सङ्ख्या ५६ पुग्न सक्ने सम्भावना छ ।
नयाँ सिनेट जनवरीदेखि क्रियाशील हुनेछ । त्यसपछि डेमोक्र्याटहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका निर्णयमाथि अनुसन्धान र सरकारी नियुक्तिमा अवरोध गर्न सक्नेछन् ।


+ There are no comments
Add yours