बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु

२० कार्तिक, काठमाडौँ । गौतम बुद्धको जन्मभूमि नेपालबाट शान्ति, अहिंसा र मानवताको सन्देशलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले गान्धी–मण्डेला फाउन्डेसन (GMF) को नेपाल च्याप्टर औपचारिक रूपमा सुरु भएको छ।
फाउन्डेसनले नेपाललाई विश्व शान्ति, सद्भाव र मानवीय सहकार्यको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम अघि बढाउने जनाएको छ।
फाउन्डेसनका उपाध्यक्ष तथा प्रेस तथा सञ्चार संयोजक गणेश के.सी.का अनुसार नेपाल च्याप्टरले गौतम बुद्ध, महात्मा गान्धी र नेल्सन मण्डेलाको शान्ति, अहिंसा, समानता र मानवताको दर्शनलाई नेपालसँग जोडेर अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नेछ।

“नेपाल गौतम बुद्धको जन्मभूमि हो। बुद्धको शान्ति र करुणाको सन्देश विश्वभर फैलिएको छ। त्यसलाई गान्धी र मण्डेलाको अहिंसा, समानता तथा मेलमिलापको दर्शनसँग जोडेर नयाँ पुस्तामाझ पुर्‍याउनु हाम्रो मुख्य उद्देश्य हो,” के.सी.ले भन्नुभयो।
शान्ति र मानवताको साझा अभियान
गौतम बुद्धले शान्ति र करुणाको बाटो देखाएका थिए भने महात्मा गान्धीले सत्य र अहिंसालाई सामाजिक तथा राजनीतिक परिवर्तनको माध्यम बनाए। नेल्सन मण्डेलाले समानता, स्वतन्त्रता र मेलमिलापका लागि लामो संघर्ष गरे।

यी तीन व्यक्तित्वका विचारलाई साझा मानवतावादी मूल्यका रूपमा अघि बढाउने लक्ष्य फाउन्डेसनले लिएको छ।
फाउन्डेसनका अनुसार वर्तमान विश्वमा बढिरहेको द्वन्द्व, असहिष्णुता, विभाजन र हिंसाबीच शान्ति, सहिष्णुता र मानवताको सन्देश अझ सान्दर्भिक बनेको छ। नेपालबाट यस्तो अभियानलाई अन्तर्राष्ट्रिय तहमा विस्तार गर्न सकिने सम्भावना रहेको के.सी.ले बताउनुभयो।

नेपाल–भारत सम्बन्धलाई जनस्तरसम्म जोड्ने योजना
भारतको नयाँ दिल्लीमा मुख्यालय रहेको गान्धी–मण्डेला फाउन्डेसनले विभिन्न देशमा शान्ति, मानव अधिकार, सामाजिक न्याय र अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा काम गर्दै आएको जनाएको छ।
नेपाल च्याप्टरले भने विशेषगरी नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्ने भएको छ।

नेपाल र भारतका युवा, विद्यार्थी, कलाकार, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा सांस्कृतिक संस्थाबीच संवाद र सहकार्य बढाउने योजना रहेको के.सी.ले जानकारी दिनुभयो।

‘युवा शान्ति अभियान’देखि अन्तर्राष्ट्रिय संवादसम्म
नेपाल च्याप्टरले आगामी दिनमा Buddha–Gandhi–Mandela Peace Dialogue आयोजना गर्ने तयारी गरेको छ। उक्त कार्यक्रममार्फत नेपालसहित विभिन्न देशका प्रतिनिधिलाई सहभागी गराएर शान्ति र अहिंसाका विषयमा संवाद गरिनेछ।
त्यसैगरी विभिन्न देशबीच कला, संस्कृति, भाषा, साहित्य र परम्पराको आदान–प्रदानका लागि International Cultural Exchange कार्यक्रम सञ्चालन गरिनेछ।

युवालाई शान्ति र मानवताको अभियानमा जोड्न Youth for Peace कार्यक्रम अघि बढाउने योजना पनि फाउन्डेसनको छ।
शान्ति, मानवता र सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई अन्तर्राष्ट्रियस्तरमा सम्मान गर्ने कार्यक्रमसमेत सञ्चालन गरिने बताइएको छ।

बुद्धको जन्मभूमिबाट विश्वलाई शान्तिको सन्देश
फाउन्डेसनले नेपालको ऐतिहासिक तथा आध्यात्मिक पहिचानलाई विश्व समुदायसँग जोडेर नेपाललाई शान्ति र मानवीय सहकार्यको अन्तर्राष्ट्रिय मञ्चका रूपमा विकास गर्न सकिने विश्वास लिएको छ।

के.सी.का अनुसार नेपालले बुद्धको जन्मभूमिका रूपमा प्राप्त गरेको अन्तर्राष्ट्रिय पहिचानलाई आधुनिक विश्वका शान्ति अभियानसँग जोड्न सके त्यसले नेपालको सांस्कृतिक कूटनीति र अन्तर्राष्ट्रिय पहिचानलाई समेत थप बलियो बनाउन सक्छ।

“Peace is not merely the absence of conflict; it is the presence of humanity, compassion and mutual respect,” फाउन्डेसनको अभियानको मूल भावलाई उद्धृत गर्दै के.सी.ले भन्नुभयो।

नेपाल च्याप्टरले आगामी दिनमा शान्ति संवाद, सांस्कृतिक आदान–प्रदान, युवा सहभागिता र अन्तर्राष्ट्रिय सहकार्यलाई केन्द्रमा राखेर गतिविधि अघि बढाउने जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours