‘निर्माण व्यवसायीले फिरौती दिनु परेको छ’

१६ कार्तिक, चितवन। नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डेले सरकारी ठेक्काको बिल भुक्तानी र म्याद थपका क्रममा निर्माण व्यवसायीले बाध्य भएर रकम दिनुपर्ने अवस्था रहेको बताउनुभएको छ । उहाँले यस्तो अवस्थालाई ‘फिरौती’ को संज्ञा दिँदै निर्माण व्यवसायीले भ्रष्टाचार नगरेको दाबी गर्नुभयो ।

निर्माण व्यवसायी सङ्घ चितवनको ३२ औँ वार्षिक साधारण सभा तथा १७ औँ अधिवेशनको उद्घाटन समारोहलाई भरतपुरमा सम्बोधन गर्दै अध्यक्ष पाण्डेले बिल भुक्तानी र म्याद थपमा कर्मचारीबाट हुने ढिलाइले व्यवसायीलाई अप्ठ्यारोमा पार्ने गरेको बताउनुभयो । “हामीले भ्रष्टाचार कहिल्यै गरेका छैनौँ, हामीले फिरौती दिएका छौँ,” उहाँले भन्नुभयो ।

उहाँले फिरौती नदिँदा थप समस्या आउन सक्ने भन्दै बाध्यात्मक परिस्थितिमा रकम दिनुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले ठेक्का पाएपछि प्राप्त हुने मोबिलाइजेसन एड्भान्स (पेस्की) रकमको दुरुपयोग नगर्न पनि निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । अध्यक्ष पाण्डेका अनुसार महिनाको अन्त्यमा बिल तयार गर्ने समयमा कर्मचारी तथा इन्जिनियरले आनाकानी गर्दा व्यवसायी समस्यामा पर्ने गरेका छन् । त्यस्तै काम सम्पन्न गर्न म्याद थप आवश्यक भए पनि त्यसमा सहजीकरण नहुँदा बिल भुक्तानीसमेत प्रभावित हुने गरेको उहाँको भनाइ थियो ।

उहाँले सार्वजनिक खरिद ऐनले निर्माण व्यवसायीलाई विभिन्न कानुनी सुविधा दिएको उल्लेख गर्दै सम्झौताविपरीतका थप बाध्यकारी सर्त राख्न नपाइने बताउनुभयो । सरकारी कर्मचारी वा इन्जिनियरले मूल सम्झौतासँग बाझिने अर्को करार गर्न लगाए त्यस्तो व्यवस्था कानुनसम्मत नहुने र संलग्न कर्मचारीलाई विभागीय कारबाही हुने कानुनी व्यवस्था रहेको उहाँले बताउनुभयो ।

सरकारलाई थप आर्थिक भार नपर्ने गरी म्याद थप गर्ने विषयमा समेत कर्मचारीले कानुनविपरीत हस्ताक्षर गराउन नहुने उहाँको भनाइ थियो । निर्माण व्यवसायीका यस्ता समस्या समाधान गर्न महासङ्घले सात वटै प्रदेशमा एक एक जना कानुन व्यवसायीको व्यवस्था गरेको जानकारी दिँदै अध्यक्ष पाण्डेले आगामी दिनमा चितवन जस्ता जिल्लामा पनि कानुनी सहायता उपलब्ध गराउने बताउनुभयो ।

चार पत्रकार सम्मानित

निर्माण व्यवसायी सङ्घ चितवनले दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएका चार जना अग्रज पत्रकारलाई सम्मान गरेको छ । ‘निर्माण–पत्रकारिता, अग्रज पत्रकार सम्मान २०८३’ बाट सम्मानित हुनेमा शान्ता अधिकारी, नारायण अधिकारी, नवराज ढकाल र तिलक रिमाल रहनुभएको छ । सङ्घका जिल्ला सचिव एवं सम्मान तथा पुरस्कार व्यवस्थापन समितिका संयोजक शिव ढकालले विगतदेखि नै पत्रकारलाई सम्मान गर्दै आएकोमा यस वर्षदेखि कार्यक्रमलाई व्यवस्थित बनाइएको बताउनुभयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours