नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना, ५ प्रतिशत ब्याजदरमा घर कर्जा

१२ कार्तिक, काठमाडौँ । नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर विशेष छुट सुविधासहितको ‘सर्वसुलभ आवास कर्जा योजना’ सार्वजनिक गरेको छ । बैंकले बुधबारदेखि लागू हुने गरी नयाँ आवास कर्जा योजना सञ्चालनमा ल्याएको हो ।

बैंकका अनुसार यस योजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण तथा घरको मर्मतसम्भारका लागि कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । आधार दरमा न्यूनतम ०।४ प्रतिशत प्रिमियम थप गरी कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।

यस योजनामा अधिकतम २५ वर्षसम्मको कर्जा अवधि रहनेछ भने कर्जा लिने ग्राहकले बैंकबाट ५ लाख रुपैयाँसम्मको लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सुविधा प्राप्त गर्नेछन् । साथै, कर्जा सुरक्षणका लागि वार्षिक शुल्कमा ५० प्रतिशत छुटसमेत उपलब्ध गराइने बैंकले जनाएको छ ।

योजनाअन्तर्गत कर्जा सुविधा २०८३ कात्तिक १५ गतेदेखि २०८३ माघ १५ गतेसम्म गरी जम्मा ९० दिनका लागि सञ्चालनमा रहनेछ । नेपाल बैंक लिमिटेडले कात्तिक ३० गते सोमबार आफ्नो ९०औँ वर्षमा प्रवेश गर्दैछ ।

नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २९० एटीएम तथा ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३० लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले प्रविधिमैत्री बैंकिङ सेवामार्फत ग्राहकको सेवा अनुभवलाई थप सहज र आधुनिक बनाउँदै आएको जनाएको छ ।

बैंकले वित्तीय साक्षरता र ग्रामीणमुखी ग्राहक सेवा अभियानमार्फत नेपालमा बैंकिङ सेवा विस्तारमा योगदान पुर्‍याउँदै आएको छ । देशको आर्थिक विकास, युवा जनशक्तिको सशक्तीकरण तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगमा जोड दिँदै बैंकले आफ्नो सेवा विस्तारलाई निरन्तरता दिएको जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours