सर्वसाधारणका लागि तलेजु भवानीको मन्दिर खुला

०३ कार्तिक, काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रभित्र रहेको प्रसिद्ध तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिएको छ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने परम्पराअनुसार यस वर्ष पनि भक्तजनको पूजा, आराधना र दर्शनका लागि मन्दिर खुला गरिएको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको साइतअनुसार तुलजा भवानीलाई असोज ३१ गते शनिबार मूलचोकमा यात्रा गराई स्थिरासनमा राखिएको थियो। महाअष्टमीको राति ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिएको छ ।

विजयादशमीका दिन कात्तिक ४ गते बुधबार बिहान १०:५१ बजेको साइतमा यात्रा गराई ११:५२ बजे मूल मन्दिरमा पुनः स्थिरासन गराइने कार्यक्रम रहेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours