०२ कार्तिक, काठमाडौँ । आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा कात्तिक १ गते राति नै गर्नुपर्ने पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ। अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ।
विजया दशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ। देवीको साधना एवं पूजा, आराधना गर्न एक दिन बढ्दा केही फरक नपर्ने धर्मशास्त्रविद्हरूको भनाइ छ।
राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा भने समितिसँगको परामर्श र तलेजुका पुजारीले गर्ने परम्पराअनुसार यही कात्तिक २ गते सोमबार राति गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिए।
हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेपछि लगत्तै अर्को दिनमा महानवमीको पूजा, आराधनालगायत कर्म गर्ने परम्परा रहेकाले यस्तो निर्णय गरिएको जानकारी पनि उनले दिए।
हनुमानढोका दरबारको दशैँ घरमा कात्तिक १ गते आइतबार पनि महाअष्टमीको सामान्य पूजा गरिएको छ। मूल पूजा भने सोमबार गरिने दरबार हेरचाह अड्डाले जनाएको छ। महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशु बलिसहित पूजा, आराधना गर्ने परम्परा रही आएको छ।


+ There are no comments
Add yours