०१ कार्तिक, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू चुकेको अवस्थामा सभापतिबाट हटाएर अघि बढ्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।
शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत्तिको भार पार्टीले बोक्न नसक्ने बताएका हुन् ।
सभापति थापाले पार्टीको नेतृत्वमा रहँदा आफ्नो व्यक्तिगत, पारिवारिक र आर्थिक जीवनका हरेक पक्षमा सचेत र जिम्मेवार रहने प्रतिबद्धता व्यक्त गरे । पार्टी लाखौँ नेता–कार्यकर्ताको रगत, पसिना र योगदानबाट बनेको सार्वजनिक सम्पत्ति भएको स्मरण गराउँदै उनले व्यक्तिले गरेका गल्तीको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने बताए ।
नेतृत्वका भूल र कमजोरीको भार पार्टीले बोक्दा संस्था नै धराशायी हुन सक्ने भएकाले त्यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
थापाले भने, “पार्टी सभापति हुँदै गर्दा मेरो व्यक्तिगत जीवन, परिवार, आर्थिक जीवन र सम्बन्धहरूप्रति म सचेत र जिम्मेवार रहनुपर्छ भन्ने कुरा म बुझ्छु । मेरा कुनै गलत कामले पार्टीलाई असर पर्न सक्छ । त्यसैले कुनै दिन म चुकेको महसुस भएमा नेपाली कांग्रेसले मलाई सभापतिबाट अलग गरेर अगाडि बढ्नुपर्छ । किनकि व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन । पार्टी सार्वजनिक सम्पत्ति हो, जहाँ हजारौँ मानिसको रगत, पसिना र योगदान जोडिएको हुन्छ । व्यक्तिले गरेका गल्तीको भार व्यक्तिले नै बोक्नुपर्छ, पार्टीले होइन । मेरो कमजोरीको जिम्मेवारी म आफैँ लिन्छु । यो मेरो प्रण हो ।”
मुलुकको वर्तमान परिस्थितिबारे चर्चा गर्दै सभापति थापाले दसैँको फूलपातीका दिनसमेत हजारौँ युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिन बाध्य हुनु राष्ट्रकै लागि गम्भीर चिन्ताको विषय भएको बताए ।
रातारात चमत्कार गरेर युवालाई स्वदेश फर्काउन नसकिए पनि नेपालमै स्वाभिमानका साथ बाँच्न सक्ने वातावरण निर्माण गर्न कांग्रेसले इमानदार प्रयास गर्नुपर्ने उनको भनाइ छ ।
“आज दसैँको फूलपातीका दिन हजारौँ युवाहरू देश छोडेर विदेश जाँदैछन् । हामी रातारात चमत्कार गरेर उनीहरूलाई फर्काउन सक्दैनौँ, तर स्वाभिमानका साथ नेपालमै बस्न सक्ने वातावरण बनाउन इमानदार प्रयास गर्न सक्छौँ । त्यसो गर्न सक्यौँ भने मात्रै नेपाली कांग्रेस हुनुको अर्थ रहन्छ,” उनले भने ।
पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेट्ने र व्यवस्थापन गर्ने जिम्मेवारी आफूले लिने स्पष्ट पार्दै थापाले अन्य नेता तथा कार्यकर्तालाई निराशाका गुनासामा अल्झिनुभन्दा काममा जुट्न आग्रह गरे ।
“पार्टीभित्रका असन्तुष्ट साथीहरूलाई समेट्ने जिम्मेवारी मलाई छाडिदिनुहोस् । म त्यो जिम्मेवारी पूरा गर्नेछु । अब सबै साथीहरू आफ्नो काम र कर्ममार्फत पार्टीका कार्यकर्ता तथा नागरिकमाझ जाऔँ र उनीहरूका समस्यामा काम गरौँ,” उनले भने ।
थापाले आक्रोश र निराशालाई राजनीतिको आधार बनाउने प्रवृत्तिबाट सचेत रहन आग्रह गर्दै नेपाली कांग्रेस सकारात्मक सोच, ऊर्जा र आशाको केन्द्र बन्नुपर्ने बताए । चुनौतीहरू ठूलो भए पनि अवसर प्रशस्त रहेको उल्लेख गर्दै उनले अब निराशा होइन, कर्म र परिणाममार्फत जनताको विश्वास जित्ने समय आएको बताए ।
सभापति थापाले पार्टीका तल्ला तहका कार्यकर्ता र आम नागरिकका सुख–दुःखमा प्रत्यक्ष जोडिन तथा निराशालाई चिरेर सकारात्मक ऊर्जा प्रवाह गर्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वानसमेत गरे ।


+ There are no comments
Add yours