रोजगारी, अध्ययन र अवसरको खोजीमा सहर पसेका नागरिकहरू दसैं मनाउन गाउँ फर्किन थालेपछि बस्तीमा चहलपहल बढेको छ।
३० असाेज, वीरेन्द्रनगर । वर्षभरि मानिसको भीडले भरिभराउ रहने सहरका सडकमा अहिले विस्तारै चहलपहल घट्दै गएको छ। बजारका पसलमा ग्राहकको भीड पातलिन थालेको छ। तर सार्वजनिक यातायातका साधनमा भने यात्रुको चाप बढ्दो छ। सुर्खेत बसपार्कमा घर फर्किनेहरूको लर्को छ। हातमा झोला, पिठ्युँमा भारी, काखमा बालबालिका र अनुहारमा घर पुग्ने उत्साह बोकेका मानिसहरू आ–आफ्नो गन्तव्यतर्फ लागिरहेका छन्।
कसैलाई वर्षौंपछि आमाबुबासँग भेट्ने हतारो छ। कसैलाई दाजुभाइ तथा दिदीबहिनीसँगै बसेर दसैं मनाउने रहर। सहरमा पढिरहेका विद्यार्थीलाई बाल्यकाल बिताएको गाउँको सम्झनाले तानेको छ। रोजगारीका लागि घर छाडेकाहरूलाई परिवारको न्यानो साथमा केही दिन बिताउने चाहना छ। कसैका लागि दसैं नयाँ लुगा र मीठो परिकारको उत्सव हो। कसैका लागि दुःख–सुख साट्दै परिवारसँग बिताउने अमूल्य समय पनि। सुर्खेत वसपार्कमा २ वर्ष भ्यांलोरमा रोजगारी गरेर घर फर्किरहेका कालिकोटका सुर्य बुढाले भने, गत वर्ष दसंैमा पनि घर आएन्। रोजगारीका लागि भारतको व्यांलोर गएको २ वर्ष भयो। गाउँको निकै अत्यास लागेको छ। परिवारको माया पनि उस्तै छ। गाउँको घर र माटोको माया र परिवारसँग दसैं बनाउन घर जाँदैछु।

कर्णालीका बिभिन्न जाने गेटवएका रुपमा रहेको सुर्खेत बसपार्कको दिनहुँको दृश्यले दसैंको आगमनलाई थप अर्थपूर्ण बनाएको छ। सहरबाट गाउँतर्फ जाने सडकमा बढेको चाप र ग्रामिण गाउँबस्तीमा देखिएको चहलपहल निकै लोभ लाग्दो छ। सुर्खेत बसपार्कमा समितिमा काम गरिरहेका अकल कार्कीले भने, सधैं यात्रु नपाउने सवारी साधनहरूले हिजोआज यात्रु बोक्न भ्याइनभ्याइ छ। कतिले त गाडीमा अग्रिम सिट रोकिदिने फोनबाटै आग्रह गर्ने गरेका छन्। कर्णालीका सडकमा यात्रु नपाएर खाली खाली गुड्न बसहरूमा हिजोआज यात्रुहरू कोचाकोच छ। तर प्रहरी र समितिले सिट अनुसार मात्र टिकट काटेर पठाउने गरिएको छ।
सहरको भीडभाड गाउँतिर
वर्षभरि काम, पढाइ र व्यवसायको व्यस्ततामा बिताउनेहरूका लागि दसैं घर फर्किने अवसर हो। सहरमा बसेर जीविकोपार्जन गर्ने ठूलो जनसंख्याका लागि दसैं परिवारसँग समय बिताउने माध्यम बनेको छ। त्यसैले चाड नजिकिँदै जाँदा सहरका कोठा, कार्यालय र शिक्षण संस्थाबाट मानिसहरू गाउँ फर्किने क्रम बढेको छ। प्रदेश अस्पताल सुर्खेतमा कार्यरत स्त्री रोग विशषेज्ञ डा.ललितजंग शाहीले भने, दसैं मनाउन मानिसहरू गाउँ फकिएपछि अस्पतालमा आउने बिरामीहरूको दर पनि घटेको छ। नेपालीहरूको महान पर्व पनि भएकाले दसैंमा सहरमा भन्दा बढी गाउँमा रमाइलो लाग्छ। जसका कारण सहमा हुने भीड अहिले गाउँतिर देखिन्छ।
कर्णाली प्रदेशभरीका नागरिकहरूको व्यपार, रोजगारी र अध्ययन गर्ने मुख्य सहर वीरेन्द्रनगर हो। त्यसै, अवसरमा सुर्खेतमा बसोबास गर्नेहरू दसैं मनाउन आफ्नो जन्मथलो फर्किरहेका छन्। सुर्खेतमा होटल व्यवसाय गर्दै आएका जुम्लाका चुनु रावलले भने, वर्षभरि वीरेन्द्रनगरमै बसिन्छ। तर दसैं मनाउन र देवताको पूजामा सहभागी हुन दसैंमा घर गइन्छ। गत वर्षहरूमा दसैं आउन एक–दुई दिन बाँकी रहदा जुम्ला गयिन्थ्यो। यसपाली भने घटस्थापनाको अघिल्लो दिनमा नै जुम्ला हिँडियो।
सहरमा कोठा भाडामा लिएर बस्ने परिवारहरू पनि दसैंको बिदा गाउँ जाने गर्छन्। कोरिया जाने सपना बोकेर वीरेन्द्रनगरमा कोरियन भाष पढिरहेका मिसन बोगटीले भने, वर्षभरि पढाइका सिलसिलामा गाउँ जान पाइएन्। अब घर–घर फर्किनुछ। परिवारका लागि आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु लिएर जाने हो। गाउँमा दसैं मनाउन निकै रमाइलो हुन्छ। दसैं अगाडि सुनसान गाउँहरूमा पनि दसैंका वेला निकै चहलपहल हुन्छ। सबै आफन्तहरूसँग भेटघाट पनि हुन्छ। ज्येष्ठ नागरिक र केही परिवार मात्र बाँकी हुने गाउँहरूमा पनि अहिले चलायमान बनेका छन्। उनले थपे, दसैंका बेला बन्द घरका ढोका खुल्छन्, आँगनमा बालबालिका खेल्न थाल्छन् र छिमेकीबीच भेटघाट बाक्लिन्छ। लामो समयपछि गाउँ फर्किएका आफन्तलाई स्वागत गर्ने, घर सफा गर्ने र चाडपर्वको तयारी गर्ने क्रमले बस्तीमा नयाँ ऊर्जा थप्छ। गाउँका पसलमा किनमेल बढ्छ। चिया पसलमा गफगाफ बाक्लिन्छ। सहरबाट फर्किएका बालबालिकाको उपस्थितिले गाउँका गल्ली र आँगनमा हाँसो गुञ्जिन थाल्छ। जसका कारण गाउँ नै रमाइलो हुन्छ।
कर्णालीका सडक जीर्ण, यात्रा जोखिमपूर्ण
कर्णाली प्रदेशका विभिन्न जिल्लामा जाने सडकको दुरवस्थाका कारण यात्रुहरूले सास्ती खेप्नुपरेको छ। कच्ची सडक, खाल्डाखुल्डी, पहिरो, साँघुरा घुम्ती र भत्किएका सडकखण्डका कारण कर्णालीका पहाडी तथा हिमाली जिल्लाको यात्रा चुनौतीपूर्ण बन्दै गएको हो। यसपाली त नियमित वर्षा र ठाँउठाँउमा पहिरो खसिरहँदा झ गन्तव्यमा पुग्नै मुस्कील हुन्छ। कालिकोट लालुका स्थानिय उमेश बिष्टले भने, कर्णाली राजमार्गको यात्रा भगवान भरोषामा गर्नुपर्छ।
मानिसहरू गाडीमा चढ्दा देवतालाई धजा चिरेर यात्रा गर्छन्। दुर्घटना र पहिरोको जोखिमबाट बचाइदिनु भनेर। कर्णाली राजमार्गको स्तोरोन्नतीका लागि राज्यको ध्यान पुग्दैन्। नागरिकहरूले बर्सेनि सास्ती खेप्नुपरेको छ। प्रदेशका ग्रामीण तथा मुख्य सडकमा पर्याप्त मर्मतसम्भार नहुँदा यातायात सेवा प्रभावित हुने गरेको छ। वर्षायाममा वर्षा र पहिरोका कारण सडक अवरुद्ध हुने तथा हिउँदमा धुलो र खाल्डाखुल्डीले यात्रुलाई हैरान पार्ने गरेको छ। कतिपय सडकखण्डमा सवारीसाधन सञ्चालन गर्नसमेत कठिन हुने अवस्था छ।
सामाजिक अभियान्ता दिलिप शाहीले भने, कर्णालीमा सडकको कमजोर अवस्थाले यात्राको समय बढाउनुका साथै दुर्घटनाको जोखिम पनि बढाएको छ। विशेषगरी साँघुरा सडक, भिरालो भू–भाग र सुरक्षाका पर्याप्त उपाय नभएका स्थानमा यात्रा गर्नु जोखिमपूर्ण छ। तर, पनि जोखिम मोलेर यात्रा गर्नुको विकल्प पनि छैन्। सडकको दूरवस्थाका कारण बिरामी, ज्येष्ठ नागरिक, विद्यार्थी र अत्यावश्यक कामले यात्रा गर्ने नागरिक बढी प्रभावित भएका छन्।
सडक सहज नहुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी महँगो हुने, कृषिउपज बजारसम्म पु¥याउन कठिनाइ हुने र स्थानीय उत्पादनले उचित मूल्य पाउन नसक्ने समस्या पनि छ। कालीकोट तिलागुफाका किसान सूर्य शाहीले भने, कर्णाली दुर्गम होइन्। यातायातको असुविधा र विकासको मूल प्रवाहमा नपुग्दा दुर्गम बनाइएको हो। यसमा राज्यको दोष छ। सहज यातायात नभएकै कारण हाम्रो उत्पादनले बजार पाएको छैन्। हाम्रो यात्रा पनि असुरक्षित बनेको छ। यी सडकमा हुने दुर्घटनाहरूका कारण हामीलाई त्रासमा यात्रा गर्नुपर्छ। अब सरकारले यातायात सेवालाई सुविधायुक्त बनाउन ध्यान दिनुपर्छ। कर्णालीका नागरिकलाई सुरक्षित र सहज यातायातको पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायले प्रभावकारी योजना बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ।
दसैं–तिहार सुरक्षा योजना : कर्णालीमा ५ हजार प्रहरी परिचालन
कर्णालीमा प्रहरीले दसैं, तिहार लक्षित सुरक्षा योजना बनाएको छ। जस अनुसार ५ हजारभन्दा बढी प्रहरी परिचालन गरेको प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले बताए। उनका अनुसार नेपालीका महान् चाड विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै कर्णाली प्रदेश प्रहरीले सुरक्षा योजना लागू गरेको छ।
चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण र नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन प्रदेशका १० वटै जिल्लामा ५ हजार ३ सय १४ प्रहरी परिचालन गरिएको छ। डीआईजी सापकोटाका अनुसार चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका लागि कुल १ हजार ४ सय ६२ वटा ड्युटी निर्धारण गरिएको छ।
आवश्यकताअनुसार रिजर्भ प्रहरीसमेत परिचालन गर्ने व्यवस्था मिलाइएको छ। योजना असोज २५ गते घटस्थापनादेखि कात्तिक ३० गते छठ पर्व सम्पन्न नहुँदासम्म लागू हुनेछ। चाडपर्वका समयमा बजार, वित्तीय संस्था, सुनचाँदी पसल, धार्मिक तथा पर्यटकीय स्थल र सार्वजनिक यातायातमा मानिसको चहलपहल बढ्ने भएकाले सुरक्षा चुनौतीलाई ध्यानमा राखेर प्रहरी परिचालन गरिएको हो। प्रहरीले चोरी, लुटपाट, पाकेटमारी, ठगी, झैझगडा, जुवातास तथा अवैध लागुऔषधको कारोबार नियन्त्रणमा विशेष निगरानी गर्ने योजनामा छ।
सडक सुरक्षा तथा सार्वजनिक यातायात व्यवस्थापनलाई पनि योजनाको प्राथमिकतामा राखिएको छ। चाडपर्वमा यात्रुको चाप बढ्ने र लामो दूरीका सवारीसाधनमा यात्रा गर्नेको संख्या वृद्धि हुने भएकाले ट्राफिकसहितको संयुक्त जाँच, नियमित गस्ती तथा सवारीसाधनको निगरानी गरिनेछ। यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र यात्रुलाई दुव्र्यवहार गर्ने गतिविधि नियन्त्रण गर्ने योजना छ।
अन्नपुर्ण


+ There are no comments
Add yours