कांग्रेस महाधिवेशन : आजदेखि कांग्रेसको १५औँ महाधिवेशन

१८ असाेज,काठमाडौँ । लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (आइतबार)देखि सुरु हुँदै छ । विशेष महाधिवेशनपछि दुई समूहमा विभाजित कांग्रेसको आधिकारिक/संस्थापन पक्षले आज काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन गर्न लागेको हो । गत साता देशका विभिन्न भागमा परेको अविरल वर्षा र त्यसबाट सिर्जित प्राकृतिक विपत्का कारण पूर्वनिर्धारित असोज १६ गतेको कार्यक्रम दुई दिन पछाडि पसारेर कांग्रेसले आज महाधिवेशन उद्घाटन गर्न लागेको हो ।

महाधिवेशनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि समिति संयोजक एवं पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनका लागि खुलामञ्चमा मञ्च निर्माण तथा बन्दसत्रका लागि विभिन्न हल व्यवस्थापन गरिएको छ । हालैको प्राकृतिक प्रकोपका कारण महाधिवेशनमा प्रचारप्रसारका नाममा कुनै तामझाम नगर्ने कांग्रेसले निर्णय गरेको छ । त्यसैकारण कार्यक्रम स्थलमा एउटा मूल गेटबाहेक शहर बजारमा कुनै प्रचार सामग्री टाँगिएको छैन । पार्टीले डिजिटल प्रचारलाई जोड दिएको छ ।

महाधिवेशनमा सात हजार सात सयभन्दा बढी निर्वाचित प्रतिनिधिहरू सहभागी हुँदै छन् । केन्द्रीय निर्वाचन समितिले तयार पारेको कार्यतालिका अनुसार असोज १८ गते खुलामञ्चमा उद्घाटन सत्र हुनेछ भने असोज १९ र २० गते बन्द सत्र चल्नेछ । त्यस्तै, असोज २१ र २२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

१५औँ महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय अतिथिहरूलाई पनि निमन्त्रण गरिएको छ । कार्यक्रम स्थलमै प्राथमिक स्वास्थ्य उपचार केन्द्र र मिडिया सेन्टर स्थापना गरिएको चालिसेले दिनुभयो । संस्थापनको महाधिवेशन सुरु भइरहँदा असन्तुष्ट समूहले भने आउँदो मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अहिले देशव्यापी वडा तथा पालिका अधिवेशन गरिरहेको छ । गत वर्ष भदौमा भएको जेन-जी विद्रोहपश्चात् हुन लागेको कांग्रेस महाधिवेशनलाई महत्त्वका साथ हेरिएको छ । पार्टीको एउटा समूह बाहिरै रहेकाले पनि कांग्रेसले १५औँ महाधिवेशनलाई आफ्नो ऐतिहासिक विरासतको निरन्तरता र बदलिँदो राजनीतिक परिवेशमा रूपान्तरणकारी सन्तुलन खोज्नुपर्ने अवस्था छ ।

यसअघि २०७८ मंसिर २४-२८ गते काठमाडौंमै कांग्रेसको १४औँ महाधिवेशन भएको थियो । उक्त अधिवेशनबाट दोस्रो कार्यकालका लागि देउवा पुनः सभापति निर्वाचित हुनुभएको थियो । त्यसपश्चात् गत वर्षको ‘जेन-जी’ आन्दोलनपछि पुस २७-३० गते काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सर्वसम्मत् सभापतिमा निर्वाचित हुनुभएको थियो । तर, कांग्रेसकै एउटा समूहले भने विशेष महाधिवेशन बहिष्कार गरेको थियो । विशेष महाधिवेशनलाई विधानविपरीत भन्दै निर्वाचन असन्तुष्ट सूमह निर्वाचन आयोग र अदालतसम्म पुगेको थियो । दुवै निकायले विशेषलाई नै मान्यता दिएका थिए । यद्यपि, यसबारे रिट निवेदन सर्वोच्चले सुरुदेखि सुनुवाइ गर्ने आदेश गरेको छ ।

३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क तयार गरिएको छ । हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिहरूका लागि स्वास्थ्य सेवा प्रदान गरिनेछ । महाधिवेशन स्थल रहेको खुला मञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क बनाइएको महाधिवेशन आयोजक समिति अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीले जानकारी दिनुभयो । पाँच स्टल रहने हेल्थ डेस्कमार्फत सामान्य स्वास्थ्य परीक्षण र आकस्मिक सेवा प्रदान गरिने छ । केसीले हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुने जानकारी दिनुभयो । डेस्कमा आठजना चिकित्सक, पारामेडिक्स तथा नर्सहरू रहनेछन् भने ब्लड प्रेसर, सुगर, सिटामोल, जवनजल, घाउचोटमा प्रयोग हुने औषधिलगायत निःशुल्क प्रदान गरिनेछ ।

महामन्त्रीमा आकांक्षीको लर्को, पदाधिकारीको संख्या थप्ने तयारी

कांग्रेसको महामन्त्री पदका लागि आकांक्षीको लर्को लागेको छ । १५औँ महाधिवेशनमा महामन्त्री पदमा आकांक्षीहरूको लर्को लागेको हो । कांग्रेसको विधानअनुसार २ जना महामन्त्री हुने व्यवस्था छ । तर, विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेसहित नेताहरूले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । दुई महामन्त्रीसहित नैनसिंह महर, सुनिल शर्मा, मधु आचार्य, अमरसिंह पुन, उदयशमशेर राणा, आङ्गेलु शेर्पा र रञ्जित कर्ण आकांक्षीका रूपमा देखिनुभएको छ । यसबाहेक अरू थुप्रै युवा पनि महामन्त्रीको आकांक्षी देखिएका हुन् । महर त अभियान लिएर देश दौडाहा केन्द्रित भइसक्नु भएको छ ।

सुनिल शर्माले शनिबार नै सानेपामै पत्रकार सम्मेलन राखेर उम्मेदवारीको घोषणा गर्नुभएको छ । यसबाहेक अमरसिंह पुन र उदयशमशेर राणाले सामाजिक सञ्जालबाट उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको विधानमा सभापति एक, उपसभापति र महामन्त्री दुई/दुई र सहमहामन्त्री क्लस्टरबाट आठजना हुने व्यवस्था छ । तीन सहमहामन्त्री सभापतिले मनोनयन गर्न पाउने व्यवस्था छ । तर, आकांक्षी बढेपछि नेता व्यवस्थापनका लागि सभापति थापाले पदाधिकारीको संख्या थप्ने तयारी गर्नुभएको छ ।

अहिले विधान संशोधन गरेर उपसभापति र महामन्त्री एक/एक र सहमहामन्त्री चार/पाँचजना थप्नेसम्मको तयारी भएको कांग्रेस नेताहरू नै बताउँछन् । महाधिवेशनको बन्दसत्रमा पदाधिकारीको संख्या बढाउनेगरी प्रस्ताव लैजाने गरी तयारी गरिएको कांग्रेसका एक नेताले बताउनुभयो ।

रवि, ओली, प्रचण्डलाई निम्तो : अरू को-को आउँदै छन् ?

कांग्रेसको १५औँ महाधिवेशनलाई रास्वपाका सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ । लामिछानेसहित नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बोधन गर्ने तय भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट अध्यक्ष सिके राउत, श्रम संस्कृति पार्टी महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चा अध्यक्षका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल उद्घाटन समारोहमा सहभागी हुने निश्चित भएको छ । अन्तर्राष्ट्रिय अतिथिहरूमा सोसलिष्ट इण्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा महाधिवेशनमा सहभागी हुन नेपाल आइसकेको उहाँले बाउनुभयो ।

केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उम्मेदवारी दर्ता

कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म मनोनयन दर्ताका लागि समय दिएको छ । केन्द्रीय कार्यसमितिका लागि प्रतिनिधिहरूलाई राष्ट्रियसभा गृहमा मनोनयन पत्र दर्ता गर्ने कांग्रेसले जनाएको छ । केन्द्रीय कार्यसमितिका विभिन्न पदमा मनोनयन दर्ता गर्ने प्रतिनिधिहरूलाई समयसीमा निर्धारण गरिएको हो । निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरूलाई निर्धारित समयभित्र उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न सूचित गरेको छ ।

प्रतिनिधिलाई खाना र खाजा पार्टीको, बास आफ्नै

कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई खाजा र खाना पार्टीका तर्फबाट व्यवस्था गर्ने भएको छ । बासको व्यवस्था भने प्रतिनिधि आफैँले गर्नुपर्ने छ । आइतबारदेखि काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशनमा सात हजार पाँच सय प्रतिनिधि सहभागी हुँदै छन् । कांग्रेस प्रवक्ता देवराज चालिसेले सात हजार पाँच सय बढी महाधिवेशन प्रतिनिधि चयन भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार यो संख्या हालसम्मकै धेरै हो । महाधिवेशन प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा गरिने भएको छ  । ‘बिहान खाजा, दिउँसो खाना र बेलुकाको खाजा भृकुटीमण्डपमा हुनेछ । बासको खर्च प्रतिनिधि आफैँले गर्नुपर्छ, होटलमा समन्वय भने पार्टीले काम गर्छ’, उहाँले भन्नुभयो ।

प्रतिनिधिका लागि सुन्धारा, ठमेल, नयाँ बसपार्क, कलंकी, एयरपोर्टलगायत क्षेत्रका होटलहरूमा व्यवस्था गरिएको आवास व्यवस्थापन उपसमितिका संयोजक रमेश धमलाले जानकारी दिनुभयो । ‘पाँच हजार कोठा आवश्यक पर्ने अनुमान गरेका छौँ । जिल्ला र निर्वाचन क्षेत्रअनुसार बास व्यवस्थापनका लागि संयोजक तोकिएको छ  । प्रतिनिधिहरू मनपरेको ठाउँमा बस्नुहुने छ’, उहाँले भन्नुभयो, ‘आवास बापतको खर्च सहभागी स्वयंले बेहोर्नुपर्ने छ  ।’ फरक क्षमता, वृद्धवृद्धा, बिरामी, अशक्तलाई खानाको लाइनमा विशेष व्यवस्था गरिने धमलाले जानकारी दिनुभयो । १० हजार प्रतिनिधि तथा शुभेच्छुक बस्न मिल्नेगरी काठमाडौंका विभिन्न क्षेत्रका होटल बुकिङ गरिएको नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघका अध्यक्ष लीलाप्रसाद ढकालले जानकारी दिनुभयो ।

पूर्वसभापति देउवाबाटै उद्घाटन गराउने हाम्रो चाहना हो : प्रवक्ता चालिसे

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसले पूर्वसभापति शेरबहादुर देउवाबाट महाधिवेशन उद्घाटन गराउने आफूहरूको चाहना रहेको बताउनुभएको छ । शनिबार महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आउने/नआउने कुरा भने उहाँकै हुने बताउनुभयो । यद्यपि, महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहेको उहाँले स्मरण गर्नुभयो । अहिलेसम्म सभापति गगनकुमार थापालाई कसैले चुनौती नदिएको चालिसेले बताउनुभयो । सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने उहाँको भनाइ छ । उहाँका अनुसार महाधिवेशनमा सभापति थापाले पार्टीको आगामी कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक र महामन्त्री प्रदीप पौडेलले संगठनात्मक प्रतिवेदन पेस गर्नुहुने छ ।

देउवा समूहको दाबी- अधिवेशनमा सहभागीहरू पनि हामीतिर खुल्दै छन्

कांग्रेसको इतर पक्षका नेता डा. प्रकाशशरण महतले सभापति गगन थापाले गराएको अधिवेशन प्रक्रियामा वडादेखि नै संलग्न भएका पार्टीका नेता–कार्यकर्ता पनि आफ्नो समूहमा खुल्न थालेको दाबी गर्नुभएको छ । काठमाडौंमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उहाँले देशभर पार्टीका नेता–कार्यकर्ता स्वतःस्फूर्त रूपमा आफूहरूको अधिवेशनमा जोडिएको दाबी गर्नुभएको हो । पार्टीको विशेष अधिवेशनमार्फत पार्टीलाई बिथोल्ने प्रयास भएको भन्दै त्यसको विरोधमा नेता कार्यकर्ता उभिएको उहाँको दाबी छ । ‘प्रतिकूल परिस्थितिका बाबजुद नेता-कार्यकर्ता आफ्नै खर्चमा जिल्ला तथा वडा तहमा भेला तथा गतिविधिमा सहभागी भइरहेका छन् । धेरै ठाउँमा अपेक्षा गरेभन्दा पनि बढी सहभागिता भइरहेको छ । मूल कुरा सौहार्दता अत्यन्तै धेरै छ’, उहाँले भन्नुभयो, ‘तिमीहरूको पद जान्छ, आधिकारिकता हामी नै हौँ, कांग्रेस त हामी नै हौँ भनेर ठूलो दबाब दिइएको छ । ती दबाबका बाबजुद साथीहरू पद महत्त्वपूर्ण कुरा होइन, हामी नै रियल कांग्रेस हौँ भनेपछि हाम्रो जिम्मेवारी कसले खोस्न सक्छ भनेर अडिनुभएको छ ।’ विशेष अधिवेशनको प्रक्रियामा सहभागी भएका केही नेता कार्यकर्तासमेत पछिल्लो समय आफ्नो समूहको अधिवेशन प्रक्रियामा वडादेखि नै सहभागी हुन थालेको उहाँको दाबी छ । ‘अरू धेरै साथीहरू पनि भ्रममा परेर उताको अधिवेशनमा सहभागी भएका साथीहरू पनि फटाफट, होइन हामीले त यो गलत गरेछौँ भनेर हाम्रो यो अधिवेशनको प्रक्रियामा वडादेखि नै संलग्न हुन थाल्नुभएको छ,’ महतले भन्नुभयो, ‘शेरबहादुरजीको नेतृत्वमा जुन १४औँ अधिवेशन सम्पन्न भयो र उहाँ निर्वाचित हुनुभयो । उहाँले नै अब १५औँ अधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्ने हो । अहिले स्वतःस्फूर्त रूपमा देशैभरि पार्टीका साथीहरू यो अभियानमा जुट्नुभएको छ ।’

निवर्तमान सभापति देउवा २१ वर्षपछि फेरि कांग्रेसको महाधिवेशनमा सहभागी नहुने हुनुभएको छ । २०५९ सालमा कांग्रेस विभाजन गरी तत्कालीन कांग्रेस ‘प्रजातन्त्रिक’ बनाउनुभएका देउवा २०६२ सालमा भएको कांग्रेसको ११औँ महाधिवेशन बाहिर हुनुहुन्थ्यो ।

स्थापनाको आठ दशकमा १४ वटा महाधिवेशन, १० जना नेतृत्वमा

नेपाली कांग्रेस आठ दशक लामो इतिहास बोकेको राजनीतिक दल हो । विवादबीच कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदै छ । कांग्रेसमा स्थापना कालदेखि अहिलेसम्म सैद्धान्तिकभन्दा व्यक्तिगत विवाद हाबी हुँदा विभाजन हुँदै आएको छ । व्यक्तिगत लाभ हानिले स्थापनाको आठ दशकमा विभाजन र विग्रहको भुमरीमा फस्दै आएको कांग्रेस १५औँ महाधिवेशनमा पनि त्यही अवस्थामा पुगेको छ ।

पार्टीको नीति, सिद्धान्त र निर्णयभन्दा आफू र आफ्नाका लागि नेताहरू केन्द्रित हुँदा फेरि एकपटक कांग्रेस चिरो परेको छ । विशेष महाधिवेशनबाट आएको नेतृत्वले आज (आइतबार) २ बजे पार्टीको १५औँ महाधिवेशन उद्घाटन गर्दै छ । तर, १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहितका नेताहरू आज सुरु हुने महाधिवेशनमा सहभागी हुने छैनन् । अलग्गै महाधिवेशन गर्ने तयारीअनुसार देउवा पक्ष वडा अधिवेशनमा व्यस्त छ । हुन त २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस मिलेर नेपाली कांग्रेसको स्थापना भएको हो ।

त्यससँगै कांग्रेसका नेताहरूको व्यक्तिगत र गुटगत स्वार्थले विगतमा कांग्रेस मात्र होइन, सिंगो मुलुक नै अप्ठेरोमा परेका उदाहरण छन् । कांग्रेस स्थापनाको आठ दशकमा हालसम्म १४ वटा महाधिवेशन भएका छन् । त्यसक्रममा सभापति, संयोजक, अध्यक्ष गरी अहिलेसम्म १० जना नेता नेतृत्वमा आएका छन् । महामन्त्रीको जिम्मेवारीमा २८ जना पुगेका छन् ।

पहिलो महाधिवेशन : २००३ माघ १२ र १३ गते कोलकाताको भवानीपुरमा नेपाली राष्ट्रिय कांग्रेसको सम्मेलन भएको थियो । यही सम्मेलनलाई कांग्रेसको पहिलो महाधिवेशनका रूपमा लिने गरिएको छ । उक्त सम्मेलनले सर्वसम्मतिमा नै टंकप्रसाद आचार्यलाई नेपाली राष्ट्रिय कांग्रेसको पहिलो सभापति घोषणा गरेको थियो । आचार्य नेपाल प्रजापरिषद्को सभापति हुँदाहुँदै नेपाली राष्ट्रिय कांग्रेसको पनि सभापति बन्नुभएको थियो । विश्वेश्वरप्रसाद कोइराला उक्त कार्यसमितिको कार्यवाहक सभापति बन्नुभएको थियो ।

दोस्रो महाधिवेशन : २००३ फागुन २१ मा विराटनगरस्थित जुद्ध जुट मिलमा मजदुर हड्ताल भएको थियो । हड्तालको नेतृत्व गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले गरेका थिए । उक्त मजदुर आन्दोलनको नेतृत्व गर्न बीपी कोइराला विराटनगर पुग्नुभएको थियो । फागुन २६ मा कोइराला पक्राउ पर्नुभयो । बीपी पक्राउ परेपछि पार्टीको नेतृत्व परिवर्तन गर्न २००३ चैत २७ र २८ मा जोगबनीमा पार्टी प्रतिनिधिहरूको सम्मेलन बोलाइएको थियो । उक्त सम्मेलनमा कार्यकारी सभापतिका रूपमा मातृकाप्रसाद कोइरालालाई चयन गरिएको थियो ।

तेस्रो महाधिवेशन : २००५ फागुन १८ मा भारतको दरभंगामा नेपाली राष्ट्रिय कांग्रेसले तेस्रो वार्षिक अधिवेशन गर्‍यो । मातृकाप्रसाद कोइराला नै सभापतिमा चयन हुनुभयो ।

चौथो महाधिवेशन : २००६ चैत २७ मा भएको चौथो महाधिवेशन भारतमा भएको थियो । कोलकाताको टाइगर सिनेमा हलमा बृहत् सम्मेलन (अधिवेशन) आयोजना गरिएको थियो । सोही सम्मेलनले दलको नाम ‘नेपाली कांग्रेस’ राखेको थियो । मातृकाप्रसाद कोइराला सभापति बन्नुभएको थियो ।

पाँचौँ महाधिवेशन : २००९ जेठ १० देखि १२ सम्म पाँचौँ महाधिवेशन जनकपुरमा भएको थियो । विवाद र तनावका बीच भएको मतदानमा सभापतिमा बीपी कोइराला नै विजयी हुनुभएको थियो ।

छैटौँ महाधिवेशन : २०१२ माघमा कांग्रेसको छैटौँ महाधिवेशन वीरगञ्जमा भएको थियो । गणेशमान सिंहलाई पराजित गर्दै सुवर्णशमशेर राणा सभापतिमा निर्वाचित हुनुभएको थियो । २०१४ जेठमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो । विराटनगरमा भएको विशेष महाधिवेशनबाट बीपी कोइराला सर्वसम्मतिबाट पुनः सभापति बन्नुभएको थियो ।

सातौँ महाधिवेशन : काठमाडौंको महाराजगञ्जस्थित लक्ष्मी निवासमा २०१७ वैशाखमा सातौँ महाधिवेशन भएको थियो । बीपी कोइरालासँग भूदेव राईले नेतृत्वमा पुग्न प्रतिस्पर्धा गरे पनि सफल हुनुभएन । महाधिवेशन भएको आठ महिनामै अर्को महाधिवेशन गर्नुपरेको थियो । २०१७ पुस १ गते राजा महेन्द्रले ‘कू’ गरेपछि प्रधानमन्त्री तथा पार्टी सभापति बीपीसहितका नेता जेल परेका थिए । भारत भ्रमणका कारण जेलबाहिर रहेका सुवर्ण शमशेरले सोही वर्षको माघमा भारतको पटनामा कांग्रेस कार्यकर्ताहरूको सम्मेलन बोलाउनुभयो । त्यही सम्मेलनले उहाँलाई कार्यवाहक सभापति पनि चयन गर्‍यो । २०३४ सालमा पटनामा कांग्रेस कार्यकर्ताहरूको सम्मेलन आयोजना गरिएको थियो । रिहा हुनुभएका बीपीले कार्यवाहक सभापतिको जिम्मेवारी कृष्णप्रसाद भट्टराईलाई सुम्पिनुभयो ।

आठौँ महाधिवेशन : मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएपछि २०४८ फागुनमा झापाको कलभडगुडीमा आठौँ महाधिवेशन भएको थियो । उक्त महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

नवौँ महाधिवेशन : २०५३ वैशाखमा कांग्रेसको नवौँ महाधिवेशन काठमाडौंमा भएको थियो । चिरञ्जीवी वाग्ले र रामहरि जोशीलाई पछि पार्दै गिरिजाप्रसाद कोइराला सभापतिमा निर्वाचित हुनुभएको थियो । तर, त्यस महाधिवेशनमा संस्थापक नेता गणेशमान सिंह सहभागी हुनुभएन ।

दसौँ महाधिवेशन : २०५७ माघमा कांग्रेसको दसौँ महाधिवेशन पोखरामा भएको थियो । गिरिजाप्रसाद कोइरालासँग शेरबहादुर देउवा र रामहरि जोशी प्रतिस्पर्धामा उत्रिनुभएको थियो । तर, गिरिजाप्रसाद नै लगातार दोस्रो पटक निर्वाचित हुनुभयो । २०५९ सालमा कांग्रेस विभाजित भएर नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक बन्यो ।

एघारौंँ महाधिवेशन : एघारौँ महाधिवेशन विभाजित अवस्थामा दुई कांग्रेसको अलग-अलग भएको थियो । २०६२ भदौमा ललितपुरको सानेपामा भएको महाधिवेशनबाट नरहरि आचार्यलाई पराजित गर्दै गिरिजाप्रसाद कोइराला फेरि सभापति निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापतिमा शेरबहादुर देउवा हुनुहुन्थ्यो । २०६४ असोजमा दुई कांग्रेसबीच एकीकरण भएको थियो ।

बाह्रौँ महाधिवेशन : २०६७ असोजमा कांग्रेस बाह्रौँ महाधिवेशन काठमाडौंमा भएको थियो । शेरबहादुर देउवा र भीमबहादुर तामाङलाई पराजित गर्दै सुशील कोइराला सभापतिमा निर्वाचित हुनुभयो । तेह्रौँ महाधिवेशनपूर्व नै सुशील कोइरालाको निधन भयो । कार्यवाहक सभापतिको जिम्मेवारी रामचन्द्र पौडेलले सम्हाल्नुभएको थियो ।

तेह्रौँ महाधिवेशन : २०७२ फागुनमा कांग्रेसको तेह्रौँ महाधिवेशन काठमाडौंमै भयो । शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच सभापतिमा प्रतिस्पर्धा भएको थियो । उनीहरू कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउन सकेनन् । पछि धेरै मत ल्याउने दुई नेताबीचको प्रतिस्पर्धामा पौडेललाई पराजित गर्दै देउवा सभापतिमा निर्वाचित हुनुभएको थियो ।

चौधौँ महाधिवेशन : २०७८ मंसिरमा कांग्रेसको चौधौँ महाधिवेशन पनि काठमाडौंमा भयो । सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा उत्रिनुभयो । पहिलो चरणमा आवश्यक ५० प्रतिशत मत नपाएपछि देउवा र शेखरबिचमा दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो । शेखरलाई पराजित गर्दै देउवा लगातार दोस्रो पटक सभापतिमा निर्वाचित हुनुभयो ।

दोस्रो विशेष महाधिवेशन : २०८२ भदौमा भएको जेन-जी विद्रोहसँगै कांग्रेसमा विवाद तीव्र बन्न पुग्यो । तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन माग भयो । तर, संस्थापन पक्षले त्यसलाई स्वीकार गरेन । २०८२ पुसमा विशेष महाधिवेशन आयोजना गरेर महामन्त्रीद्वयले देउवा नेतृत्व कार्यसमिति हटाएर थापाको नेतृत्वमा नयाँ समिति गठन गरेका थिए । त्यसलाई निर्वाचन आयोग र सर्वोच्चले सदर गरे पनि कांग्रेसको आधिकारिकता विवाद सर्वोच्चमा विचाराधीन छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours