मनसुनको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

१४ असोज, काठमाडौँ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

महाशाखाका अनुसार हाल देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने पहाडी र तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।

देशका तराई भूभागमा राति मौसम मुख्यतया सफा रहनेछ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours