भूकम्पबाट थप क्षतिग्रस्तबनेको जाजरकोट दरबार भत्किँदै, संरक्षणकाे पर्खाईमा

१० असोज, सुर्खेत । जाजरकोट सदरमुकाम खलंगामा रहेको ऐतिहासिक जाजरकोट दरबारको एक भाग भत्किएको छ। लामो समयदेखि जीर्ण अवस्थामा रहेको दरबार २०७२ सालको भूकम्प र त्यसपछि २०८० कात्तिक १७ गतेको भूकम्पबाट थप क्षतिग्रस्तबनेको थियो।

ऐतिहासिक अभिलेखअनुसार जाजरकोट दरबार वि.सं. १८५२ मा तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा निर्माण भएको हो। वि.सं. १९९० को भूकम्पबाट क्षति पुगेपछि यसको पुनर्निर्माण गरिएको थियो।

२०८० सालको भूकम्पपछि दरबारको संरचना थप कमजोर बने पनि समयमै संरक्षण तथा पुनर्निर्माणको काम अघि बढ्न नसक्दा अहिले एक भाग भत्किएको हो। वर्षात्, चिस्यान र नियमित संरक्षणको अभावले बाँकी संरचना पनि जोखिममा परेको स्थानीय बताउँछन्।

दरबारको ऐतिहासिक संरचना संरक्षणका लागि पुरातत्व विभाग, स्थानीय तह र सम्बन्धित निकायले चासो दिनुपर्ने स्थानीयको माग छ।

जाजरकोटको इतिहास, संस्कृति र पर्यटनसँग जोडिएको सम्पदा संरक्षण हुन नसके यसको मौलिक संरचना नै गुम्ने जोखिम रहेको स्थानीयको भनाइ छ।

#जाजरकोटदरबार

You May Also Like

More From Author

+ There are no comments

Add yours