हिमाल आरोहण अनुमति

०४ असोज, काठमाडौँ । सन् २०२६ को शरद् ऋतुमा हिमाल आरोहणका लागि ५५ समूहका ५७९ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शनिबारसम्म विभिन्न ११ वटा हिमाल आरोहण गर्न ४३२ पुरुष र १४७ महिला आरोहीले अनुमति लिएका हुन् ।

विभागका निर्देशक निशा थापा राउतले यस वर्षको शरद् ऋतुमा हिमाल आरोहणका नेपालसहित ६७ देशका ५७९ जनाले आरोहण अनुमति लिएको बताउनुभयो । “अनुमति लिनेमा सबैभन्दा बढी चीनबाट र सबैभन्दा बढी मनासलुमा आरोहण अनुमति जारी भएको छ,” उहाँले भन्नुभयो । आरोहण अनुमतिबापत २३ करोड ५१ लाख ८३ हजार २३२ रुपियाँ हिमाली दस्तुर (राजस्व) सङ्कलन भएको छ ।

राउतका अनुसार शरद् ऋतुमा मनासलु आरोहणका लागि ४१ समूहका ३६६ पुरुष र १२७ महिला आरोहीले अनुमति लिएका छन् । जसबापत २२ करोड ४८ लाख १४ हजार १८९ रुपियाँ राजस्व सङ्कलन भएको छ । धवलागिरि पहिलो आरोहण गर्न अनुमति दिएबापत ७७ लाख ८२ हजार ४५० रुपियाँ, मकालु पहिलोबाट छ लाख ८८ हजार ५० रुपियाँ, डाङ्गा हिमालबाट ७६ हजार ५२८ रुपियाँ राजस्व सङ्कलन भएको छ ।

यस्तै गरी गङ्गापूर्ण पश्चिमबाट एक लाख २१ हजार ३६०, थोराङ पिकबाट एक लाख ८६ हजार ४४५, नोर्बु खाङबाट ५३ हजार २७०, अन्नपूर्ण चौथोबाट तीन लाख छ हजार दुई सय, चाम्लाङबाट तीन लाख ६६ हजार २४०, वरुणत्सेबाट छ लाख १२ हजार र लमजुङ हिमाल आरोहण गर्न दिएको अनुमतिबाट ७६ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको छ ।

विभागका अनुसार शरद् ऋतुमा हिमाल आरोहण गर्न सबैभन्दा बढी चीनबाट ११७, रसियाबाट ५३, फ्रान्सबाट ४१, अमेरिकाबाट ३९ र बेलायतबाट २८ जनाले अनुमति लिएका छन् ।

आरोहणको प्रतीक्षामा आरोही

विश्वको आठौँ अग्लो हिमाल मनासलु आरोहण मार्ग खुलेसँगै आरोही आरोहणको प्रतीक्षामा रहेका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालका अनुसार मनासलुको शिखरसम्म डोरी टाँग्ने काम सम्पन्न भएलगत्तै मौसम प्रतिकूल भएपछि आरोही आधार शिविरमा शिखरतर्फ लाग्ने पर्खाइमा रहेका छन् । सङ्घका महासचिव ऋषिराम भण्डारीले बिहीबार राति मनासलु चुचुरोसम्म रोप फिक्सिङको काम सम्पन्न भएर अनुभवी शेर्पाको समूह (आइसफल डाक्टर) आधार शिविर फर्किएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले मनासलु क्षेत्रमा बाक्लो हिमपात जारी रहेकाले आरोही चुचुरोतर्फ लाग्न उपयुक्त मौसमको प्रतीक्षामा रहेका छन् ।”

मनासलु आधार शिविरमा सरकारी कार्यालय

पर्यटन विभागले यस वर्षको शरद् ऋतुको मनासलु आरोहणलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन पहिलो पटक आधार शिविरमा सम्पर्क कार्यालय स्थापना गरेको छ । यसअघि सगरमाथा आधार शिविरमा अस्थायी फिल्ड कार्यालय स्थापना गरेर आरोही, पर्वतारोहण व्यवसायी तथा सम्बन्धित सरोकारवालालाई आवश्यक सेवा, समन्वय तथा सूचना प्रवाह गर्दै आएको विभागले यस पटकदेखि मनासलुमा समेत सरकारी कार्यालयको स्थापना गरेर सेवा दिन थालेको हो ।

विभागले आरोहण दलसँगै आधार शिविर पुगेर आरोहण अवधिभरको निरीक्षण तथा सम्पूर्ण गतिविधि अनुगमन गर्न सम्पर्क कार्यालयमा चार जना सम्पर्क अधिकृत खटाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours