०३ असाेज, काठमाडौँ । पप–सम्राट माइकल ज्याक्सनको निधनपछि उनको सम्पत्ति व्यवस्थापन (ईस्टेट) र परिवारबीचको कानुनी लडाइँ नयाँ मोडमा पुगेको छ । ज्याक्सनको ईस्टेटले गत ६ वर्षको अवधिमा विभिन्न कानुनी तथा व्यावसायिक सेवाबापत आफ्ना वकिलहरूलाई ९० लाख डलरभन्दा बढी भुक्तानी गर्न अदालतसँग अनुमति मागेको छ ।
अर्कोतर्फ, माइकलकी छोरी पेरिस ज्याक्सनले माग गरेको १० लाख ६० हजार डलरको कानुनी खर्च ईस्टेटका प्रशासकले दिन अस्वीकार गरेपछि भने दुई पक्षबीच विवाद चर्किएको हो ।
सन् २००९ मा माइकल ज्याक्सनको निधन हुनुअघि उनी ५० करोड डलरभन्दा बढी ऋणमा थिए । तर, ईस्टेटका ‘एक्जिक्युटर’ जोन ब्रांकाका अनुसार सही कर योजना, ट्रेडमार्क र व्यावसायिक सम्झौताहरूका माध्यमबाट ज्याक्सनको सम्पत्तिलाई हाल २ अर्ब डलर (करिब २ खर्ब ६५ अर्ब रुपैयाँ) को विशाल साम्राज्यमा परिणत गरिएको छ । वकिल तथा अन्य विज्ञहरूको निरन्तरको मिहिनेतका कारण यो सफलता सम्भव भएकाले उनीहरूलाई ९० लाख डलर भुक्तानी गर्नु जायज भएको ईस्टेटको दाबी छ ।
यसैबीच, पेरिस ज्याक्सन र ईस्टेटबीच सन् २०१८ को एउटा आर्थिक विवादलाई लिएर कानुनी खिचातानी जारी छ । सन् २०१८ मा ईस्टेटका वकिलहरूलाई बाँडिएको ६ लाख २५ हजार डलर बोनसको विरोध गर्दै पेरिस कानुनी प्रक्रियामा गएकी थिइन् । गत अप्रिलमा अदालतले उनको पक्षमा फैसला गर्दै उक्त बोनस रकम ईस्टेटमा फिर्ता गर्न आदेश दिएको थियो । अदालतले ईस्टेटलाई आर्थिक फाइदा पुर्याएकाले पेरिसलाई मुनासिब कानुनी खर्च पाउन योग्य ठहर्याएको थियो ।
फैसलापछि पेरिसले १० लाख ६० हजार डलरको कानुनी खर्च दाबी गरेकी छन्, जसलाई ईस्टेटका प्रशासक जोन ब्रांकाले ‘अत्यधिक र गैरजिम्मेवार’ भनेका छन् । उनले पेरिसले जितेका मुद्दा र ईस्टेटलाई पुगेको प्रत्यक्ष फाइदाको अनुपातमा मात्र कानुनी शुल्क भुक्तानी हुनुपर्ने अडान लिएका छन् । बोनस रकमको केही हिस्सा वकिलहरूले स्वेच्छाले फिर्ता गरेको र पेरिसले असम्बन्धित खर्चहरू पनि जोडेको ईस्टेटको आरोप छ । अदालतले दुवै पक्षको दाबीमाथि अन्तिम फैसला सुनाउन भने बाँकी नै छ । समाचार एजेन्सी


+ There are no comments
Add yours