१६ भदाै, काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले मंगलबार बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडामा भदौ १५ गते दिउँसो खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध छ।
त्यस्तै, बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ। उक्त खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन गर्न नदिइने प्रहरीले जनाएको छ। दिउँसो भने सडकको अवस्था मूल्याङ्कन गरेर मात्र सवारी सञ्चालन गरिनेछ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ।
रसुवाका अन्य मुख्य राजमार्ग तथा सडकखण्डसमेत बाढीका कारण भदौ १० गतेदेखि नै अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
प्रहरीले वर्षा, बाढी र पहिरोको जोखिम कायमै रहेकाले सडकको अवस्था नबुझी यात्रा नगर्न तथा आवश्यक सावधानी अपनाउन यात्रुहरूलाई आग्रह गरेको छ।


+ There are no comments
Add yours