जीवित छौँ, ठुलो सौभाग्य

१२ भाद्र, देवीघाट (नुवाकोट) “हामी जीवित छौँ । यही हाम्रा लागि ठुलो सौभाग्य हो,” टिमुरेबाट धुन्चे हुँदै नुवाकोटस्थित श्री नं. १ सैन्य तालिम केन्द्र मैथली ब्यारेकमा ल्याइएका अमेरिकी नागरिक अञ्जना राजाले बुधबार बिहानको कहालीलाग्दो दृश्य स्मरण गर्दै भन्नुभयो, “टिमुरे बजारमा खाना खाने निधो भएको थियो । नदीमा चार तला जति माथि बाढी उर्लेको चालकले देख्नासाथ दौडन थालेपछि माथि उक्लेर हामी पनि ज्यान जोगाउन सफल भयौँ ।”

कैलाश मानसरोवरको यात्राका लागि टिमुरे पुगेकी अञ्जना राजासहित करिब एक सय जना विदेशी नागरिकलाई बिहीबार बेलुकीसम्म हेलिकप्टरमार्फत नेपाली सेनाले उद्धार गरेर सो ब्यारेकमा ल्याएको छ । नेपाली सेनाका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेँसी, धुन्चे तथा मैलुङ क्षेत्रबाट एक हजारभन्दा बढी जनाको उद्धार गरिएको छ । उद्धार गरिएका व्यक्तिलाई मैथली ब्यारेकमा चिकित्सकको निगरानीमा राखेर उपचार गरिँदै छ । चिकित्सकीय परामर्श वा उपचारको आवश्यकता नहुनेलाई स्वेच्छाले आफन्त र परिवारको जिम्मा लगाइएको छ ।

नुवाकोटको बट्टारबजारस्थित मैथली ब्यारेक भोटेकोशी बाढीबाट प्रभावितको उद्धारको प्रमुख स्थल बनेको छ । नुवाकोटकै देवीघाट, त्रिशूली बजार, ढुङ्गे तथा बेत्रावतीबाट उद्धार गरिएकालाई नेपाली सेनाको मैथली ब्यारेक र जिल्ला आयुर्वेद अस्पताल, देवीघाटमा राखिएको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार नेपाल सरकारका विभिन्न निकाय तथा सुरक्षा निकायहरू नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी नेपालको समन्वयले बिहीबार बिहानैदेखिका द्रुत उद्धार कार्यले बाढीमा फसेका ठुलो सङ्ख्याका व्यक्तिको उद्धार सम्भव भएको हो । यद्यपि हाइड्रोपावरको सुरुङभित्र फसेका अझै करिब एक सय जनाको उद्धार प्रयास जारी छ । सुरुङमा फसेका मजदुर तथा स्थानीय बासिन्दा गरी करिब ३५० जनाको बिहीबार साँझ उद्धार गरिएको छ ।

विदुर–५, देवीघाटमा भोटेकोशी बाढीले त्रिशूली नदी वरिपरिका करिब दुई सय घर पुरिएको प्रहरी एकाइ देवीघाटका प्रहरी सहायक निरीक्षक अरुणकुमार बैठाले जानकारी दिनुभयो । उहाँका अनुसार देवीघाटमा बाढी प्रवेश गर्नुअघि खाली गराइएका बस्तीका करिब १५० जनालाई आयुर्वेद अस्पतालमा राखिएको छ ।

प्रहरीसँगै लामीबगैँचा सामाजिक युवा क्लब, रेडक्रस नेपाललगायत सङ्घ संस्थाको सहयोगमा खानपिन र बन्दोबस्तीको जोहो गरिएको छ । सो युवा क्लबका अध्यक्ष सुजन गजुरेलले खाद्यान्न, ‘हाइजिन किट’, चाउचाउ, बिस्कुट, चामल र अन्य उपभोग्य सामग्री राहतका रूपमा वितरण गरिएको बताउनुभयो ।

आयुर्वेद अस्पतालमा रहेकालाई सोही स्थानमा खाने, बस्ने व्यवस्था गरिएको छ । देवीघाटमा घर नै बगाएपछि आयुर्वेद अस्पतालमा ल्याइएकी बिनिता चित्रकार तत्कालको व्यवस्थापनप्रति सन्तुष्ट देखिए पनि भविष्यको चिन्ताले पिरोलेको छ ।

सेनाको मैथली ब्यारेकमा चाउचाउ खाँदै गरेका पेमा थुम्बेले आशा मारिसकेको अवस्थामा नेपाली सेनाबाट बिहीबार बिहान उद्धार गरिएकोमा धन्यवाद दिनुभयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours