१२ भाद्र, काठमाडौँ । पासाङल्हामु राजमार्ग अन्तर्गत नुवाकोट र रसुवा जोड्ने मुख्य प्रवेशद्वार मानिन्थ्यो बेत्रावती पुल । भदौ १० गते तिब्बतको हिमताल फुटेर भोटेकोशी हुँदै त्रिशुलीमा विनाशकारी बाढी आएपछि उक्त पुलको बुधबार यता नामोनिशान छैन ।
विनाशकारी बाढीले पुर्याएको धनजनको क्षतिको लेखाजोखा एकातिर भइरहेको छ भने बाढीबाट बच्न सकेकाहरू पनि रसुवाबाट नुवाकोटतर्फ आउने बाटो नहुँदा उकुसमुकुस जीवन जिउन बाध्य भएका छन् ।
बेत्रावतीको पुल नै नभएपछि रसुवा छुट्टै टापुजस्तो भएको छ’, प्रतिनिधि सभा सदस्य मोहन आचार्यले भने, ‘सडकमार्फत हुने आवतजावत पूरै रोकिएको छ । सवारी साधन भनेको हेलिकप्टरमात्र हो ।’
बाढीबाट भएको क्षतिको यकिन विवरण आउन अझै धेरै समय लाग्ने देखिन्छ, तर सरकारले आफ्नो सम्पूर्ण ध्यान बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा लगाएको बताउँदै आएको छ । सरकारी प्रयास हुँदाहुँदै पनि रसुवातर्फका नागरिकहरू सरकारको प्रभावकारिता पर्खिरहेका छन् ।
‘बुधबारको बाढीपछि रसुवा जिल्लामा डाइरेक्ट यातायातको कुनै एक्सेस छैन, एयर ड्रपबाट मात्र सर्भिस गर्नुपर्ने अवस्था छ’, सांसद आचार्यले भने, ‘यस्तो अवस्थामा सरकारले आवश्यक व्यवस्थापन गर्नुपर्ने हुन्छ । ’

आचार्यले नुवाकोटमा टन्नै राहत सामाग्री पुगे पनि उक्त राहत सडक अभावमा रसुवा पुर्याउन नसकिएको बताए ।
‘रसुवाको विदुरमा राहत सामग्री थुप्रिएको छ, पारिपट्टी सडक सञ्जाल टुटेका कारण रसुवामा पुग्न सकेको छैन । रसुवाका लागि अहिलेको पहिलो आवश्यकता घाइतेको उद्धारसँगै नुवाकोटसँग जोड्ने निकास खोज्नु हो’, आचार्यले भने । गोसाईकुण्ड गाउँपालिकाको घट्टेकुलो, डिंगुरे, स्याफ्रुबेसी, आमाछेदुङको हाकुवेशी, मैलुको पुरानो बजारमा सबैभन्दा धेरै क्षति भएको उनले बताए । ‘ती स्थान खण्डहरमा परिणत छन्, जनधनको क्षतिको कुनै लेखाजोखा छैन’, उनले भने, उत्तरगयाको खाल्डे, कालिकाको राम्चे, बेत्रावती बजारलगायतका ठाउँ सबैभन्दा क्षति भएका स्थान हुन् ।’
आचार्यले घाइतेहरूको उद्धार भए पनि ‘राहत र अन्यको रेस्क्यु’को व्यवस्थापन गर्न नै कठिन भएको बताए । ‘राजधानी काठमाडौँ र नेशनल हाइवेसँग रसुवा टुटेको छ । यसलाई जोड्नसक्ने हो भने धेरै सहज हुन्थ्यो’, आचार्यले भने, ‘त्यसका लागि सडक सञ्जाल कुनै न कुनै रूपमा जोड्ने प्रयास भइरहेको छ ।’
उनले रसुवातर्फ जति मानिस बचेका छन्, उनीहरूलाई होल्डिङ सेन्टरमा ल्याउन जरुरी रहेको बताए । रसुवालाई नुवाकोटसँग जोड्ने दुई वटा विकल्पबारे छलफल भइरहेको उनको भनाइ छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत नेपाली सेनाका २० वटा ट्रकबाट त्रिशूलीमा राहत सामग्री ढुवानी गरिएको बताउँछन् ।
‘दुई स्थानमा बेलीब्रिज हालेर जोड्न सकिन्छ भन्ने छ’, आचार्यले भने, ‘पहिलो नुवाकोटको नर्जा, नौकुण्ड श्रमथली र नच्याङहुँदै जिरो किलोमिटर जोड्नेगरी बेलीब्रिज व्यवस्था गर्नुपर्छ ।’ त्यस्तै दोस्रो उपाय चौगतेमा बेलीब्रिज राखेर भोर्लेको पुछारतिरबाट पनि जोड्न सकिने उनले बताए ।
‘त्यो काम चार–पाँच दिनमा गर्न सकिन्छ । हामी त्यो उपायार्फत अघि बढ्ने प्रयासमा छौँ’, उनले भने, ‘यदि त्यसो गरिएन भने रसुवामा बल्लबल्ल बाँचेका मानिस थप आक्रोशित हुन्छन्, कालोबजारी र खाद्यान्नलगायतको अभाव हुनसक्छ ।’
रसुवाका स्थानीय नेता पेम्वा तामाङ पनि नुवाकोटको विदुरसम्म पुगेको राहत सामग्री रसुवा तर्न समस्या भएको बताउँछन् । ‘विदुरमा पूरै बाटो ब्लक भएको छ । त्यसैले मानिसहरू पनि त्यहाँसम्म जाने, राहतहरू पनि त्यहीँसम्म पुर्याउने, फोटो खिच्ने र फर्किने भइरहेको छ’, नेकपा एमाले रसुवा जिल्ला कमिटी सचिवसमेत रहेका तामाङले भने, ‘बाटो नै नभएपछि जाने कुरा पनि भएन, हेलिकप्टरबाट घुम्ने र फर्कने काम भइरहेको छ ।’
तामाङले रसुवागढीका घट्टेखोलामा बसोबास गर्ने ९० प्रतिशत घरसँगै मानिस पनि बेपत्ता भएको बताए । उनले टिमुरे र स्याफ्रुबेसीमा पनि जनधनको ८० प्रतिशत क्षति भएको बताए । तामाङका अनुसार हाकुबेसीमा ५०–६० जनामात्र परेको भए पनि मैलुङ ९० प्रतिशत ध्वस्त भएको बताए ।
‘खाल्टे र बेत्रावती पनि त्यस्तै छ । बाँचेका केही घाइते मानिसहरू धुन्चेमा लगेर राखिएको छ’, तामाङले भने, ‘कोहीकोही आफैँ माथितिर गएर बसेका छन्, तर सरकारको उपस्थिति कमजोर भइरहेको छ ।
विदुर नगरपालिकाकी उपमयेर प्रभा बोगटीले पनि रसुवातर्फ उद्धार तथा राहतका लागि पुग्न कठिन भएको बताइन् । ‘खोलापारिका क्षेत्रमा भने उद्धार तथा राहतका लागि पुग्न कठिन भइरहेको छ,’ उनले भनिन्, ‘बाढीले सडक तथा आवागमनका संरचनामा क्षति पुर्याएका कारण खोलापारिका बस्तीमा खाद्यान्नलगायत अत्यावश्यक सामग्री पुर्याउन समस्या भएको हो ।’
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत नेपाली सेनाका २० वटा ट्रकबाट त्रिशूलीमा राहत सामग्री ढुवानी गरिएको बताउँछन् । ‘त्यहाँबाट हवाई साधनद्वारा आवश्यकता अनुसार प्रभावित स्थानहरूमा पुर्याउने कार्यसमेत भइरहेको छ’, प्रवक्ता बस्नेतको भनाइ छ ।
प्रहरी प्रशासनले पनि ‘माथिको आदेश’ बिना शव व्यवस्थापनमा सहयोग नगरेको अध्यक्ष अर्यालको गुनासो छ ।
रसुवाको आमाछोदिङमो गाउँपालिका अध्यक्ष बुचुङ तामाङ नुवाकोटसँग जोड्ने सडक सञ्जाल ठप्प हुँदा धेरै समस्या परेको बताउँछन् । ‘सडक सञ्जाल पूरै ठप्प छ । हेलिकप्टरबाहेक अरु उपाय छैन’, टेलिफोनमार्फत कुरा गर्दै उनले भने, ‘राहत सामग्री नपुग्दा मानिसहरू भोकभोकै पर्न थालिसके ।’
उनले उत्तरगया र आमाछोदिङमो गाउँपालिकाबासी धेरै पीडामा रहेको सुनाए । धेरै अनुनय विनय गरेपछिमात्र नुवाकोटको बट्टारबाट रसुवाको धुन्चेसम्म शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट केही राहत सामग्री पुगेको भन्ने सुनेको अध्यक्ष तामाङको भनाइ छ ।
रसुवाको उत्तरगया गाउँपालिकाको बाढी प्रभावित क्षेत्रमै खटिएका गाउँपालिकाका अध्यक्ष माधव अर्यालले खोला किनारमा ५०औँ शव अझै अलपत्र अवस्थामा रहेको भन्दै सङ्घीय सरकारलाई ध्यानाकर्षण गराएका छन् । उनले सङ्घीय सरकारको राहत तथा उद्धार कार्य सुस्त भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
‘प्रधानमन्त्रीको पोस्ट पढ्दा सङ्घीय सरकार आकाशमा र सामाजिक सञ्जालमा मात्र देखिन्छ, भुइँमा जनताले सरकारको अनुभूति गर्न पाएका छैनन्’, उनले भनेका छन् । सामाजिक सञ्जालमा गम्भीर घाइतेहरूको उद्धारका लागि हेलिकप्टर माग्दा कतैबाट सुनुवाइ नभएको र १० घण्टाको कठिन यात्रापछि मात्र बिरामीलाई अस्पताल पुर्याउन सकिएको उनको भनाइ छ ।
यस्तै, प्रहरी प्रशासनले पनि ‘माथिको आदेश’ बिना शव व्यवस्थापनमा सहयोग नगरेको अध्यक्ष अर्यालको गुनासो छ ।
यसैबिच शुक्रबार अपरान्हबाट काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली –पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको सडक विभागले जनाएको छ । यो सडक सडकखण्ड सुचारु भएसँगै रसुवा सडक सञ्जालसँग आंशिक रूपमा जोडिएको छ ।


+ There are no comments
Add yours