बाढी प्रभावितको सहयोगका लागि निजी क्षेत्रको सक्रियता

१२ भाद्र, काठमाडौँ । भोटेकोशीको भीषण बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा आर्थिक सहयोग गर्ने क्रम सुरु भएको छ । सोही क्रममा निजी क्षेत्रअन्तर्गतका विभिन्न व्यावसायिक संस्थाहरूले आर्थिक सहयोग घोषणा गर्दै कोषमा रकम जम्मा गरिरहेका छन् ।

सहयोगका लागि सरकारले आह्वान गरेसँगै निजी क्षेत्रका विभिन्न छाता संगठनहरूले पनि सम्बद्ध व्यवसायी सदस्यलाई आर्थिक सहयोग र उद्धार कार्यमा जुट्न अपिल गरिरहेका छन् । उक्त विनाशकारी घटनालगत्तै सबैभन्दा पहिले नेपाल गैरआवासीय नेपाली संघ(एनआरएनए)ले पाँच करोड रुपैयाँ आर्थिक सहयोग घोषणा गरेको थियो ।

ग्लोबल आइएमईले पाँच करोड दिने

ग्लोबल आइएमई बैंकले भोटेकोशीको आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा पाँच करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । बैंकले बाढी र पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावितलाई तत्काल खाद्यान्न एवं बासस्थान व्यवस्था तथा क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सघाउ पुर्‍याउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराइएको जनाएको छ ।

बैंकले सामाजिक उत्तरदायित्वलाई राष्ट्रिय संकट र विपद्को घडीमा नागरिकको घाउमा मलम लगाउने मुख्य कर्तव्यका रूपमा लिँदै आएको छ । यसअघि पनि देशका विभिन्न भूभागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्हरूमा बैंकले अग्रपंक्तिमा रहेर आर्थिक, भौतिक तथा मानवीय सहायता निरन्तर उपलब्ध गराउँदै आएको थियो ।

कुमारी बैंकद्वारा तीन करोड

कुमारी बैंकले विभिन्न जिल्लाहरूमा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तीन करोड आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

साथै, बैंकले विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्य थप प्रभावकारी बनाउन करिब ३९ लाख बराबरको पाँचवटा अत्याधुनिक एआई जडित निगरानी ड्रोन तीनवटा, पोर्टेबल जेनेरेटर तथा सयवटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको जनाएको छ । कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ ।

शेखर गोल्छाद्वारा डेढ करोड सहयोग

उद्योगपति शेखर गोल्छाले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ५० लाख रुपैयाँ घोषणा गर्नुभएको छ । उहाँले बिहीबार फेसबुकमार्फत् बाढी प्रभावित क्षेत्रबाट आइरहेका तस्वीर र भिडियोले सबैलाई स्तब्ध र दुःखी बनाएको उल्लेख गर्दै विपद्मा ज्यान गुमाउनेका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै पीडामा आफ्नो पनि साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले अहिलेको अवस्थामा सबैभन्दा ठूलो प्राथमिकता उद्धार, राहत र प्रभावित परिवार तथा समुदायसम्म आवश्यक सहयोग पुर्‍याउनु रहेको उल्लेख गर्नुभएको छ ।

एनसेलको एक करोड सहयोग

बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको र प्रभावित आमसर्वसाधारणको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको आवश्यकता रहेको अवस्थामा एनसेलले सरकारको आह्वानमा सहयोग घोषणा गरिएको जनाएको छ । त्यसैगरी एनसेलले बाढी प्रभावित क्षेत्रका एनसेल ग्राहकलाई बुधबारदेखि लागू हुने गरी भ्वाइस र डेटा सेवा तथा सयवटा एसएमएस तीन दिनका लागि निःशुल्क उपलब्ध गराएको छ ।

टेलिकमका सेवा निःशुल्क

नेपाल टेलिकमले उपलब्ध गराएको निःशुल्क भ्वाइस कल, डाटा तथा एसएमएस सुविधा तीन दिन थप गरिएको छ । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई दुर्ई दिन भ्वाइस कल निःशुल्क र प्रतिदिन दुर्ई जिबी डाटा तथा ५० एसएमएस निःशुल्क गर्ने निर्णय गरेको थियो । अब भदौ १२, १३ र १४ गतेसम्म सो सुविधा उपलब्ध रहने टेलिकमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

ह्याम्सले घटनास्थलमै पुगेर सेवा दिने

बाढीका कारण भएको अकल्पनीय जनधनको क्षतिप्रति ह्याम्स अस्पतालले दुःख व्यक्त गर्दै दुःखद घडीमा प्रभावित नागरिकलाई निःशुल्क आपत्कालीन स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको जनाएको छ । साथै, नेपाल सरकारसँगको समन्वयमा आवश्यकतानुसार मेडिकल टिमसहित विपद् प्रभावित स्थलमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्नसमेत अस्पताल पूर्णरूपमा तयारी अवस्थामा रहेको अस्पतालको भनाइ छ । आपत्कालीन स्वास्थ्य सहायता आवश्यक परेमा ह्याम्स विपद् व्यवस्थापन सम्पर्क नम्बर ९८०१९०४६४० मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ ।

अपि पावरको सहयोग

बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि अपि पावर कम्पनीले ३५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् उक्त रकम तत्काल उपलब्ध गराएको हो । अपि पावरकी अध्यक्ष सिर्जना खड्काले सहयोग रकमबाट बाढी प्रभावित नागरिकको तत्काल खोज तथा उद्धारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले खोज तथा उद्धारपछि प्रभावितको दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यकताअनुसार थप सहयोग गर्न कम्पनी तयार रहेको पनि बताउनुभएको छ ।

अपि पावरले हाल ५६ मेगावाटका जलविद्युत्् आयोजना र छ मेगावाटका सौर्य आयोजना निर्माण सम्पन्न गरी नियमित विद्युत् उत्पादन गरिरहेको जनाएको छ ।

आइएमई लाइफको एक करोड

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग घोषणा गरेको छ । कम्पनीले बिहीबार एक विज्ञप्तिमार्फत् सहयोग घोषणासँगै नदीतटीय क्षेत्रमा बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराइने एक करोड रुपैयाँ नेपाल सरकारमार्फत् उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनाका कार्यमा परिचालन गरिने कम्पनीले जनाएको छ । कम्पनीले स्थापनाकालदेखि नै प्राकृतिक विपद्, महामारी र राष्ट्रिय संकटका बेला सहयोग गर्दै आएको उल्लेख गर्दै यसपटकको सहयोगले प्रभावित क्षेत्रको खोज तथा उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार र पुनर्स्थापनामा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

बिवाइडीको सात करोड

नेपालमा बिवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिसँगको सहकार्यमा बिवाइडीले भोटेकोशी बाढीबाट प्रभावित रसुवालगायतका क्षेत्रमा राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सात करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ । कम्पनीले बाढी प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै उक्त सहयोग घोषणा गरेको हो । कम्पनीका अनुसार उक्त सहयोगले प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको उद्धार, उपचार, तत्काल राहत, पुनर्स्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । बिवाइडी समूहका उपाध्यक्ष तथा बिवाइडी एसिया प्रशान्त अटो बिक्री विभागका महाप्रबन्धक लिउ स्युएलियाङले नेपालमा आएको बाढीबाट भएको क्षति र नागरिकले भोग्नुपरेको कठिन अवस्थाप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवार, उद्धारमा खटिएका टोली र घटनास्थलमा काम गरिरहेका सबैप्रति बिवाइडीको सहानुभूति र ऐक्यबद्धता रहेको बताउनुभएको छ ।

कामनाको सहयोग

कामना सेवा विकास बैंकले बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकको सञ्चालक समितिको निर्णयअनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ तथा बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबापत १५ लाख रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको बैंकले जनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विपद् प्रभावित समुदाय, मानवीय सहायता तथा सामाजिक हितका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।

सहयोग गर्न कारोबार सीमा लागू नहुने

बाढी तथा डुबानबाट प्रभावित नागरिकहरूको व्यवस्थापनका लागि नेपाल सरकारद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोष र प्रधानमन्त्री राहत कोषमार्फत् आर्थिक सहयोग परिचालन भइरहेको सन्दर्भमा संलग्न बमोजिमका खाताहरूमा भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ को अप्रा निर्देशन नम्बर ५/०८२ को बुँदा २ र ३ मा उल्लेखित अधिकतम कारोबार सीमा लागू नहुने भएको छ । बैंक तथा वित्तीय संस्थाका नाममा नेपाल राष्ट्र बैंकले बिहीबार एक निर्देशन जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि मोबाइल बैंकिङ, वेब एप्लिकेसन तथा इ–मनिको माध्यममार्फत् जतिसुकै रकमको कारोबार गर्न सकिने जनाएको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours