०४ भाद्र, काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि साउन उत्साहजनक रह्यो । महिनाभर पाँच नेपाली चलचित्र प्रदर्शनमा आए । ‘गौंथली’, ‘कमला मिस’, ‘हली’, ‘शक्ति’ र ‘लज्जावती’मध्ये ‘गौंथली’ले भने व्यापारिक रूपमा उल्लेखनीय सफलता हासिल गर्दै २३ करोड रुपैयाँभन्दा बढीको कारोबारसहित पाँचौं सातामा प्रदर्शनरत छ । ‘कमला मिस’, ‘हली’, ‘शक्ति’ र ‘लज्जावती’ले अपेक्षित रूपमा दर्शक तान्न सकेनन् । पाँच फिल्मको प्रदर्शनले साउनमा चलायमान बनेको नेपाली चलचित्र बजार भदौमा भने अझ प्रतिस्पर्धात्मक बन्ने भएको छ ।
भदौ महिनामा मात्रै आठ नेपाली चलचित्र प्रदर्शनमा आउने तयारीमा छन् । ‘मास्टर्नी’, ‘पार्वती’, ‘ककाकिकी’, ‘बाः एक योद्धा’, ‘पेन्सनपट्टा’, ‘अक्षरा’, ‘माया भनेकै यस्तै होला’ र ‘बेहुली’ले भदौको प्रत्येक साताजसो नेपाली चलचित्रका लागि व्यस्त बनाउनेछन् । अझ भदौ २६ गते चार फिल्म एकैपटक प्रदर्शनमा आउने भएपछि यो मिति नेपाली चलचित्र उद्योगका लागि विशेष चासोको विषय बनेको छ ।
भदौमा आठ नेपाली चलचित्रको प्रदर्शनले बजारमा नयाँ उत्साह थप्ने निश्चित भए पनि एउटै महिनामा यति धेरै चलचित्र प्रदर्शन हुनु आफैंमा चुनौतीपूर्ण देखिन्छ । विशेषगरी भदौ २६ गते चार चलचित्र एकैपटक आउँदा हलमा शो बाँडफाँटदेखि दर्शकको छनोटसम्म प्रत्यक्ष असर पर्नेछ । वषयवस्तुका हिसाबले भने भदौ नेपाली चलचित्रका लागि विविधतापूर्ण देखिन्छ । आमाको ममता, बाबुको संघर्ष, अटिजम, घरेलु हिंसा, प्रेम-विवाह, लाहुरे समाज र वैवाहिक संस्कारसम्मका फरक–फरक कथा दर्शकसमक्ष आउँदैछन् ।
चलचित्रको संख्या बढ्नुले उद्योग चलायमान बनेको संकेत गरे पनि एउटै मितिमा धेरै चलचित्र भिड्दा हलको शो बाँडफाँट, दर्शक विभाजन र व्यापारमा पर्ने प्रभावबारे भने बहस सुरु भएको छ । निर्माताका लागि सोलो रिलिज अर्थात् एकल प्रदर्शनको अवसरलाई तुलनात्मक रूपमा सुरक्षित मानिने भएकाले भदौको पहिलो र दोस्रो साता प्रदर्शनमा आउने चलचित्रले त्यसको लाभ लिनसक्ने देखिन्छ ।
‘मास्टर्नी’बाट भदौको सुरुवात
यही शुक्रबार भदौ ५ गतेदेखि प्रियंका कार्की निर्मित ‘मास्टर्नी’ प्रदर्शनमा आउँदैछ । आयंका फिल्मस्को प्रस्तुतिमा बनेको यो चलचित्र प्रियंकाको पहिलो निर्माण यात्रा हो । सुवेन्दु घोषको निर्देशन रहेको चलचित्रले आमा–छोरीको भावनात्मक सम्बन्धलाई अपराध-रोमाञ्चक कथानकमार्फत प्रस्तुत गर्नेछ ।
प्रियंका आफैंले कथा लेखेको चलचित्रमा उहाँसँगै सिम्रन खड्का, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, प्रमोद अग्रहरि, आर्यन सिग्देललगायत कलाकारको अभिनय छ । १६ वर्षभन्दा माथिका दर्शकलाई लक्षित गरिएको चलचित्रमा भारतीय प्राविधिक टोलीको समेत सहभागिता रहेको बताइएको छ ।
अटिजम र दिदी-भाइको कथा ‘पार्वती’
भदौ १२ गते अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बनेको चलचित्र ‘पार्वती’ प्रदर्शनमा आउनेछ । निर्देशनमा नीताको यो पहिलो प्रयास हो । अटिजम र दिदी-भाइबीचको आत्मीय सम्बन्धलाई केन्द्रमा राखिएको यस चलचित्रमा नीता स्वयं दिदीको भूमिकामा हुनुहुन्छ भने बालगायक अशोक दर्जी भाइको भूमिकामा देखिनुभएको छ ।
दीपाश्री निरौला, सिरु विष्ट, राजेन्द्र नेपालीलगायत कलाकारको अभिनय रहेको चलचित्र नीताको आफ्नै भोगाइ तथा कथाबाट प्रभावित रहेको बताइएको छ । सामाजिक तथा भावनात्मक विषयवस्तु बोकेको ‘पार्वती’प्रति दर्शकको चासो रहने अपेक्षा गरिएको छ ।
तेस्रो सातामा दुई चलचित्रको भिडन्त
भदौ १९ गते भने ‘बाः एक योद्धा’ र ‘ककाकिकी’ एकैसाथ प्रदर्शनमा आउँदैछन् । दुई चलचित्रको विषयवस्तु र प्रस्तुति शैली भने फरक छन् । हरि लम्साल निर्देशित ‘बाः एक योद्धा’ले सन्तानको भविष्यका लागि बाबुले गर्ने संघर्ष, त्याग र चुनौतीको कथा प्रस्तुत गर्छ । दिव्य देव र सुहाना थापा बाबु-छोरीको भूमिकामा हुनुहुन्छ भने झरना थापा आमाको भूमिकामा रहनुभएको छ । कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसरमा चलचित्र प्रदर्शन हुनलागेकाले यसको भावनात्मक पक्षलाई दर्शकसँग जोडिने अपेक्षा गरिएको छ ।
सोही दिन ‘कमेडी दरबार’ टिमको निर्माणमा बनेको ‘ककाकिकी’ पनि हलमा आउनेछ । विक्की अग्रवाल र श्रद्धा प्रसाईं निर्देशित यस चलचित्रमा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, दिया मास्केलगायत कलाकारसँगै चर्चित कमेडियनहरूको अभिनय छ । हास्यप्रधान प्रस्तुतिसँगै सामाजिक विषयलाई समेत समेटिएको चलचित्रले ‘बाः एक योद्धा’सँग फरक स्वादको प्रतिस्पर्धा गर्नेछ ।
भदौ २६ : चार चलचित्रको भिडन्त
भदौको अन्तिम साता नेपाली चलचित्र उद्योगका लागि सबैभन्दा व्यस्त बन्नेछ । भदौ २६ गते ‘माया भनेकै यस्तै होला’, ‘अक्षरा’, ‘पेन्सनपट्टा’ र ‘बेहुली’ एकैपटक प्रदर्शनमा आउँदैछन् । आठ वर्षपछि निर्देशनमा फर्किएकी रेखा थापाले ‘माया भनेकै यस्तै होला’मार्फत यसपटक एक्सनभन्दा भावनात्मक कथालाई रोज्नुभएको छ । प्रेम, विवाह र धोकाको कथामा आधारित यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाहलगायत कलाकारको अभिनय छ । रेखाको निर्देशनसँगै नयाँ-पुराना कलाकारको जम्बो स्टारकाष्टले चलचित्रलाई प्रतीक्षित बनाएको छ ।
विनयराज पौडेल निर्देशित चलचित्र ‘अक्षरा’ले घरेलु हिंसा र पारिवारिक पीडालाई कथाको केन्द्रमा राखेको छ । धनसम्पत्ति र बाहिरी रूपलाई आधार बनाएर छोरीको विवाह गराउँदा उत्पन्न हुने दुःखद् परिणामलाई चलचित्रले प्रस्तुत गर्नेछ । सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा रहेको चलचित्रले सामाजिक सन्देश दिने प्रयास गरेको छ ।
कलाकार तथा निर्देशक माओत्से गुरुङको ‘पेन्सनपट्टा’ले लाहुरे समाज र अवकाशपछिको जीवनलाई पर्दामा उतार्दैछ । दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको चलचित्रमा पारिवारिक सम्बन्ध, मानवीय संवेदना र लाहुरे संस्कारसँग जोडिएका पात्रको कथा प्रस्तुत गरिएको छ ।
त्यस्तै, सशान कँडेल निर्देशित चलचित्र ‘बेहुली’ विवाह, संस्कार र त्यससँग जोडिएका उतारचढावमा केन्द्रित रहेको बताइएको छ । माधव शर्माको लेखन रहेको यस चलचित्रमा पारस बम ठकुरी र दिव्या रायमाझी मुख्य भूमिकामा हुनुहुन्छ । संगीतकार अर्जुन पोखरेलले निर्माण गरेको यो चलचित्रमा नयाँ कलाकार तथा रंगीन परिवेश भएकाले युवा दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
चलायमान बजारसँगै बढ्दो चुनौती
भदौमा आठ नेपाली चलचित्रको प्रदर्शनले बजारमा नयाँ उत्साह थप्ने निश्चित भए पनि एउटै महिनामा यति धेरै चलचित्र प्रदर्शन हुनु आफैंमा चुनौतीपूर्ण देखिन्छ । विशेषगरी भदौ २६ गते चार चलचित्र एकैपटक आउँदा हलमा शो बाँडफाँटदेखि दर्शकको छनोटसम्म प्रत्यक्ष असर पर्नेछ । चलचित्रकर्मीहरू लामो समयदेखि एकै मितिमा धेरै चलचित्र जुधाउँदा उद्योगलाई नै फाइदा नहुने बताउँदै आएका छन् । तर, प्रदर्शन मिति, हलको उपलब्धता र विभिन्न व्यावसायिक कारणले चलचित्रबीचको भिडन्त रोकिएको छैन । विषयवस्तुका हिसाबले भने भदौ नेपाली चलचित्रका लागि विविधतापूर्ण देखिन्छ । आमाको ममता, बाबुको संघर्ष, अटिजम, घरेलु हिंसा, प्रेम-विवाह, लाहुरे समाज र वैवाहिक संस्कारसम्मका फरक-फरक कथा दर्शकसमक्ष आउनेछन् ।
यसले नेपाली चलचित्रको विषयवस्तु फराकिलो बन्दै गएको संकेत गरेपनि अन्ततः कुन चलचित्रले दर्शकको मन जित्छ भन्ने कुरा प्रदर्शनपछि मात्रै स्पष्ट हुनेछ । साउनमा ‘गौंथली’ले देखाएको व्यावसायिक उत्साहलाई भदौका चलचित्रले निरन्तरता दिन सक्छन् कि एकै महिनाको अत्यधिक प्रतिस्पर्धाले बजारलाई विभाजित गर्छ, यसको जवाफ भने आगामी केही साताको बक्स अफिसले दिनेछ ।


+ There are no comments
Add yours