प्रधानमन्त्री कार्यालयको डिजिटल सिस्टममा ‘लाइभ ह्याकिङ’ हुँदै, ह्याक गर्न सक्नेलाई कदरपत्र र पुरस्कार

३० साउन, काठमाडौँ। सरकारी डिजिटल प्रणालीको सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रत्यक्ष सहभागितामा ‘लाइभ ह्याकिङ’ कार्यक्रम आयोजना हुने भएको छ साइबर सुरक्षा क्षेत्रमा क्रियाशील समूह पेन्टेस्टर नेपालको १३औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौँको हेराल्ड कलेजमा विशेष कार्यक्रम हुन लागेको हो ।

यस कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कार्यालयले विकास गरिरहेको र सर्वसाधारणका लागि सार्वजनिक हुन बाँकी रहेको डिजिटल सिस्टमको लाइभ सुरक्षा परीक्षण गरिनेछ । यो सिस्टम हाल परीक्षणको चरणमा रहेको छ ।

सरकारी प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनुअघि नै त्यसमा रहेका सम्भावित प्राविधिक कमजोरी र सुरक्षा जोखिमहरू पत्ता लगाएर प्रणालीलाई सुरक्षित बनाउन यो ‍कदम चालिएको हो ।

आधिकारिक ‘भल्नरेबिलिटी डिस्क्लोजर प्रोग्राम’ अन्तर्गत सञ्चालन हुने यस सरकारी स्तरको कार्यक्रममा देशका दक्ष साइबर सुरक्षा अनुसन्धानकर्ता तथा इथिकल ह्याकरहरूलाई निम्तो दिइएको छ ।

सरकारी डेटा र सिस्टमको संवेदनशीलतालाई मध्यनजर गर्दै सहभागी अनुसन्धानकर्ताहरूलाई अनिवार्य रूपमा गोपनीयताको सम्झौता (एनडीए) मा हस्ताक्षर गराइनेछ । उनीहरूले आयोजकले तोकेको निश्चित दायरा र यूआरएलमा रहेर मात्र आफ्नो परीक्षण गर्नेछन् ।

सरकारी प्रणालीका सुरक्षा जोखिमहरू सफलतापूर्वक पहिचान गरी सुधारका लागि योगदान पुर्‍याउने अनुसन्धानकर्ताहरूलाई प्रधानमन्त्री कार्यालय र आयोजकका तर्फबाट डिजिटल प्रमाणपत्र प्रदान गरिनेछ । साथै, उनीहरूलाई ‘हल अफ फेम’ र लिडरबोर्डमार्फत विशेष सम्मान दिइने आयोजकले जनाएको छ । कार्यक्रमको निर्णय छोटो समयमा भएकाले नगद पुरस्कारको व्यवस्था नगरिए तापनि सरकारी निकायको यस्तो सक्रियताले साइबर सुरक्षा क्षेत्रका पेसेवरहरूलाई थप हौसला मिल्ने विश्वास गरिएको छ ।

पेनटेस्टर नेपालको १३ औं वार्षिकोत्सवका अवसरमा आयोजित विविध कार्यक्रमहरूमध्ये यो मुख्य आकर्षणको रूपमा रहेको छ । कार्यक्रम आज बिहान ११ बजेदेखि औपचारिक रूपमा सुरु हुने आयोजकले जानकारी दिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours