२२ साउन, काठमाडौँ ।देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ।
अहिले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ भने मधेस प्रदेश तथा कोशी र लुम्बिनीका तराई क्षेत्रमा आंशिक बदली रहेको छ।
हाल बागमती र कर्णाली प्रदेशका केही स्थान तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
राति पनि मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने हिमाली क्षेत्रमा वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान छ।
महाशाखाले लगातारको वर्षाका कारण नदी–नाला तथा खोलामा पानीको सतह बढ्न सक्ने, बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
यसको प्रभाव दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत पर्न सक्ने भएकाले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


+ There are no comments
Add yours